संस्कृति कुनै पनि जातजाति, समुदायको पहिचान हो । संस्कृतिमा अनेक कुरो लुकेको हुन्छ । नेपाल बहुल जातजाति भएको मुलुक हो । यहाँ अनेक धर्मावलम्बीले बसोबास गरेका छन् । एकै धर्मभित्र पनि विभिन्न सम्प्रदाय तथा समुदायहरु रहेको छन् । ती सम्प्रदाय तथा समुदायमा अनेक किसिमका जातजाति रहेका छन् । यदि राम्ररी अध्ययन गर्ने हो भने हरेक जातिको आफ्नै इतिहास रहेको छ । आफ्नै किसिमको संस्कृति रहेको छ । यसरी जाति र संस्कृतिको अभिन्न सम्बन्ध रहेको मानिन्छ । हुन त संस्कृति भन्नु नै सामूहिक जीवन पद्धति हो र यो एक जातिभित्र पनि फरक हुन सक्छ र फरक जातिबिच पनि एकै किसिमको हुन सक्छ । लामो समयको जीवन पद्धतिले संस्कृतिको रुप धारण गर्ने हुनाले संस्कृतिमा भिन्नता आउनु पनि स्वाभाविक हुन्छ ।
हरेकको संस्कृतिको सम्मान गर्नु मानवता हो र नेपालको संविधानले पनि हरेकलाई आफ्नो जाति, सम्प्रदाय अनुसारको संस्कृति मान्नलाई अधिकार दिएको छ । यदि कुनै संस्कृतिले अरुलाई हानि गरिरहेको छैन भने हामी कसैको संस्कृतिको विरोध गर्न सक्दैनौं । नेपाल हिन्दु राष्ट हुनुको साथै यो एउटा बहुभाषा र बहुसंस्कृति भएको मुलुकको रुपमा पनि परिचित रहेको छ । नेपाललाई भौगोलिक हिसाबले हिमाल, पहाड र तराई गरी तीन भागमा बाँडिएको छ । यी तीन भौगोलिक अवस्थामा परम्परादेखि बसिआएका विभिन्न जातजातिका आ–आफ्नै संस्कृति रहेका छन् । यी संस्कृतिहरुमध्ये कतिपय त एकापसमा धेरै नै भिन्न रहेका छन्, मौलिक रहेका छन् ।
सामान्यतया विशेष गरी तराई मधेसमा परम्परादेखि बसोबास गरिआएकालाई मधेशी भन्ने गरिएको छ । पहिले तराई क्षेत्र नै भनेर चिनाइएको भए पनि यहाँका मानिसहरु आफूलाई तराइली नभनेर मधेसी नै भन्ने गरेका थिए । मधेस आन्दोलनपछि तराईलाई मधेस पनि भन्न थालिएको छ र यस क्षेत्रमा बसोबास गर्नेहरुलाई मधेसी भन्न थालिएको छ । यस तराई मधेसको आफ्नै सांस्कृतिक पहिचान छ । हुन त यसलाई अन्नको भण्डार, सुन फलाउने, अत्यधिक गर्मी ठाउँ, सर्पको बिगबिगी भएको ठाउँको रुपमा पनि चिनाउने गरिएको छ तर संस्कृतिमा पनि यसको आफनै किसिमको पहिचान रहेको छ । जातिअनुसारको विवाहको चलन फरक छ, आफ्नो कुलदेवदेवीको पूजा फरक छ, नयाँ वर्ष मान्ने चलन फरक छ । विशेष गरी कुरो गर्दैछौं मधेशमा बस्ने मधेशीको संस्कृतिमा चलनचल्तीमा रहेको गीत र यससित सम्बन्धित अन्य पक्षको ।
मधेसीे समुदायमा आफ्नै संस्कृति झल्किने गरी देवताको पुजासित सम्बन्धित गीतहरु रहेका छन् । गाउँको बाहिर सिमानमा प्राय ब्रह्म बाबाको मन्दिर रहने गर्दछ । खेतीपाती र विशेष गरी विवाहहरुमा ब्रह्म बाबाको विशेष पुजाआजा गरिन्छ । ब्रह्म बाबालाई गाउँकै मालिक मानिन्छ । गाउँमा कुनै अनिष्ट हुन नदिन र गाउँको सबै मानिस, पशुपन्छीको रक्षा ब्रह्म बाबाले नै गर्दछन् भनी जनविश्वास रहिआएको छ । गाउँलेहरु प्रत्येक वर्षको असोज वा कतै कतै कात्तिक महिनामा सामूहिक रुपमा गमाला पूजा गर्ने र प्रसाद वितरण गर्ने कार्य पनि गर्दछन् । कुनै देवताको पूजा सुरु गर्नुपूर्व ब्रह्म बाबाको पूजाआजा र गीतमंगल गाउने गरिन्छ । त्यस्तै शंकर भगवानको पूजाका पनि असंख्य गीतहरु छन् । जसमा उनको रुपको वर्णनदेखि लिएर आफ्ना भक्तको रक्षासम्मका कुराहरु पनि सामेल हुने गरेको पाइन्छ । शिवको लचारी, मधानी, शिवलीला आदिमा पनि शिवसित सम्बन्धित गीतहरु गाइन्छन् । बोलबम जाँदा, शिवको दर्शन गर्न जाँदा तथा शिवरात्री र सिरपचईको समयमा गाइने शिवका थप फरक विशिष्ट परम्परागत गीतहरु रहेका छन् ।
अझ सांस्कृतिक र परम्परागत चलनअनुसार हुने विवाहमा मधेशको संस्कृतिअनुसारको अपटनको गीत, तिलकको गीत, सिन्दुरदानीको गीत, मडवा छाएको गीत, मटकोरको गीत, सम्धीलाई गीतको माध्यमले गाली दिने गीतहरु प्रशस्त छन् । विवाहअन्तर्गत आम महुवा विवाहका गीतहरु पनि छन् । अझै छोराको विवाहमा त जन्ती गैसकेपछि रातीमा रतेउली (डोमकच) खेल्नेको भीडभाड पनि उतिकै देख्न सकिन्छ । रमाइला गीतका साथमा नाँच्नेहरुको संख्या पनि उत्तिकै देख्न सकिन्छ । त्यसपछि बेहुली अन्माउने बेलामा पनि कूलदेवताका गीतहरु र बेहुला बेहुलीलाई नयाँ जीवनको सुरुवातको शुभकामनाका गीतहरु पनि सुनूँ–सुनूँ लाग्ने खालका हुन्छन् । गीतमा माया, प्रेमका कुरा, सुख, दुःखका कुरा लगायत अन्य पीडाहरु पनि सामेल हुनुले गीतलाई कारुणिक, मनोरञ्जनात्मक, धार्मिक, आशीषमूलक, सामाजिक चेतना तथा सन्देशमूलक आदि विभिन्न प्रकारमा विभाजन गरेर अध्ययन पनि गर्न सकिन्छ । जुनसुकै सन्दर्भ र अवसरकार परम्परागत गीत भए पनि वास्तवमा ती गीतहरु यदि मानिसले आफ्नै मुखले व्यक्तिगत वा सामूहिक रुपले गाएका छन् भने सुनू –सुनू लाग्ने हुन्छन् । तराई मधेसमा प्रचलित सांस्कृतिक गीतको एउटा विशिष्टता यो पनि हो कि अधिकांश गीतहरु सामूहिक गायनका रहेका रहेछन् । यसले समाजमा एकताको सन्देश बोकेको स्पष्ट हुन्छ ।
यहाँ विभिन्न जातजातिका मानिसहरु भएकाले सबैको कूलदेवता आफ्नै अनुसारको हुन्छ । यहाँ कूलदेवताको पुजा आफ्नो चलन अनुसार कसैको साउनमा त कसैको भाद्र महिनामा पूजा हुन्छ र कतिपय कूलदेवताको पूजाको महिना तोकिएको हुँदैन । पूजा हुने समयअनुसार फरक–फरक गीतहरु पनि छन् । घरमा कुनै उत्सव, केही खास दिनहरु छन् भने पनि सोहीअनुसारको गीतहरु हामी पाउन सक्छौं । चाडपर्वको कुरो गर्ने हो भने होलीमा होलीकै गीतहरु, छठमा छठीमाई तथा सूर्य देवताको गीत, गोवद्र्धन पूजामा देवताको गीत, साउनको सोमवारमा शिवका लचारीहरु सुन्न सकिन्छ । चैतमा चैतावरको पनि कम महत्व छैन । घरमा नयाँ बेहुलीलाई छाडेर कमाउन परदेश गएको श्रीमानको सम्झना र साथीसँगिनी आफ्ना लोग्नेसित रमाएको देख्दा बिरहमा परेकी श्रीमतीले आफ्नो दुःख,पीडालाई गीतकै माध्यमले पोखेको पाउन सकिन्छ । रोपाइँको समयमा रोपाइँकै गीतहरु पनि प्रशस्त छन् जसमा किसानहरुले आफूले देखेको सपना र आफूले भोगेका दुःखहरुलाई गीतको माध्यमले पोख्छन् । खेतालाहरु हिलोले लतपतिएको दृश्य साथै खेतको आलीमा नास्ता खाँदैं मिठो स्वरमा एकसाथ सबैले गीत गाएको देख्दा मनै नाचेर आउँछ ।
गाउँघरमा हुने गरेको हनुमान आराधना, अठजाम, लखराँओ, मधानी आदिमा पनि देवीदेवताको गीतहरु गाउने चलन रहेको छ । हनुमान आराधनामा कम्तिमा सातदेखि आठ घण्टासम्म लगातार गीत गाएरै पुजाको शुरुवात र समापन हुने गर्दछ ।
हाम्रो समाजका सामाजिक तथा सांस्कृतिक धरोहरहरु झिँझिया, जरजटिन, सामाचकवा लोप हुन थालेका छन् । यी सांस्कृतिक सम्पदाका कैयौँ गीत लोप भइसकेका छन्, हराइसकेका छन् । यी लोकसम्पदालाई जोगाउनु वर्तमानको कर्तव्य हो । लोकसंस्कृतिका यी अंगहरुमा अनेक गीत रहेका छन्, गीतका अनेक भाव छन् । सबैभन्दा महत्वपूर्ण कुरो त यो हाम्रो सम्पत्ति हो । यसमा सबैभन्दा बढी स्थानीय सरकारले ध्यान दिनुपर्ने हो तर दुर्भाग्य परम्परा गीत तथा संस्कृतितिर स्थानीय सरकारको ध्यान जान सकेको देखिएको छैन । यो एउटा अचम्मको कुरा नै हो कि स्थानीय सरकारहरु स्थानीय सांस्कृतिक सम्पत्तिको सुरक्षा गर्न पूर्णतया उदासीन देखिएका छन् ।
हाम्रो संस्कृतिमा रहेका गीतहरु केवल गाउनका लागि मात्र होइनन् । यसमा हाम्रा पुर्खाहरुको इतिहास देख्न सकिन्छ । पुर्खाहरुको सम्मानका लागि पनि गीतहरुको संरक्षण गरिनु आवश्यक रहेको छ । अहिलेका बुद्धिजीवी तथा जनप्रतिनिधि र संस्कृतिकर्मीले हाम्रो समाजको संस्कृति बचाउन तथा संस्कृतिभित्रको गीतलाई बचाउन विशेष भूमिका खेल्नु परेको छ र संस्कृतिका पक्षधरहरुले पनि यसमा सहयोग गर्नु समयको माग भइसकेको छ ।