दुई दिन पहिलेसम्म सबै सामान्य थियो तर दुई दिनको वर्षाले सबैतिरको बाटोको हैसियत देखाइदियो । बाढीको पहिलो झोक्काले नै तराई मधेसमा स्थानीय सरकारले गरेको विकासको अवस्थालाई स्पष्ट पारिदियो । अहिले कुनै पनि सडक यस्तो छैन, जुन स्थानीय सरकारले बनाएको होओस्, जसमा निर्बाध चार पाँच किलोमिटर जान सकियोस् । अहिलेको वर्षातले गिटी र बालुवा सडकमा हालेर हरेक वर्ष एउटै योजनामा बजेट निकासा गर्ने स्थानीय सरकारको कामलाई उदांगो पारेको छ । जताततै विकासको नारा उदांगो भएको छ । विकासलाई बाढीले बगाएको छ र फेरि अहिले नै बाढी सुकेपछि धेरै ठाउँमा मरम्मत गर्नुपर्ने भएको छ सडकको । अझ कतिपय त यही जेठ असारमा मरम्मत गरेको सडक अहिलेको बाढीले बगाएर जस्ताको तस्तै बनाएको छ । वर्षा भएपछि बाढी आउनु नियति हो तर बाढीको पानीको निकास नदिइकन विकास गर्नु चाहिँ खराब नियतले गरिएको विकास हो भन्ने पनि स्पष्ट पारेको छ । विकासको नियतमा नै खोट रहेकोले विकासहरु बाढी देख्नासाथ पराजित भएर भागेका हुन् । सडकमा जनप्रतिनिधिले विकासको नाममा लगाएको दाग वर्षा र बाढीको पानीले बगाएको छ । यसले यो स्पष्ट भएको छ कि विकासको बाधक अरु कोही नभएर नियत हो । विकास गर्ने नियत नहुँदा विकास गरेको पनि देखिने, फोटो खिचिने र अन्ततः विकास बगेको फोटो हालेर फेरि त्यसमा पनि बजेट निकालेर मरम्मत गर्ने । अहिलेको मरम्मत फेरि काम चलाउ हुने र अर्को आर्थिक वर्षमा फेरि पनि त्यहाँ विकासको काम गर्ने प्रवृत्ति बढेको छ । जतिसुकै गाली गरे पनि स्थानीय सरकारले गरेको विकासभन्दा केन्द्र सरकारले गरेको सडकसम्बन्धी विकास धेरै हदसम्म राम्रो रहेको छ तुलनात्मक रुपमा । विकासको पोल खोलेको छ बाढीले । अब विकास गर्नेहरुको पोल खोल्ने हो भने मरम्मत अलिक भरपर्दो हुन सक्थ्यो कि ?
बाढीको नियति – सम्पादकीय
2 Min Read