कोरोना संक्रमणका ेदोस्रो लहर धेरै नै खतरनाक साबित भएको सबैलाई थाहा छ । तीव्र गतिमा फैलिएको र धेरै मानिसको मृत्यु भएको सबैले देखेकै छौँ । अहिले कोरोना संक्रमणको दर निकै कम भएर गएको छ । देशमा झन्डै दुई हजारको हाराहारीमा दैनिक नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितको संख्या हरेक दिन कम हुँदै गइरहेको र संक्रमणमुक्त हुनेको संख्या हरेक दिन बढेको देखिएको छ । यसले गर्दा सर्वसाधारणमा अब कोरोनाको संक्रमण नै छैन कि जस्तो भएको छ । अहिले बजार र अन्यत्र हेर्दा सर्वसाधारण यति धेरै गतिशील बनेका छन् कि लाग्छ मानिसहरु लापरवाह भइसकेका छन् । सर्वसाधारण यसरी जीवन व्यतीत गर्न थालेका छन् कि केही भएकै थिएन वा अब कुनै खतरा नै छैन । वास्तवमा यो लापरवाही हुन सक्छ ।
अहिले खतरा टरेको छैन । खतरा अझै पनि विद्यमान छ । यस खतरालाई खतरा नै बुझौँ र हरेक मानिसले अनिवार्य रुपमा कम्तीमा मास्क लगाउने र भीडभाडमा जाने काम नगरौँ । अहिलेको समय धेरै गम्भीर हो । गम्भीरतालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । गम्भीर भइएन भने धेरैले अहिले पछुतो मानिरहेका छन् । फेरि पनि पछुताउने मौका दिनु हुँदैन । मास्क लगाउने बानीले कोरोनाको संक्रमणलाई मात्र रोक्छ भन्ने होइन । वास्तवमा हेर्ने हो धुलो, धुवाँ र खराब गन्धबाट पनि जोगाउने काम गर्दछ मास्कले । यसै गरी सम्भव भएसम्म भौतिक दुरी अपनाउनाले कोरोनाबाहेक श्वासप्रश्वास र छालासम्बन्धी रोगबाट बचाउँछ । यसकारण लापरवाहीबाट जोगिनु अनिवार्य छ । लापरवाहीपूर्ण भीडभाडले खतरा बढएको कुरा सबैलाई थाहा हुनुपर्ने हो ।