तराई मधेसमा आँपलाई फलको राजा भनिन्छ । यो फल यस भेगमा बसोबास गर्ने सबैलाई प्रिय लाग्दछ । यसकारण व्यावसायिक आँपखेती नगर्नेले पनि जसले बोटविरुवा वा फलफूल लगाउने काम गरेका हुन्छन्, उनको खेतबारीमा केही रुख आँपका अवश्य हुन्छन् । सर्वसाधारणले आफ्नो घरको पछाडि, अगाडि, बारीमा, खेतमा, खरिहानमा जहाँ पनि आँपको बिरुवा लगाउँछन् । यो बहुवर्षे बाली हो । हुन त यसको काठ पनि काम लाग्ने हुन्छ । धार्मिक दृष्टिकोणले पनि आँप महत्वपूर्ण हुन्छ । विभिन्न पूजामा आँपको पात, आँपको पल्लो तथा आँपको दाउराको प्रयोग हुन्छ । यसै गरी आँपको बिहे गर्ने चलन पनि रहेको छ । यसरी हेर्दा तराई मधेसको जनजीवनको सबै क्षेत्रमा आँपको पहुँच रहेको छ । आँपको स्वाद जातअनुसार फरक हुन्छ । आँपका पारखीहरु आँपको पातलाई नै हेरेर कुन जातको आँप हो र कति मिठो हुन्छ भन्ने कुरा सजिलै छुट्याउँछन् । आँप पाक्ने असली सिजन यही हो । यद्यपि एक महिनादेखि आँप पाइरहेको छ । छिटो पाक्ने, ठिक समयमा पाक्ने र ढिलो पाक्ने गरी पाक्ने दृष्टिकोणले पनि तीन किसिमको हुन्छ । आँपमा खोया सानो हुने, निकै पातलो हुने वा ठूलो हुने, आँपको फल नै ठूलो हुने तथा सानो हुने आदि धेरै किसिमका हुन्छन् । आँपप्रति सर्वसाधारण यति लगाव राख्दछन् कि भातसित, रोटीसित, चिउरासित जेसित पनि खान्छन् । साथै यत्तिकै खाली आँप पनि मानिसले खान्छन् । चार पाँच वटा आँप एकचोटिमा खानुलाई सामान्य मानिन्छ । सबैले मन पराउने वा सर्वप्रिय भनेको गछपकु आँप हो । बजारमा आँप पकाउने औषधि हालेका आँप पनि पाइन्छन् । सम्भव भएसम्म काँचो आँप किनेर आफ्नै घरमा परम्परागत तरिकाले पकाएर खाएको राम्रो हो । हानिकारक रसायन मिलाएर पकाएको आँप खानु राम्रो होइन । हानिकारक रसायनले पकाएको आँपले स्वाद त दिन्छ तर स्वास्थ्यमा भने हानि गर्ने हुन्छ । अहिले जताततै सजिलै पाइरहेको आँप किन्नु र खानुभन्दा पहिले स्वास्थ्यको दृष्टिकोणले उपयुक्त रहेको भनेर विचार गर्दा राम्रो हुने सल्लाह दिन सकिन्छ ।