म एघार बार्ह वर्षको हुँदासम्म मलाई म मधेसी हुँ वा पहाडी हुँ वा के हुँ थाहा थिएन। रौतहट जिल्ला स्थित सिम्राभवानीपुरमा मेरो घर हुँदा रुपलाल महरा, जगन हजरा, भोला मुसर ९माझी० मेरा टोले साथी थिए भने परका टोलका साथीहरूमा दिनकर ठाकुर, सत्यनारायण चौधरी आदि आदि थिए। पहाडतिरबाट झर्ने व्यक्तिहरू डोको बोकेर हाम्रो गाउँको सडकबाट जाँदै गर्दा म पनि मेरा टोले साथीहरूसङ्ग ती डोको बोक्नेहरूलाई टाढाबाट, “डोको पहडिया डोको डोको‘‘।।डोको पहडिया डोको” भनेर जिस्क्याउने गर्थ्ये। योपचास वर्ष जति पहिलेको कुरा हो।
२०४६ सालमा आएको राजनीतिक परिवर्तनले भने म पहाडिया रहेको बलियो गरी महसुस गरायो। पहडिया, मधेसिया शब्दलाई राजनीतिकर्मीहरूले आफ्नो स्वार्थका लागि अत्यधिक मात्रामा उपयोग गर्न थाले। केही पहाडी नेताहरूले पहाडी शब्दलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न थाले भने केही मधेसी नेताहरूले मधेसी शब्दलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न थाले। मधेसमा त केही नेताहरूले मधेसी नाम सहितको दलनै स्थापना गरे। आफूलाई तराइको मुक्तिदाता नै घोषण गरे। त्यति मात्र होइन, मधेसी राजनीति गरेर छोटो अवधिमा, चमत्कारी किसिमले चर्चित नेतासम्म पनि भए।
सिम्राभवानीपुर भरिमा केवल हाम्रो एक परिवारमात्र पहाडी थियो तर आफूहरू पहाडी भएको कहिले पनि बोध भएन। को हो मधेसिया पनि बोध भएन। हामीलाई कहिले कसैले पहाडिया भनेको मैले सुनिन।
विडम्बना त के देखियो भने आफूलाई मधेसको हित चिताउने, मधेसको हक, अधिकारका लागि आबाज बुलन्द गर्ने भन्दै राजनीति गर्ने, चुनाव लड्ने नेताहरूले आफ्नो कार्यस्थल मधेसलाई कहिले बनाएनन। उनीहरूको अर्जुन(दृष्टि जहिले पनि सिंहदरवारमा र बसाइ काठमाडौमा रह्यो। सत्ता र शक्ति उनीहरूको राजनीतिको प्रमुख लक्ष्य बन्यो। मधेसका अति विपन्न वर्गहरूलाई सहयोग गर्नु, उनीहरूको लागि राजगारीको व्यवस्था मिलाउनु, उनीहरूको शिक्षा दिक्षा एवं स्वास्थ्य सुविधाका बारेमा सक्रिय हुनु आफूलाई मधेसी नेता भन्नेहरूले त्यसतर्फ पटक्कै ध्यान दिएनन। मधेसी नेताहरूले मधेसका सीमान्तकृत, गरिब व्यक्तिहरूको गरिबी एवं अज्ञानताको उपयोग मात्र गरे। मधेसमा व्यापारिक केन्द्रहरूको स्थापना गर्ने, ठूला ठूला उद्योगहरूको स्थापना गर्ने, सडक, स्थास्थय सेवा, शिक्षा आदिको विस्तार गर्ने तर्फ उनीहरूको ध्यान गएन उल्टो सत्ता समीकरणमा सक्रियता बढाएर मन्त्री पद पाउने तर्फ मात्र ध्यान केन्द्रित पारे। यस कुराको उदाहरणको रुपमा अहिले ताजा राजनीति हेरे हुन्छ। ओली सरकारमा को को छन हेर्दा प्रष्ट हुन्छ।
मधेसी पहाडी विभाजन केवल राजनीतिक औजार वन्यो तर यथार्थमा मधेसी र पहाडी बिच कुनै पनि किसिमको विभाजन रेखा नै थिएन र अहिले पनि छैन। मधेसी र पहाडी समुदाय नङ र मासु गरी सदियौदेखि मिलेर बसेको समाज हो। यी दुई समुदाय बिच जनस्तरमा कहिले पनि कुनै पनि किसिमको कटुता उत्पन्न भएको छैन। विगतमा उत्पन्न भएको कटुता नेताहरूको उक्साहटले गर्दा भएको हो। नेताहरूको स्वार्थले गर्दा भएको हो।
मधेसी र पहाडी समुदाय बिच बिभाजन रेखा कोर्ने काम काठमाडौले पनि गरेको छ। काठमाडौका केही मूर्ख एवं स्वार्थी व्यक्तिहरूले मधेस वा तराइका व्यक्तिहरू सङ्ग अभद्र व्यवहार गरे। “भैया”, “मदिसे”जस्ता अति अपमानजक शब्दहरू प्रयोग गरेर तराइका व्यक्तिहरूको बेइज्जती गरे। केहीले त तराइबासी, जो विभिन्न कामले काठमाडौमा बसोबास गरेका थिए वा त्यहाँ पुगेका थिए, लाई ‘भारतीय भैया’ सम्म पनि भने। म, यो स्तम्भकार सम्मले, आफूलाई ‘ए मदिसे’ भनेको भोगेको छु। काठमाडौका केही व्यक्तिहरूले तराइका व्यक्तिहरूलाई ठूलो अपमान भने अवश्य गरेका हुन र यसका लागि सबै पहाडबासीहरूले मधेसी समुदायसङ्ग क्षमा माग्नु पर्छ। तर अर्कोतिर एउटा दुस्खद कुरा के भयो भने तराइका केही व्यक्तिहरू जो काठमाडौका केही अज्ञानीहरूबाट अपमानित भएका थिए, ले त्यो अपमानका लागि सम्पूर्ण पहाडी समुदायलाई दोषी देखे। सम्पूर्ण पहाडी समुदायले नै आफूलाई त्यस किसिमको व्यवहार गर्ने ठाने। उनीहरूले त्यस्तो ठान्नु गलत हो। काठमाडौका केही अज्ञानीहरूले गरेको व्यवहारलाई सम्पूर्ण पहाडेहरूको व्यवहारको रुपमा लिनु हुँदैन।
काठमाडौ र यस वरपरका ती व्यक्तिहरू, जसले मधेसीहरूलाई होच्याउने गरी व्यवहार गर्छन, लेआफ्नो त्यस किसिमको व्यवहारमा तत्काल परिवर्तन गर्न आवश्यक छ। यति मात्र होइन, कुनै पनि व्यक्तिले यदि मधेसी समुदायका व्यक्तिहरूलाई अपमानित शब्द भनेमा, होच्याएमा, खिस्सी गरेमा कानूनी कार्यवाही गर्ने समेत व्यवस्था हुनु पर्छ। घटनाको गम्भीरता हेरी जेल सजाएँ सम्मको व्यवस्था हुनु पर्छ। दुई चार जनताको गलत कामले गर्दा शान्त समाज बिथोलिने स्थिति उत्पन्न हुन दिनु हुँदैन। सामाजिक दुर्व्यवहार ठूलो अपराध हो।
काठमाडौका केही छिटफुट घटनालाई छाडेर कुरा गर्ने हो भने मधिसे र पहाडे भनेर ठूलो विभाजन रेखा कोरिएको नेपालमा अन्त कतै पाइँदैन। अन्य मुलुकमा जस्तो काला र गोरा, हुटु र टुट्सी, अरब र यहुदी जस्तो विभाजन नेपालमा छैन। र कहिले हुने पनि छैन। केही काल पहिले तराइमा उत्पन्न हुन थालेको मधेसी र पहाडी बिचको विभाजन रेखालाई तराइका केही बुदधीजीवीहरूले कुसलता पूर्वक व्यवस्थापन गरे। बिभाजन रेखालाई घातक हुन दिएनन। उनीहरुलाई धन्यवाद भन्नै पर्छ।
यस आलेखको उद्देश्य भने मधेस र मधेसीहरूलाई केवल राजनीतिक औजार बनाएर केही व्यक्तिहरूले गर्न थालेको राजनीतिक खेती तर्फ संचेत पार्नु हो। मधेस र मधेसीहरूको हक र अधिकारको कुरा गरेर राजनीतिक फाइदा लिनेहरूको कुरामा नलाग्न आग्रह गर्नु हो। यथार्थमा भन्ने हो भने हामी न त मधेसी न त पहाडे हौ। हामी सबै नेपाली हौ। यो देशमा ससम्मान बाँच्न पाउने हामी सबैको अधिकार हो। हामीलाई भूगोलले मात्र उँचो र समतल स्थानमा बस्ने स्थिति सृजना गरिदिएको हो। भूगोलले गर्दा हामी फरक छौ। तर राजनीति र सामाजिक रुपमा हामी बिच कुनै पनि किसिमको भिन्नता छैन। हामीले मिलेर बस्नु हाम्रो रहर मात्र होइन अनिवार्यता पनि हो।
पहाडमा बस्ने पहाडेहरूले चुरे पर्वतमाला हाम्रो हो। हामी यसको मनपर्दो उपयोग गर्छ भन्न थाले भने चुरेको अस्तितत्व मात्र होइन तराइ(मधेसको पनि अस्तित्व समाप्त हुन्छ। पहाडलाई तराइको आवश्यक्ता छ भने तराइलाई पहाडको आवश्यकता छ, माटोलाई ढुंगाको र ढुंगालाई माटोको आवश्यकता भएझै। ढुंगालाई माटोको र माटोलाई ढुंगाको भर हुन्छ। तराइ र पहाडको सम्बन्ध पनि माटो र ढुंगा जस्तो छ। सर्वकालीन रुपमा एकअर्कोसँग नछुट्टिने गरी टाँस्सिएको।
नेपालमा ठूलो सामुदायिक वा जातीय दंगा भएको इतिहासमा कहिं कतै पाइँदैन। अमेरिका जस्तो अति प्रजातान्त्रिक मुलुकमा सन् १९२१ मा ओक्लहोमा राज्यको टल्सा भन्ने शहरमा गोरा र कालाहरु बिच जातिय संघर्ष हुँदा बढीमा, २०० जति काला र ५० गोराहरू मारिएका थिए। मुख्य रुपमा गोराहरूले कालहरूको घर तथा व्यापारलाई निशाना बनाएका थिए, त्यहाँ तोडफोड गरेका थिए। केही कोराहरूले अहिले पनि कालाहरूमाथि विभेद गर्छन।
अफ्रिकी देश रवान्डामा दुई जातीय समूह हुटुर र टुट्सी बिच चलेको केवल १०० दिने जातीय द्वन्दमा ८ लाख भन्दा बढी व्यक्तिहरूहरूको हत्या भएको थियो। हत्या हुनेमा ठूलो संख्यामा टुट्सी जातीय समूहका व्यक्तिहरू थिए। इतिहासमा नै अति डर लाग्दो त्यो जातीय युद्ध अप्रिल ७ देखि जुलाइ १५ ९सन् १९९४० चलेको थियो। तर अति भयानक थियो।
हामीले विभाजनका रेखाहरूलाई समाप्त पार्नु पर्छ। कुनै खास जात जाती वा समूहको नाममा, वा कुनै क्षेत्रको नाममा गरिने राजनीतिको पछि लाग्नु हुँदैन। क्षेत्रीय, जातीय हिंसा कल्पना गर्न नसकिने किसिमले डर लाग्दो हुन्छ। र बन डढेलो जस्तो हुन्छ र यसले एक छिनमा बलियो र ब्यवस्थित समाजलाई सखाप पार्न सक्छ।
मधेस वा पहाडको नाममा तर आफ्नो स्वार्थका लागि राजनीति गर्नेहरूलाई पहिचान गर्न हामीले ढिलो गर्नु हुँदैन। सबैथरी मिलेर बसेमा मात्र देशको विकास हुने यथार्थ भूल्न पनि हुँदैन।
विश्वराज अधिकारी