सन् १०९७ (वि.सं. ११५४) मा स्थापना भएको तिरहुत राज्यको राजधानी सिमरौनगढमा सन् १३२४ (वि.सं. १३८१) मा तुगलकको आक्रमणले सिमरौनगढ तहसनहस भयो । औपचारिक रूपमा दिल्लीका बादशाहको अधिनमा तिरहुत राज्य हुन गयो । तुगलक केही महिना सिमरौनगढमा बसे आफ्ना सम्पूर्ण सेनासहित अनि दिल्ली फर्के ।
विभिन्न प्रमाणहरूले के भन्दछन् भने तुगलकको सेनासित पराजित भएपछि राजा हरिसिंहदेव रानी देवलदेवी र छोरा जगत्सिंह कुमहरसहित पहाडतिर भागेका थिए भन्ने कुरा प्रा. डा. श्रीरामप्रसाद उपाध्यायले नेपालको प्राचीन तथा मध्यकालीन इतिहासमा उल्लेख गरेका छन् ।
हरिसिंहदेवका मन्त्री थिए कामेश्वर ठक्कुर (ब्राह्मण) । तुगलक दिल्ली फर्किनेबेला राज्यको रेखदेखको जिम्मा ठक्कुरलाई दिए । नेपाल परिचय भन्ने पुस्तक (पृष्ठ २३) मा खगेन्द्र निरौलाले ठक्कुरलाई शासक बनाएको उल्लेख गरेका छन् । ठक्कुर आइनिवारवंशी थिए । निरौलाका अनुसार ठक्कुरका वंशजले सिमरौनगढमा सन् १५२६ सम्म शासन चलाएका थिए तर विभिन्न तथ्यहरूले यस क्षेत्रको इतिहास केही फरक रहेको देखिन आउँछ ।
राधाकृष्ण चौधरीले प्राचीन भारत का राजनीतिक एवं सांस्कृतिक इतिहास भन्ने पुस्तक (पृष्ठ ३३९) मा सन् १३२४ मा तुगलकको आक्रमणले कर्णाटवंशको शासन ध्वस्त भए पनि कर्णाटवंशको प्रभाव सन् १३७५ सम्म रहेको उल्लेख गरेका छन् ।
तुगलकले तिरहुत राज्यको प्रशासनिक अधिकार ठक्कुरलाई दिएका थिए भने आर्थिक अधिकार आफ्ना एकजना कारिन्दा मल्लिका तब्लिघालाई दिएका थिए भन्ने उल्लेख पाइन्छ ।
पहिल्यैदेखि मन्त्री रहेका ठक्कुर निकै चतुर थिए । उनी आर्थिक प्रणालीमा हस्तक्षेप नगरे पनि आर्थिक हस्तक्षेपले शासनमा हस्तक्षेप ठानेका थिए । तब्लिघा कर असुली गर्ने दिल्लीको प्रतिनिधि मात्र थिए । शासनाधिकार ठक्कुरको हातमा र कर असुली गरी दिल्ली पठाउने काम तब्लिघाको हातमा हुँदा दुवै जना बीच खासै मेल थिएन । कर वा रहर दुवैले पनि ठक्कुरले खासै कुनै महत्वपूर्ण निर्णय लिन सक्दैनथे । यद्यपि ठक्कुरले दिल्ली र लब्लिघा दुवैको चित्त बुझाएर शासन चलाएका थिए ।
हरिसिंहदेव पलायन भएर पहाडतिर गए र केही समयपछि उनको मृत्यु भयो । महारानी देवलदेवी र छोरा जगत्सिंह कुमहर (औपचारिक रूपले युवराज नबनाइएकाले कुँवर भन्ने अर्थमा कुमहर भनिएको हुनसक्छ) ललितपुरमा शरण लिए र त्यही राजपरिवारमा जगत्सिंहको विवाह राजकुमारी नायकदेवीसित भयो । जगत्सिंह र नायकदेवीबाट राजल्लदेवीको जन्म भयो । राजल्लदेवीको विवाह जयस्थिति मल्लसित भएको बखतसम्म त्यहाँ देवलदेवीको प्रभाव कायमै रहेको इतिहासमा देखिन्छ ।
हरिसिंहदेवका आफन्तहरू तुगलकको आक्रमणले छिन्नभिन्न भएका थिए । जबसम्म तुगलक सिमरौनगढमा रहे तबसम्म आफन्तहरू बाहिर देखा परेनन् । ठक्कुरको हातमा प्रशासनिक अधिकार पुनः गएपछि उनका आफन्तहरूमा बाँच्न पाइन्छ भन्ने आशा पलायो । ठक्कुर र तब्लिघकाबीच मनोमालिन्यको अवस्थामा ठक्कुर र सर्वसाधारण सबैमा जगत्सिंह आएर शासनको बागडोर सम्हाले हुने भएको थियो तर यो सम्भव हुन सकेन ।
हरिसिंहदेवका भाइ तथा काकाका छोराहरूलाई पनि सर्वसाधारणले राजा नै मान्दथे । केही सामन्तहरूले पनि उनका आफन्तहरूलाई उक्साइरहेका थिए । अप्रत्यक्ष रूपमा सिमरौनगढको शासनमा फेरि नान्यदेवका वंशजको हस्तक्षेप हुन थालेको थियो । समयक्रममा ठक्कुरको निधन भई छोराहरूबीच शासनको लागि हानथाप हुन थालेको थियो । तब्लिघालाई शासनसित होइन, कर संकलनसित मतलब थियो । यही मौकामा हरिसिंहदेवका आफन्तहरूले सर्वसाधारणको मन जित्ने काम गरिरहेका थिए । यसैबीच बंगालका एक शासक हाजी इलियासले हाजीपुर क्षेत्रमा आक्रमण गरी कब्जा जमाए । सिमरौनगढको शासन नाममात्रको थियो । सैनिक परिचालनको अधिकार दिल्लीसित थियो तथा प्रशासनिक अधिकार एक जनामा र आर्थिक अधिकार अर्कोमा हुँदा राज्य एक किसिमले अस्तव्यस्त थियो । सिमरौनगढ नाममात्रको राज्य रहन गएको थियो ।
सन् १३४५ मा इलियासले कब्जा जमाएपछि तब्लिघालाई हाजीपुर बोलाएर कर त्यही तिर्न फरमान जारी गरे । सन् १३५८ सम्म इलियासको शासन रहेको इतिहास पाइन्छ । विष्णुपुराणको समयदेखिकै पौराणिक ठाउँ हाजीपुर रहेको थियो तर यसको नाम भने फरक थियो । अतिप्राचीन कालमा हाजीपुरको नाम उकबेलपुर रहेको देखिन्छ भने बुद्धको समयमा यसको नाम उच्चकला रहेको पाइन्छ । हाजी इलियासले यसलाई व्यवस्थित पारी आधुनिक रूप दिएकाले उनकै नामबाट करिब १२ वर्षसम्म राजधानी रहेको बस्तीको नाम हाजीपुर रहन गएको हो ।
हाजी इलियासको शासनको शासनकालमा नै हरिसिंहदेवका आफन्तहरू जुर्मुराएका थिए । विद्रोहको तयारी गरेका थिए तर कुनै कारणले हाजी इलियासले हाजीपुर छाडेर गएपछि ठक्कुरवंह र हरिसिंहदेवका आफन्तहरू एकजुट भए । ठक्कुरवंशमा भएको विवादले नान्यदेवका वंशजलाई शासक मान्ने सहमति भएको थियो र सबैको सल्लाहअनुसार जगत्सिंहले शासक बन्ने मनसाय नदेखाउँदा धर्मले जो शासक बन्नुपर्ने हो तिनी थिए शिवसिंह र शिवसिंह दुई दाजुभाइ थिए ः शिवसिंह र मानसिंह । शिवसिंह सिमरौनगढमा बस्न थाले भने मानसिंह औरैया (वर्तमानको ईशनाथ) मा । दुवैलाई सबैले राजा नै मानेका थिए तर शिवसिंह र मानसिंह दुवैले आफूलाई राजा कहिल्यै घोषणा गरेनन् ।
सन् १३७५ मा उत्तरी बिहारको सम्पूर्ण क्षेत्र (हाजीपुरदेखि उत्तरको सम्पूर्ण क्षेत्र) जौनपुरको नियन्त्रणमा गएको देखिन्छ र दिल्लीका शासक सिकन्दर लोधी (यिनी सन् १४८९ मा सुल्तान बनेका थिए) ले जौनपुरका शासकलाई हराएर आफ्नो अधिकार कायम गरेको इतिहास पाइन्छ । जौनपुर धेरै टाढा (उत्तर प्रदेश) भएकोले यस क्षेत्रमा द्वैध शासन चल्न थालेको देखिन्छ ।
यता वि.सं. १५५० (सन् १४९३) तिर पाल्पा राज्यको स्थापना भएपछि मुकुन्दसेन प्रथम (वि.सं. १५७५–१६१०) को समयमा तराई क्षेत्र पाल्पाहुँदै पाल्पाबाट मकवानपुर राज्य (वि.सं. १६२२) गठन भएको थियो । मुकुन्दसेन प्रथमकै समयमा रौतहटलगायतको क्षेत्र पाल्पा राज्यमा परिसकेको थियो भने मकवानपुर राज्यको राजधानी मकवानपुरगढी (वि.सं. १६२२) बनाएर लोहाङ सेनले शासन सुरु गरेपछि स्वतः यो क्षेत्र मकवानपुरको स्वतः हुन गएको देखिन्छ ।
प्रा.डा. उपाध्याय (ऐ. पृष्ठ १३०) मा उल्लेख गर्दछन् ः “१६६४ इ. मा बंगालका मुसलमानहरूले आक्रमण गरेपछि हरिहरसेनले यिनीहरूलाई हात्ती र केही रकम दिने गरेका थिए ।” यहाँ उल्लेख गरिएको तिथि केही फरक भएको हुन सक्छ तर पृथ्वीनारायण शाहले मकवानपुरलाई एकीकरण गरिसकेपछि रकम र हात्तीको समस्या समाधान गर्ने प्रयास गरेका थिए (यस विषयमा पछि प्रकाश पार्नेछु) तर सुगौली सन्धिपछि मात्र सम्पूर्ण रूपले रौतहटलगायतको क्षेत्रमाथि नेपालको पूर्ण एकाधिकार कायम हुन गएको देखिन्छ ।
एक ठाउँमा यसरी पनि उल्लेख गरिएको छ ः त्यस समयमा बेतियाअन्तर्गत पर्सा–बारा, शिवर –परसौनी राजाअन्तर्गत रौतहट–सर्लाही, दरभङ्गा राज्यअन्तर्गत महोत्तरी–सप्तरी थियो । पृथ्वीनारायण शाहले एकीकरण गरेपछि यो विषय टुङ्ग्याउने पहल भएको थियो तर सुगौली सन्धिपछि मात्र पूर्ण समाधान भएको थियो ।
कतिपयले शिवसिंह राजा भएको भन्ने कुरालाई स्वीकार्दैनन् । इतिहासमा पनि शिवसिंह र मानसिंहको विषयमा उल्लेख गरिएको छैन । औपचारिक रूपमा तिरहुत राज्यको सन् १३२४ मा विघटन हुनु र सन् १३५८पछि पनि आफूलाई औपचारिक रूपले राजा घोषणा हुन नदिनुका साथै राजधानीसमेत नबनाउनुले पनि यो स्थिति आएको हुनुपर्छ तर लोकजीवन साक्षी छ । लोकको हृदयमा शिवसिंह बसेका छन् र पुस्ता दर पुस्ता सिमरौनगढका अन्तिम राजा शिवसिंह भनेर हस्तान्तरण हुँदै आएको छ । अद्यपर्यन्त यो कथ्य लोकजीवनको तथ्यको रूपमा रहेको छ ः
पोखरी रजोखरी शिवसिंह खनबैया
शिवसिंह महाराज आरो सब रजैया ।
यसको भावार्थ ः रजोखरी (राजकोष)बाट पोखरी शिवसिंह खनाउँछन्, शिवसिंह महाराजा हुन् अरू रजौटा ।
लोकजीवनमा अझै पनि शिवसिंहका बारेमा अनेक उक्तिहरू प्रचलित छन् । नान्यदेवका पुत्र राजा गंगदेवले राज्यलाई परगनाहरूमा विभाजन गरेका थिए र प्रत्येक परगनामा मुखिया या प्रधान नियुक्त गरिएका थिए जो चौधरी नामले प्रसिद्ध भए (चौधरी, ऐ. पृ.३३९) । न्यायको लागि पंचायती व्यवस्था गरिएको थियो । चौधरीको काम कर संकलन र राज्यलाई न्यायमा सहयोग गर्नु पनि थियो ।
लोकोक्तिहरूमा रजौरी भनिएका यिनै चौधरीहरू हुनुपर्छ । शिवसिंहले प्रत्येक परगनामा कचहरी र अनेक गाउँमा ठूला पोखरीहरू खन्न लगाए । सबै पोखरीको छेउमा मन्दिर बनाउन लगाए । अधिकांश पोखरीको डिलमा शिवालय बनाउन लगाएका थिए । उनले खन्न लगाएका पोखरीहरू नुहाउन, पानी खान र सिंचाइ सबैका लागि उपयोगी थिए । असंख्य मन्दिर र मठ निर्माण गर्न लगाए । उनका कीर्तिहरू अद्यपर्यन्त रहेका छन् । यसै कारण उनी अहिलेसम्म जनजनको मनमनमा बसेका छन् ।