वर्तमान समाजमा सबैभन्दा बढी आलोचित कृतिको रुपमा रहेको छ ः मनुस्मृतिः । यसको रचना कहिले भएको हो भन्ने विषयमा कुनै ठोस प्रमाण उपलब्ध छैन ।
मनुस्मृतिःको विषयमा के भनिन्छ भने यो धेरै कालसम्म श्रुत परम्परामा रहेको थियो र निक्कैपछि मात्र यसको लेखन गरिएको हो । मुनस्मृतिःमा पनि यस कुरालाई पुष्टि गर्ने आधार रहेको छ । मनुस्मृतिः भनेको मनुको स्मृति हो । स्मृति भनेको स्मरण वा सम्झना हो । मनु भन्ने पौराणिक पात्रको स्मृतिलाई निकै कालपछि गरिएको लेखन नै मनुस्मृतिः हो ।
मनुस्मृतिः निकै प्राचीन किन मानिन्छ भने यसको विषयमा गीतामा नै चर्चा गरिएको छ । गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई उपदेश दिने क्रममा भनेका थिए ः वेदानां सामवेदोऽमि, ऋतुणां कुसुमाकरः ….। यसै श्लोकमा स्मृतिहरुमा म मनुस्मृति हुँ भनेका थिए । भन्नुको तात्पर्य के हो भने गीतामा श्रीकृष्णले वेदमा म सामवेद हुँ, ऋतुमा वसन्त तथा स्मृतिमा म मनुस्मृति हुँ भनेबाट मनुस्मृति महाभारतको युगभन्दा पुरानो हो भन्ने संकेत पाइन्छ । यसलाई सर्वोत्तम स्मृति मानिएको देखिन्छ ।
श्रुत परम्परामा रहेको मनुस्मुतिःको विषयमा यसरी भनिएको पाइन्छ ः सबैभन्दा पहिले आदिमानव मनुले ऋषि भृगुसित आफ्नो स्मृति भनेका थिए । भृगुले ऋषिहरूलाई सुनाउने परम्परा बसाले र यो परम्परा एक ऋषिबाट अर्को ऋषिमा चलिरह्यो । मनुस्मृतिः जुन अहिले बजारमा पाइन्छ, त्यो चाहिँ पूर्ण छैन । मनुस्मृतिको अंश मात्र हो भनिन्छ । यसबाट मनुस्मृतिः अझ ठूलो वा विस्तारित ग्रन्थ थियो भन्न सकिन्छ । मनुस्मृतिको जुन रूप बजारमा उपलब्ध रहेको छ, त्यसमा पनि लेखकको नाम भनिएको पाइँदैन । स्वाभाविक हो ः लेखक भन्ने हो भने त यसको नामबाटै स्पष्ट हुन आउँछ कि यो मनुको रचना हो भनेर । यस कृतिमा टीकाकार भनेर लेखिएको छ । बजारमा विभिन्न टीकाकारले अर्थ लगाएको मनुस्मृतिः भन्ने कृति पाइन्छ ।
मनुस्मृतिः अति प्राचीन ग्रन्थ हो । यस ग्रन्थमा अनेक विषयवस्तु समेटिएका छन् । यो कृति छन्दमा लेखिएको छ र हरेक श्लोकको टीकाकारहरुले अथ्र्याएका छन् । यहाँ यस कृतिमा रहेको विषयवस्तुबारे मात्र अत्यन्त संक्षेपमा प्रकाश पारिएको छ । यसबाट मनुस्मृतिःमा कम्तीमा के रहेको छ भन्ने कुरा पाठकले थाहा पाउने छन् ।
मनुस्मृतिःमा बाह्र अध्याय छन् अर्थात् यस कृतिमा बाह्र भाग छन् भन्ने स्पष्ट देखिन्छ । यस कृतिको पहिलो अध्यायमा संसारको उत्पत्ति, ब्रह्माको उत्पत्ति, स्त्री–पुरुषको सृष्टि, चार युगको प्रमाण, मन्वन्तरको प्रमाण, ब्राह्मण आदि चार वर्णको कर्म आदिको वर्णन छन् भने दोस्रो अध्यायमा धर्मको लक्षण, श्रुति–स्मृतिको परिचय, ब्रह्मावर्त एवम् आर्यावर्त वर्णन, जातकर्म आदि संस्कार वर्णन, भोजन गर्ने विधान, ब्रह्मचारी जीवनमा भिक्षाचरण, आचमन विधि, प्रणव एवम् सावित्री प्रशंसा, इन्द्रिय संयम, सन्ध्यावन्दन कर्तव्य, अभिवादन फल, आचार्य एवम् गुरुके लक्षण, वेदाध्ययनको महत्व, गुरुकुलमा आचरण, होमविधि, गुरु निन्दा श्रवण निषेध, गुरु शुश्रूषाको फल इत्यादिको वर्णन रहेको छ ।
तेस्रो अध्यायमा ब्रह्मचर्य विधि, कन्याको लक्षण, कन्याको दोष, विवाह वर्णन एवम् अधिकार तथा निषेध, ऋतुकालमा दारोपगमन, कन्याविक्रय दोष, गृहस्थाश्रम प्रशंसा, बलिविश्वेदेव कर्म, अतिथि सत्कार, भोजन कर्तव्याकर्तव्य, श्राद्ध वर्णन आदिको संकलन छ भने चौथो अध्यायमा ब्रह्मचर्य–ग्राहस्थ्य जीवन वर्णन, वेदविरोधी कर्मको त्याग, दण्डकमण्डलुधारण, शिष्टाचार वर्णन, कहिले अध्ययन गर्ने, दान कसलाई दिने, वैडालव्रतिक लक्षण, देददान प्रशंसा, धर्म प्रशंसा आदि विषयमा बताइएको छ । पाँचौँ अध्यायमा मानिसको मृत्यु किन ?, खाद्य–अखाद्य विचार, मांस वर्जन, अशौच विचार, द्रव्य–शुद्धि, भूमिशुद्धि, आचमन विधि, स्त्री धर्म, स्वामी सेवा, पातिव्रत्य फल आदिको विषयमा चर्चा गरिएको छ ।
छैटौँ अध्यायमा वानप्रस्थ आश्रमण वर्णन, अतिथि चर्चा, वेदाधि पाठ, परिव्राजक नियम, भिक्षा ग्रहण, गृहस्थ प्रशंसा आदिको वर्णन पाइन्छ । सातौँ अध्यायमा राजधर्म, सचिव, मन्त्री, दूत, सेना आदिको लक्षण, राष्ट्र–रक्षा, प्रजापीडनमा दोष, प्रजाको रक्षामा सुख, गाँउको कार्य, सन्धि–विग्रह तथा युद्धको प्रकार आदि विषयमा वर्णन छ भने आठौँ अध्यायमा अष्टादश विवाद, सभा प्रशंसा, समासदको दोष, दण्डविधान, साक्षीको कर्तव्य, दूषित कन्याको निन्दा, सीमा विवाद, राजाका दोष, कुलपुरोहितको त्याग, तरिशुल्क आदिको वर्णन छ ।
मनुस्मृतिःको नवौँ अध्यायमा स्त्री–पुरुषको धर्म, स्त्री–प्रशंसा, स्त्रीधर्म, नियोग निन्दा, प्रोषित भर्तृको नियम, कन्या–वरको नियम, दायभाग, ब्राह्मणको अधिकार, राज्यको अधिकार, दण्ड–विधान, सप्त प्रकृति आदिको वर्णन गरिएको छ भने दशौँ अध्यायमा अध्यापनको प्रकार, साधारण धर्म, शूद्रको धर्म आदिको वर्णन रहेको छ । यस कृतिको एघारौँ अध्यायमा स्नातकको प्रचार, प्रायश्चित विधान, पापलाई लुकाउनु हुँदैन, रहस्य प्रायश्चितको वर्णन गरिएको छ भने अन्तिम अर्थात् बाह्रौँ अध्यायमा शुभाशुभ कर्मको फल, वेद प्रशंसा आदिको वर्णन गरिएको छ ।
स्मृति साहित्यको यो प्राचीनतम ग्रन्थ भएकोले यस कृतिको आफ्नै किसिमको महत्व रहेको छ । माथि नै भनिएको छ कि यस कृतिको धेरै आलोचना हुने गरेको छ । यस ग्रन्थले राजा र ब्राह्मणलाई अत्यन्त सम्मानित स्थान दिएको छ । महिलालाई कतिपय सन्दर्भमा निकै तल पनि देखाइएको छ भने कतिपय सन्दर्भमा निकै सम्मान पनि गरिएको छ । तर यस कृतिले शूद्रलाई भने जहिले पनि तलकै भनेर विश्लेषण गरेको छ । यसै कारण दलितहरुले मनुस्मृतिलाई सर्वाधिक आलोच्य कृति मान्ने गरेका छन् ।
यस कृतिरचनाको युगभन्दा अहिलेको युग धेरै अगाडि बढिसकेको छ । यसकारण यस कृतिमा रहेका कतिपय सन्दर्भ पूर्णतया डेट एक्स्पायर्ड भइसकेका छन् । यसमा वानप्रस्थ जीवनको जुन चर्चा गरिएको छ, यो पूर्णतया हटिसकेको छ समाजबाट । यसै गरी दलितसम्बन्धी यस कृतिको अवधकारण विश्व समुदायबाट करिब बहिस्कृत भइसकेको छ । अन्य धेरै सन्दर्भ पनि अहिलेको अनुकुल मिल्दैन । समाजोपयोगी छैन र यस कृतिमा आएका कतिपय धार्मिक विषय पनि अहिले कमजोर भइसकेका छन् । यसमा उल्लेख गरिएको दण्डविधानको अध्ययन गर्दा कुनै काल्पनिक युगको हो कि जस्तो लाग्दछ । एकै किसिमको गल्तीमा जातअनुसारको दण्ड अहिलेको युगको लागि कदापि सुहाउने विषय हो जस्तो लाग्दैन । अहिलेको युगमा न्यायको नजरमा सबै समान हुन्छन् भन्ने अवधारणा स्थापित भइसकेको छ । कतिपय सन्दर्भमा व्यक्तिको कर्तव्य पनि अत्यन्त पक्षपातपूर्ण किसिमको रहेको अनुभूति हुन्छ ।
यस कृतिको अध्ययन नै गर्नु हुँदैन भन्नेहरु पनि नभएका होइनन् । कृतिलाई बहिस्कार गर्नेहरु त भइहाल्छन् नै । तर यस कृतिले कुनै जमानाको भाव, समाज तथा राजनीतिलाई पनि प्रतिनिधित्व गरेको छ भन्ने कुरो बुझ्नु पर्छ । कम्तीमा त्यत्तिबेला यस कृतिका समर्थक तथा प्रचारक र कृतिकार आदिको विचार कसरी निर्देशित थियो भन्ने कुरो बुझ्न यस कृतिले निकै धेरै सहयोग गर्दछ । हजारौँ वर्ष पुरानो यस कृतिको विचार रहेको सन्दर्भमा हजारौँ वर्ष पुरानो विचारलाई अध्ययन र मननको दृष्टिले उपयुक्त मान्न सकिन्छ साथै मानवको समाजमा, इतिहासमा र विचारमा के कसरी परिवर्तन आउँदै गएका छन् भन्नेजस्तो अध्ययनको दृष्टिकोणले पनि यो कृति महत्वपूर्ण छ । महिला अधिकार, दलित अधिकार आदिको आन्दोलन गर्नेहरुले पनि यस कृतिको अध्ययन गर्नुपर्ने देखिन्छ । वास्तवमा दलित अधिकारको विषय किन पहिलेदेखि नै महत्वपूर्ण रहेको थियो भन्ने स्पष्ट संकेत यस कृतिले गरेको छ । यस कृतिले कतिपय जाति तथा भूगोलको विषयमा पनि घतलाग्दो कुरो गरेको छ जुन अहिलेको सन्दर्भमा असान्दर्भिक नै छ तर पनि जातीय कुरा बढी गर्नेहरुसमेतले यस कृतिलाई अध्ययन गर्नु आवश्यक रहेको देखिन्छ ।
विभिन्न अध्यायमा विभाजित यस कृतिको मुख्य अन्तर्वस्तु अध्यायहरुबाट बुझ्न सकिन्छ र अध्यायहरुमा बताइएका विषयहरुको गहन अध्ययनको लागि मनुस्मृतिः पढ्नु आवश्यक देखिन्छ ।