कुनै राष्ट्र धनी कुनै राष्ट्र गरिब किन ? यो प्रश्नको उत्तर सजिलो छैन । यो प्रश्नको उत्तर बुझ्न पहिले केही अन्य कुराहरू पनि बुझ्नु पर्ने हुन्छ । के देश प्राकृतिक स्रोत र साधनहरूको प्रचूरताले धनी हुने हो ? यदि यस्तो हुँदो हो भने इरान, इराक, साउदी अरेबिया, भेनेज्युएला जस्ता विशाल तेल भण्डार (पेट्रोलियम पर्दार्थ) भएका राष्ट्रहरू धनी हुने थिए । अमेरिका, जर्मनी, फ्रान्स, ब्रिटेन आदिलाई धनका लागि ती राष्ट्रहरूले पछाडि छाड्ने थिए। के देश जनसंख्याले धनी हुने हो? यदि त्यस्तो हुँदो हो भने विश्वमा नै सर्वाधिक जनसंख्या भएको देश चीन (पहिले), भारत (दोस्रो), इण्डोनेसिया (चौथो) आदि धनी राष्ट्रमा गणना हुन्थे । के राष्ट्र उदार राजनीतिक प्रणाली (प्रजातन्त्र) ले गर्दा धनी हुने हो? यदि त्यस्तो हुँदो हो त नेपाल, भारत, श्रीलंका, बङ्लादेश लगायत विश्वका अन्य ती राष्ट्रहरू धनी हुने थिए जहाँ प्रजातन्त्र छ। नेपालमा त झनै सर्वाधिक आर्थिक विकास भएर यो देश विश्वको सर्वाधिक धनी राष्ट्र हुने थियो। नेपालमा जनताले २०४७ सालदेखि पूर्ण प्रजातन्त्र उपयोग गर्न पाएका छन। नेपालले एक प्रजातान्त्रिक मुलुकको रुपमा विश्वमा नै चर्चा पाएको छ । नेपालमा यति प्रचूर मात्रामा प्रजातन्त्र छ कि एक सामान्य व्यक्तिले पनि नेता, सांसद मात्र होइन प्रधानमन्त्रीको पनि आलोचना गर्न पाउँछ। केही अपवाद बाहेक, नेपालमा अतिनै प्रेस स्वतन्त्रता छ । नेपालमा नागरिक स्वतन्त्रता पनि यति बढी छ कि कुनै एक व्यक्तिले मात्र पनि कुनै राजनीति सङ्गठन स्थापना गरेर ‘हाम्रो सङ्गघर्ष जनताको लागि हो’ भन्दै हजारौ निर्दोष नागरिकहरूको हत्या गर्न, गराउन सक्छ। उसले त्यस्तो जघन्य अपराधाको दायित्व लिनु पर्दैन। सजिलै उन्मुक्ति पाउँछ। विगतमा माओवादी सङ्गठन लगाएत तराइ एवं पहाडकका केही बिद्रोही राजनीतिक सङ्गठनहरूले जनताको ‘हक अधिकारका लागि’ भन्दै सयौंको ज्यान लिए। ती संगठनहरूले उन्मुक्ति पाएँ । नेपालमा भएको प्रजातन्त्रको बयान गरेर सकिंदैन । यो स्तम्भकारको अनुभवले भन्छ नेपालको प्रजातन्त्र विश्वमानै उत्कृष्ट छ । नेपालमा विगत ७४ वर्षको अवधिमा ७ वटा सम्बिधान निर्माण भएर जारि भइ सकेक छन । हाल बहालमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान –२०७२ पनि खारेज गरेर अर्को संविधान ल्याउने चर्चा पनि चलिरहेको छ। नेपालमा कतिसम्म स्वतन्त्रता छ भने केवल केही व्यक्तिहरूको इच्छा अनुसार कार्यान्वयनमा रहेको संविधान तत्काल खारेज हुन सक्छ। नया संविधान निर्माण भएर तत्काल जारी हुन सक्छ। नेपालमा व्यवस्था नै पनि परिवर्तन हुन्छ सक्छ। अहिलेको व्यवस्था, संघीय गणतन्त्र, ले पञ्चायत– प्रजातन्त्र–गणतन्त्रलाई विस्थापित गरेको हो । भारतमा ७४ वर्षदेखि निरन्तर रुपमा एउटै संविधान वा उही संविधानले काम गरि रहेको छ। संयुक्त राज्य अमेरिकाले सन् १७८९ मा लागू गरेको संविधानलाई नै अहिले सम्म निरन्तरता दिएको छ। अर्को संविधान जारि भएको छैन। बेलायत, न्यु जिलैण्ड र इजराइल विश्वका त्यस्ता राष्ट्रहरू हुन जसको लिखित संविधान छैन। तर ती राष्ट्रहरू विश्वको विश्वका धनी राष्ट्रहरूमा पर्दछन । यदि नागरिक स्वतन्त्रता वा प्रजातन्त्रले गर्दा वा नया नया संविधानले गर्दा मुलुक धनी हुने भएको भए नेपाल विश्वको नै सर्वाधिक धनी राष्ट्र हुने थिए। तर स्थिति उल्टो छ। नेपाल विश्वका अति निर्धन राष्ट्रहरू मध्ये एक हुन पुगेको छ। नेपाल यतिसम्म निर्धन छ कि कोरोना भाइरस विरुद्धको खोप किनेर आफ्नो नागरिकहरूलाई उपलब्ध गराउन सक्तैन। खोप उपलब्ध गराइ दिन अन्य राष्ट्रहरूलाई पत्र लेखेर याचना गर्दछ । कुनै पनि मुलुक धनी त्यहाँको जनताको ज्ञान, वुद्धि, चेतनाले गर्दा हुने हो। कुनै देशका नागरिकहरू जागरुक छन, वुद्धिमान छ, मिलेर बस्ने क्षमता राख्दछन भने त्यस्तो मुलुककले विकास गर्छ। द्वन्द एवं संघर्षको सट्टा मिलेर बस्नु पर्छ भन्ने सिद्धान्त मान्ने मुलुकका नागरिकहरूले विकास गर्छन। सानो सानो कुराकालागि हतियार नउठाउने, सल्लाह र सहमतीमा ठूला ठूला समस्याहरू समाधान गर्ने मुलुकका नागरिकहरूले आफ्नो त्यस किसिमको व्यवहारबाट देशलाई धनी तुल्याउँछन । अमेरिका र युरोपेली राष्ट्रहरूको आर्थिक विकासले के देखाउँछ भने मुलुक जनताको आर्थिक क्रियाकलापले धनी हुने हो। अर्थात राष्ट्रलाई धनी तुल्याउने मुख्य कारक तत्व भनेको नै जनता हो। जनताको असल व्यवहार हो। वुद्धि विवेक हो। जनतामा रहेको सद्भवा एवं इमान्दारी हो। विकसप्रतिको बलियो चाहना हो । अफगानीस्तानले स्रोत र साधनको प्रचूरता हुँदा हुँदै पनि आर्थिक विकास गर्न सकेको छैन। त्यहाँका कट्टर धार्मिक संगठनहरूले निरन्तर रुपमा आर्थिक विकासका कार्यहरूमा बाधा पुर्याइ रहेका छन। ती संगठनहरूले शान्ति स्थापना हुन दिएका छैनन। देश भित्रकै कट्टर धार्मिक संगठन र अनुदार नागरिकहरूले अफगानिस्तानलाई यति कमजोर पारेका छन कि त्यस देशमा अप्रत्यक्ष रुपमा अन्य राष्ट्रहरूले शासन गर्न पाएका छन। कुनै समयमा अफगानिस्तानमा रुसको अप्रत्यक्ष शासन थियो, अहिले अमेरिका र युरोपका राष्ट्रहरूको अप्रत्यक्ष शासन छ । अफगानिस्तानलाई यो स्थितिमा विदेशी हस्तक्षेपले होइन त्यस देशका नागरिकहरूले नै पुर्याएका हुन। अफगानीहरूले नै विदेशीले हस्तक्षेप गर्ने वातावरण तयार गरेका हुन । गरिब देश (नेपाल, भारत, बंगलादेश आदि आदि) का नागरिकहरूको ज्ञानको स्तर धनी देशका नागरिकहरूकोभन्दा ज्यादै न्यून हुन्छ । नया नया अविष्कार एवं खोज गर्ने कार्यमा धनी देशहरू जहिले पनि अगाडि छन। मानव कल्याणका लागि आवश्यक पर्ने जति पनि औषधी, वस्तु एवं विचारहरूका आविष्कार भएका छन ती पश्चिमी देश वा धनी देशहरूमा मात्र भएका छन । मुख्य गरी शासन व्यवस्थाको सन्दर्भमा,गरिब देशहरूमा ज्ञानको स्तर झनै न्यून छ। गरिब देशका नागरिकहरूले जहिले पनि आफ्नो रचनात्मक शक्ति केवल द्वन्द, संघर्ष, गृह युद्ध, युद्धमा खर्च गरेका छन । गृह युद्धले अफगानिस्तानलाई अहिलेसम्म पनि छाडेको छैन भने निरुद्देश्य (सद्दामा हुसैनको सत्ता टिकाउन मात्र) भएर इरान र इराकले करिब दस वर्ष (सन् १९८०–१९८८) युद्ध गरे। दुवै राष्ट्रहरूको गरेर करिब ५ लाख व्यक्तिहरूको त्यस युद्धमा ज्यान गयौ। सिरियाको गृह युद्ध (प्रारम्भ सन् २०११) अहिले सम्म पनि समाप्त भएको छैन। यो भीषण गृह युद्धले २ लाख भन्दा बढी सिरियालीहरूको ज्यान लिइसकेको छ। यो गृह युद्धमा संलग्न भएका अन्य देश का नागरिकहरूको मुत्युलाई पनि जोड्ने भने अहिले सम्मा, सिरियाली गृह युद्धमा ४ लाख भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाइ सकेका छन । सन् २०१४ मा अफ्रिकी मुलुक येमेनमा शुरू भएको गृह युद्ध अहिलेसम्म पनि समाप्त भएको छैन। र यो गृह युद्धले पनि हजारौ येमेनीहरुको ज्यान लिइसकेको छ । विकसित वा धनी राष्ट्रहरू जस्तै, स्विट्जरलैण्ड, डेनमार्क, नर्बे, फिनलैण्ड, ब्रिटेन, फ्रान्स, जर्मनी, अमेरिका, इटली आदिमा गृह युद्ध भएको सुनिएको छैन। दोस्रो विश्व युद्ध पछि यी राष्ट्रहरूले द्वन्द त्यागे अनि शान्तिको अर्थ राम्रो गरि बुझे। आर्थिक विकासका लागि एक आपसमा सद्भाव र शान्ति आवश्यक हुने तथ्य यी राष्ट्रका नागरिकहरुले बलियो गरी बुझेका छन । गरिब देशका नागरिकहरूले आफ्नै देशको स्रोत र साधनहरू बरबाद गरेर एक आपसमा संघर्ष गर्छन। आर्थिक विकास अवरुद्ध पार्छन। रचनात्मक समय केवल संघर्ष र द्वन्दमा खर्च गर्छन। नेपालले पनि पनि करिब दस वर्ष (माओवादी सश्त्र संघर्ष –२०५२ देखि २०६२) द्वन्दमा खर्च गरेको इतिहास छ। नेपालीहरूले आफ्नै दिदी बैनी, दाजुभाइको हत्या गरेको इतिहास ताजै छ। केही नेताहरूको व्यक्तिगत स्वार्थका लागि १७ हजार निर्दोषहरूले ज्यान गुमाएको तथ्य जग जाहेर छ । आर्थिक विकासको मुल स्रोत ज्ञान हो। एक आपसमा मिलेर बस्न सक्ने गुण हो। आर्थिक विकासको जग भनेको जनताको चरित्र हो। कुनै देशको जनता ज्ञानी छ भने त्यो देशले अवश्य पनि विकास गर्छ। त्यो देश अवश्य धनी हुन्छ। स्विट्जलैण्डको आर्थिक विकसले यो कुराको पुष्टि हुन्छ । स्विट्जरलैण्डको जनताको ज्ञानको स्तरले त्यस देशलाई धनी तुल्याएको हो। एक पहाडी मुलुकलाई पनि एक धनी मुलुकमा रुपान्तरित गराएको हो । नेपाल, अफगानिस्तानलाई पहाड टाउको दुखाइ भएको छ भने स्विट्जरलैण्डलाई पहाड वरादन सावित भएको छ। पहाडबाट स्विट्जरलैण्डले अत्यधिक आर्थिक फाइदा लिएको छ । स्रोत र साधान दोस्रो तत्व हुन। कुनै पनि देश धनी हुनका लागि त्यस देशको जनताको ज्ञानको स्तर उच्च हुन आवश्यक छ । उच्च ज्ञान स्तर भनेको एक आपसमा मिलेर बस्न सक्ने बौद्दिक क्षमता हो । ठूला ठूला समस्याहरू बिना हातहतियार समाधान गर्न सक्ने दूरदर्शिता हो । हामीमा ज्ञानको अभाव छ । त्यो अभावले गर्दा नै हामी कुनै व्यक्ति प्रधान मन्त्री हुने बित्तिकै त्यसलाई कुर्सीबाट लडाउने षडयन्त्रमा लाग्छौ । यो कारणले गर्दा पनि प्रम, मन्त्री आदिको ध्यान देशको आर्थिक विकासमा भन्दा कुर्सी जोगाउनमा नै केन्द्रित हुन पुग्छ । हामी अहिले पनि कसलाई प्रम बनाउने र कसलाई हटाउने ‘म्युजिकल चेयर’ खेलमा रमाएका छौ । प्रम ओली गएर अर्को व्यक्ति प्रम भए पनि यो सत्ताको खेल– म्युजिकल चेयर, हामी खेलिनै रहेन छौ । अनि कसरी हुन्छ नेपालको आर्थिक विकास ? यक्ष प्रश्नः देश धनी हुनका लागि आवश्यक तत्व के रहेछ ?
विश्वराज अधिकारी
akoutiyla@gmail.com
Friday, June 13, 2021