समाजका उमेरले ज्येष्ठ नागरिक हुनु भनेको अनुभवको खानी हुनु पनि हो । जो उमेरले ज्येष्ठ छन् र शरीरले वृद्धावस्थातर्फ यात्रा गर्दैछन्, ती आमा बुबालाई एकातिर आदर सम्मान गर्नुपर्दछ भने अर्कोतिर तिनका अनुभवबाट सबैले पाठ सिक्नु पर्दछ । ज्येष्ठ नागरिकहरुबाट जीवनको अनेक क्षेत्र, समाजको झन्डै सबै क्षेत्र तथा आधुनिकताप्रतिको दृष्टिकोण आदि क्षेत्रमा पनि धेरै विषयमा अनेक किसिमका जानकारी प्राप्त गर्न सकिन्छ । वर्तमान पुस्ता र वर्तमान युगका साथै विकासप्रतिको दृष्टिकोण र सन्तुष्टिको बारेमा पनि ज्येष्ठ नागरिकबाट जानकारी लिनु महत्वपूर्ण छ । आफ्नो श्रम र मानसिकता समाजमा लगानी गरेकै भरमा समाज अहिलेको स्थितिमा आइपुगेको र आफ्नो उमेर बाँच्न चाहने सबैले एक दिन ज्येष्ठ नागरिक बन्नुपर्छ भन्ने तथ्यलाई स्वीकार गरेर पनि सबैले ज्येष्ठ नागरिकप्रति सम्मानपूर्ण दृष्टिकोण राख्नु आवश्यक छ । कुनै पनि किसिमले ज्येष्ठ नागरिक अर्थात् अग्रजप्रति कसैले दुव्र्यवहार गर्नु हुँदैन । अग्रजप्रति प्रत्यक्ष वा परोक्ष कुने पनि किसिमले यदि दुव्र्यवहार हुन्छ भने परम्परागत दृष्टिकोणमा यो पाप हो भने आधुनिक दृष्टिकोणमा मानव अधिकारको उल्लंघन हो । हाम्रो सभ्यता र संस्कृतिमाथि प्रहार हो । हाम्रो सनातन संस्कृतिमाथि घोर अन्याय हो । अग्रजप्रति हामीले सम्मान गर्नै पर्दछ । शास्त्रहरुले पनि के भनेका छन् भने सत्तरी वर्षभन्दा माथिको उमेरका मानिसहरुप्रति सदा सर्वदा सबैको सम्मान हुनुपर्दछ । अग्रजप्रतिको सम्मानले हामीले हाम्रो आफ्नो लागि सम्मानको बाटो फराकिलो बनाएका हुन्छौँ भने यदि कुनै किसिमले दुव्र्यवहार गर्दछौँ भने यसले हामीलाई पनि भविष्यमा दुव्र्यवहार गर्ने बाटोलाई फराकिलो बनाएको हून्छ । यसर्थ हामी सबै जना अग्रजप्रति सम्मान गर्ने वातावरण बनाऔँ र अग्रजप्रति हुने दुव्र्यवहारविरुद्ध सामाजिक जागरुकता ल्याऔँ ।