नेपालको इतिहासमा स्पष्ट रूपमा उल्लेख पाइन्छ कि रौतहटमा दुई ठाउँमा नेपाल–अंग्रेज युद्ध भएको थियो । धेरैलाई समनपुरमा भएको युद्धको बारेमा जानकारी छ तर अर्को ठाउँको बारेमा खासै जानकारी रहेको पाइँदैन ।
नेपाल–अंग्रेज युद्ध समनपुरमा भन्दा पहिले बडहरबामा भएको थियो ।
वि.सं. १८७१ मार्ग ११ गते, तदनुसार २४ नोभेम्बर १८१४ इ.सन्) का दिन रौतहटको बडहरबामा नेपाल–अंग्रेजबीच भयानक युद्ध भएको थियो ।
जनरल मार्लोको नेतृत्वमा रहेका कम्पनी सरकारका पहिलो डिभिजनका अंग्रेजी सैनिकहरू पटना सहरको नजिकै रहेको दानापुरबाट प्रस्थान गरेपछि यिनीहरूले नेपाल अधिराज्यको सिमानामा नै रहेको घोडासहनमा आएर मेजर ब्राडसाको नेतृत्वमा तात्कालिक रौतहट रौतहट जिल्लाको बडडहरवा नाम ठाउँमा सैन्य शिविर स्थापना गरी बसिरहेका नेपाली सैनिकहरूमाथि अप्रत्याशित रूपमा आक्रमण गरिदिएका थिए । सरदार परशुराम थापाको नेतृत्वमा त्यहाँ तीन सय जना जति नेपाली सैनिकहरू तैनाथ रहेका थिए । तोपका गोलाहरू सजिलैसँग आइपुग्ने तराई क्षेत्रका समतल मैदानहरूमा रहेर अत्याधुनिक हातहतियारले सुसज्जित १५ सयभन्दा बढी अंग्रेजी सैनिकहरूका सामुमा यति थोरै नेपाली सैनिकहरूले सशक्त मुकाबिला गर्नु सजिलो काम थिएन । सरदार परशुराम थापा यति बेला पुगनपुग ७५ वर्षका वृद्ध भइसकेका थिए । तैपनि यिनमा जोस तथा जाँगरको भने कत्ति पनि कमी थिएन । यसैले यिनी लडाइँको मोर्चामा सहसा होमिएका थिए । आमनेसामनेको युद्धमा लेफ्टिनेन्ट बायलुसँग एकाएक भिडिन पुगाकाले यिनी तिनैको हातबाट मारिए । यिनको नेतृत्वमा रहेका नेपाली सैनिकहरूमध्ये एक सय ५० जना जति सैनिकहरू या त युद्ध क्षेत्रमा नै मारिए अथवा विपक्षी सैनिकहरूद्वारा पक्रिए । यसै सैनिक मुठभेडमा कलकत्तासम्म पुग्न असफल भई त्यहाँ आई बसिरहेका टक्सारी चन्द्रशेखर उपाध्याय पनि पक्रिई विपक्षी अंग्रेजी सैनिकहरूको सैन्य शिविरमा पु¥याइए ।
यस सैनिक मुठभेडमा विपक्षीतर्फका सेनानायक लेफ्टिनेन्ट वायलु सख्त घाएल भएका र उनको नेतृत्वमा रहेका ५० जना जति अंग्रेजी सैनिकहरू हताहत भएका थिए । तैपनि बाँकी बचेका अंगे्रजी सैनिकहरू कप्तान हेको नेतृत्वमा त्यहाँबाट बारागढीतर्फ अघि बढेका थिए भनी इतिहास शिरोमणि बाबुराम आचार्यको भीमसेन थापा उत्थान र पतन भन्ने पुस्तक (पृष्ठ १७६) मा लेखिएको पाइन्छ ।
बडहरवामा नेपाली सेनाको नेतृत्व गरी सहादत प्राप्त गर्न पुगेका सरदार परशुराम थापा सम्भवतः तिनै व्यक्ति हुन् जसको नेपाल एकीकरणमा पनि निकै महत्वपूर्ण भूमिका रहेको छ । वि.सं. १८६४ कात्तिक शुक्ल एकादशी रोज ३ कात्तिक १३ गते, तदनुसार २७ अक्टोबर इ.सं. १८०७) का दिन काँगडा युद्धका निम्ति सरदार वंशराज खत्री तथा सरदार परशुराम थापाको नेतृत्वमा काठमाडौँबाट पुनः १० कम्पनी जति सैनिकहरू पठाइए । काँगडा राज्यको आशापुरी नामक ठाउँमा भएको महत्वपूर्ण लडाइँमा नेपाली पक्षको जित भयो (वि.सं. १८६५ मार्ग शुक्ल षष्ठी रोज ४ कात्तिक २६ गते तदनुसार ९ नोभेम्बर १८०८ इ.सं.) । काँगडा राज्यको मायापुरीमा भएको भीषण लडाइँपछि काँगडा राज्यको राजधानी मालकाँगडा नेपाली सैनिकहरूको नियन्त्रणमा पर्न आयो (वि.सं. १८६६ ज्येष्ठ शुक्ल अष्टमी रोज २ ज्येष्ठ ११ गते, तदनुसार २२ मे इ.सं. १८०९) भनी इतिहासशिरोमणि आचार्यको पुस्तकको परिशिष्टमा उल्लेख गरिएको छ । यसबाट ७५ वर्षीय परशुराम थापाको योगदानलाई आँकलन गर्न सकिन्छ ।
कतिपय लेखकले भने परशुराम थापाले समनपुरको लडाइँमा वीरगति प्राप्त गरेको उल्लेख गरेका छन् जुन त्यत्ति विश्वसनीय लाग्दैन ।
बडहरवामा अंग्रेजी सैनिकले नियन्त्रण कायम गरिसकेपछि राजधानी काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने बाटोलाई खुलाउनु उनीहरूका निम्ति पहिलो आवश्यकता अनुभव हुन आइरहेको थियो । यसैले यस कामका निमित्त कप्तान सिब्लीको नेतृत्वमा पर्सागढीतर्फ र कप्तान ब्याङ्कीको नेतृत्वमा रौतहटको समनपुरतर्फ आफ्नो नियन्त्रण स्थापित गर्न भनी यिनले आफ्ना पाँच पाँच सय जति सैनिकहरूलाई त्यत्तातर्फ खटाइदिए । यसरी खटाइएका दुवै कप्तानहरू आआफ्नो निमित्त निर्धारित क्षेत्रहरूमा नियन्त्रण स्थापित गर्न सफल पनि रहे । यसले गर्दा थोरै दिनको बिचमा नै नेपाल अधिराज्यका पर्सादेखि रौतहटसम्मका तराईका क्षेत्रका अधिकांश भूभागहरूमाथि सहजै विपक्षी सैनिकहरूको नियन्त्रण स्थापित हुन आयो (आचार्य, ऐजन, पृष्ठ १७७) ।
यतातर्फबाट आउने विपक्षी अंग्रेजी सैनिकहरूको प्रवाहलाई नेपालका पहाडी क्षेत्रहरूभित्र प्रवेश गर्नबाट बलपूर्वक नै रोक्न भनी पुगनपुग तीन हजारजति तालिमप्राप्त तथा पुगनपुग दुई हजारजति बेतालिमे सैनिकहरूलाई साथमा लिई जनरल भीमसेन थापाका कान्छा भाइ कर्नेल रणवीरसिंह थापा रतनपुरको आसपासमा लडाइँका निमित्त सन्नद्ध भएर बसिरहेका थिए । लभभग यति नै सैनिकहरू यस क्षेत्रका अन्य गढी र किल्ला हरूमा तथा चुरे पर्वतमालाका भन्ज्याङहरूमा पनि तैनाथ रहेका थिए । आफ्ना विपक्षी अंग्रेजी सैनिकहरू तराई क्षेत्रहरूमा यत्रतत्र फैलिन थालेको अनुभव गरी कर्नेल रणवीरसिंह थापाले आफ्ना सहयोगी कप्तान सर्वजित थापाको नेतृत्वमा रहेका १२ सय जनाजति सैनिकहरूलाई समनपुरतर्फ र पर्सागढीको आसपासमा आएर बसिरहेका अंग्रेजी सैनिकहरूकमाथि प्रत्याक्रमण गर्न भनी कप्तान वीरकेशर पाँडेको नेतृत्वमा अन्य १२ सय जनाजति सैनिकहरूलाई पर्सागढीतर्फ खटाइदिए ।
यसैअनुसार वि.सं. १८७१ पौष १९ गते, तदनुसार १ जनवरी इ.सं. १८१५ का दिन बिहानै सबेरैदेखि दुवै कप्तानहरूको नेतृत्वमा रहेका नेपाली सैनिकहरूले एकैपटक विपक्षी सैनिकका सैन्य शिविरहरूमाथि एकाएक आक्रमण गराइदिए । समनपुरमाथि भएको यस आक्रमणमा विपक्षी अंग्रेजी विपक्षी अंग्रेजी सैनिक सैनिकहरूतर्फका कप्तान ब्याङ्की तथा लेफ्टिनेन्ट डङ्कनसमेत दुवै जना अंग्रेज अफिसरहरू मारिए (आचार्य, ऐजन, पृष्ठ १७८) भन्ने उल्लेख पाइन्छ ।
नेपाल–अंग्रेज युद्धका सन्दर्भमा रौतहटमा भएका दुई लडाईँमध्ये बडहरवाको लडाइँको विषयमा जनमानसमा खासै धेरै जानकारीमा रहेको नपाइए पनि समनपुर लडाइँको विषयमा स्थानीयमा अद्यपर्यन्त धेरै प्रसंगहरू पुस्तादर पुस्ता हस्तान्तर हुँदै विद्यमान छन् ।
सन् १८१४ डिसेम्बर ३१ को रात अर्थात् उक्त वर्षको अन्तिम रात र नयाँ वर्ष १८१५ को जनवरी १ तारिख सुरु हुने रातमा समनपुरमा लडाइँ भएको सत्य हो । पश्चिमाहरू नयाँ वर्ष जतिखेर सुरु हुन्छ उतिखेरै मनाउने चलन रहेको छ जसअनुसार १ जनवरी लाग्नासाथ मध्यरातमा नयाँ वर्षको उत्सव मनाउने तयारी चलिरहेको थियो । सोही रातमा स्थानीयबासीले अचानक आक्रमण गरी अकल्पनीय क्षति पु¥याएका थिए ।
बडहरवामा नेपाली सेनाको ठूलो हताहति भएर केही पक्राउ परेको र केही उम्किन सफल भएको देखिन्छ । बडहरवामा ज्यान जोगाउन सफल भई उनीहरूको कब्जामा पनि पर्न नसकेका केही नेपाली सैनिकहरू नेपाली सेनाको अन्य शिविरमा गएको हुनुपर्छ र केही भने त्यत्तिबेलाको समृद्ध बजार समनपुरमा आई स्थानीयबासीसित संगठन गरेको हुनुपर्छ । स्थानीयबासीलाई आफ्नो विचारमा सहमत गराई अंग्रेजविरुद्ध आक्रमणको योजनाबद्ध तयारीमा केही नेपाली सैनिकको भूमिका हुनुपर्छ । सेनाको भेषमा नभएर सर्वसाधारणजस्तो स्थानीयबासी बनेर झन्डै तीन महिनासम्म स्थानीयबासीसित घुलमिल गरेर बसेपछि आक्रमणको योजना सफल भएको देखिन आउँछ ।
नयाँ वर्ष मनाइरहेका अंग्रेजी फौजमाथि सयौँको संख्यामा राँगा (पाडा) को सिङमा झुम्रो (कपडा) बेरेर त्यसमा घिउ र तेल हाली आगो बालिदिए । साथै लुकाडी (मसाल) बनाएर पाडाको पछाडिका दुई खुुट्टामुनि पोल्ने र माथिबाट हिकाउँदै अंग्रेजको सैन्य शिविरमाथि मध्यरातमा अचानक आक्रमण गरे । मध्यरात्रीको चिसो र अँध्यारोमा सयौँको संख्यामा राँको बलेर आफूहरूतिर आउँदै गरेको विशाल समूहलाई देखेर अंग्रेज फोज अत्तालियो । सम्हालिन नपाउँदै अंग्रेज फौजले अकल्पनीय क्षति बेहोर्न पुग्यो । पाडाहरूको समूहसँगै रहेको स्थानीय महिला तथा पुरुष स्थानीयबासीले हातमा लाठी, बन्चरो, हँसिया, भाला, तरबार आदि घरेलु हतियार पनि लिएका थिए । साथमा रहेका पहिलेदेखिकै नेपाली सेनाले अंग्रेजी फौजको समूहमा प्रवेश गरी खुकुरीले छपाछप छप्काए । अंग्रेजी फौजमा हाहाकार मच्चियो । भागाभाग भयो । पिएर मात्तिएकाहरू भाग्नै पाएनन्, त्यही मारिए । स्थानीयले रातभरि लखेटिरहे अंग्रेज सैनिकलाई । लखेट्दै घोडासहनसम्म पु¥याए भने अर्को टोली अंग्रेजी फौजलाई लखेट्दै वैशालीसम्म पु¥यायो । भोलिपल्ट बिहान र दिनभरि अंग्रेजी फौजलाई स्थानीबासीले खोजिरहे, लखेटिरहे र मारिरहे । जीवितै समातिएका केहीलाई समनपुरको राजदेवी मन्दिरअगाडि कुटेरै मारिए । युद्धमा मारिएका अंग्रेज सैनिकहरूको शवलाई तिनीहरूको शिविरभन्दा पूर्व रहेको पोखरीमा फालियो । सेनाहरूले प्रयोग गरेका हतियार तथा अन्य सामग्री पनि पोखरीमा नै विसर्जन गरियो । यस युद्धमा संग्रामपुर, सुन्दरपुर, हरैया, मदनपुर, वीरनगराबासीको निकै ठूलो भूमिका रह्यो । युद्धपछि यी गाउँको बोलाउने नाम नै बदलियो । समनपुरको नाम पनि लडैया समनपुर हुन गयो । उता अंग्रेजलाई लखेट्दै वैशालीको हाजीपुरस्थित नारायणी नदीको घाटसम्म पुगेको नेपाली टोली लामो समयसम्म त्यहीँ नै बसिरह्यो । जनवरी ३ वा ४ तारिखका दिन नेपाली सेनाको टोली समनपुर पुगेको हो । अंग्रेजी फौजसित स्थानीयले खोसेका बन्दुक, राइफल तथा तोपहरूसमेत नेपाली सेनालाई स्थानीयले जिम्मा लगाए । करिब डेढ सय वर्षभन्दा लामो समयसम्म समनपुरमा नै उक्त तोप रह्यो र पछि गौर लगेर भन्सारनजिक राखियो । द्वन्द्वकाल (माओवादी सशस्त्र द्वन्द्व) मा उक्त तोप वीरगंज पु¥याइयो । उता नेपाल–अंग्रेज युद्ध समाप्त भएर सम्झौता भइसकेपछि पनि नेपाली सेनाको एक टुकडी नारायणी किनारमा छाउनी बनाएर बसिह्यो । बिहारको वैशाली जिल्लाको सदरमुकाम हाजीपुरमा नारायणी नदीको किनारमा अवस्थित कौनहारा घाटमा अहिले पनि नेपाली छाउनी रहेको छ । समनपुर युद्धसम्बन्धी यस्तो प्रकारको भनाइ रहेको छ ।