लोकतान्त्रिक नेताहरू कसरी निरंकुश हुन पुग्छन ? – विश्वराज अधिकारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २०, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
लोकतान्त्रिक नेताहरू कसरी निरंकुश हुन पुग्छन ? – विश्वराज अधिकारी

लोकतान्त्रिक नेताहरू कसरी निरंकुश हुन पुग्छन? यो प्रश्नको उत्तर सजिलो छैन। यो प्रश्नको उत्तर खोज्न मानवीयमनोविज्ञानको भित्री तहसम्म पुग्न आवश्यक छ। तर यो प्रश्नको उत्तर जान्न भने आवश्यक छ। नेपालका धेरै लोकतान्त्रिक नेताहरू पछि तानाशाह र निरंकुश भएका, सत्ता मोहमा परेका, प्रधान मन्त्री पटक पटक हुन अनेक दाउपेंच गरेका, शक्ति हस्तगत गर्न षडयन्त्रमा सदा लिप्त भएका अनगिन्ति उदाहरणहरू छन। वर्तमानको नेपाली राजनीतिलाई हेर्दा पनि यो कुरा प्रष्ट हुन आउँछ। अल्प संख्यक गोराहरूको हातमा रहेको शासन व्यवस्था खोसेर वहुसंख्यक कालाहरुको हातमा पुर्याएका तथा कालाहरूको हक हितका लागि आफ्नो जीवन आहुति दिन कुनै समयमा सदा तत्पर रहेका जिम्बाब्वेका लोकतन्त्रका योद्धा रोबर्ट मुगाबी आफू शक्तिमा आए पछि घोर निरंकुश भए। आफू स्वयं पनि कालाजतिका भएता पनि कालाजातिमाथि नै मुगाबीले करिब ४० वर्षसम्म निरंकुश शासन गरे। लामो समयसम्म जिम्बाब्वेका राष्ट्रपति भएका मुगाबी चुनावमा हरेको कहिले सुनिएन। उनको तानाशाहीको चर्चा अहिले पनि सेलाएको छैन। कुनै समयका चर्चित लोकतान्त्रिक नेता मुगाबी कसरी निरंकुश एवं तानाशाह हुन पुगे? २० सौं सप्ताब्धिका अति विवादित व्यक्ति फर्डिनान्ड मार्कोसको पृष्टभूमि कम्युनिष्टको थिएन। तर जब मार्कोस फिलिपिन्सका राष्ट्रपति भए उनलाई शक्ति उन्मादले अति नै मोह पासमा पार्यो। प्रजातान्त्रिक पृष्ठभूमि भएका मार्कोस आफ्नो समयको ठूलो तानाशाह भएर निस्के। मार्कोस सन् १९६५ देखि १९८६ सम्म फिलिपिन्सको विवादित एवं निरंकुश राष्ट्रपति भए। फिलिपिन्समा सर्वाधिक शक्तिसाली हुन उनले सन् १९७२ देखि १९८१ सम्म ‘मार्शल ल’ लागू गरे। मार्कोसको शासनकाल दण्डहीनता, भ्रष्टाचार, हत्या, अमानवीयताको लागि कुख्यात हुन पुग्यो। मार्कोसले शक्तिको अति नै दुरुपयोग गरे। भनिन्छ, त्यसबेला मार्कोसको बस्ने ठाउँ कुनै महल जस्तो थियो। उनकी पत्नी इमेल्डा मार्कोसको जुत्ता मात्र पनि ७ हजार जोडी थियो। यो तथ्यबाट पनि थाहा हुन्छ फर्डिनान्ड मार्कोसले कति सम्म शक्तिको दुरुपयोग गरेका थिए। मार्कोसको शासन काल आतंक र अत्यचारले भरिएको थियो। मार्कोसलाई त्यति निरंकुश कसले बनायो ? इन्दिरा गाँधीको परिवारको साइनो सोझै प्रजातन्त्रसम्म जान्छ। उनका पिता जवाहरलाल नेहरूले भारतलाई अंग्रेजहरूको शासनबाट मुकत गर्न भारतमा भएको ‘स्वतन्तता संग्राम’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेहरू स्वतन्त्र भारतको पहिलो प्रधान मन्त्री पनि भए। तर यहाँ कुरा गर्न थालिएको भने इन्दिरा गाँधीको हो । इन्दिरा गाँधीको पृष्ठ भूमि प्रजातान्त्रिक थियो। उनको पिताले अंग्रेजहरुको निरंकुश शासन व्यवस्थाको विरोधमा संघर्ष गरेका थिए। इन्दिरा गाँधी स्वयं पनि निर्वाचन पद्धतिद्वारा भारतको प्रधान मन्त्री भएकी हुन । कुनै शैनिक बिद्रोहद्वारा उनी प्रधान मन्त्री भएकी थिइनन। तर उनको शासनकाल शैनिक शासनकाला भन्दा कम थिएन। इन्दिरा गाँधी एक निरंकुश शासक भएर निस्किन। स्वतन्त्र भारतको इतिहासमा इन्दिरा गाँधीको शासनकाललाई निरंकुशताले भरिएको मानिन्छ। आफ्नो विरोधीहरूको कुरा नसुन्ने र जहिले पनि आफ्नो प्रशंसा गर्नेहरुको घेराभित्र रहन रुचाउने इन्दिरा गाँधीले आफ्नो शासनकालमा भारतका अनेक प्रभावशाली प्रजातन्त्रवादी नेताहरूलाई जेलमा बन्द गरिन। सिखहरूको अति पवित्र धार्मिक स्थल ‘स्वर्ण मन्दिर’ (गुरुद्वारा, अमृतसर, पञ्जाब, भारत) मा शैनिक कार्यवाही गरिन। उक्त धार्मिक स्थल भित्र भएका बिद्रोहीहरूलाई नियन्त्रणमा लिने अन्य बैकल्पिक तरिकाहरू भएता पनि तिनको प्रयोग नगरेर पवित्रस्थलमा सेना परिचालन गरेकोमा गाँधीको तिब्र आलोचना भएको थियो। इन्दिरा गाँधीको शासनकालमा सर्वधिक विवादित रह्यो उनले लागू गरेको ‘इमरजेन्सी’ काल। हुनत इमरेन्जी आधिकारिक रुपमा तत्कालीन राष्ट्रपति फख्रुदिन अली अहमदको आदेशमा जारि भएको थियो तर त्यो इमरजेन्सी इन्दिरा गाँधीको आग्रहमा राष्ट्रपतिद्वारा जारि भएको थियो। भारतमा२१ महिना (२५ जुन १९७५ देखि २१ मार्च १९७७) कायम रहेको उक्त इमरजेन्सीमा ठूलो मात्रामा मानव अधिकारको हनन भएको थियो। प्रेस माथि प्रतिबन्ध, नसबन्दी, चुनाव स्थगित, विरोधीहरूलाई जेल चलान जस्ता अनेक घटनाहरू इमरजेन्सी कालमा भएका थिए। इन्दिरा गाँधीको शासन कालको ‘इमरजेन्सीबाला भारत” का भुक्तभोगीहरू त्यो कालखण्ड सम्झेर अहिले पनि डरराउँ छन्। प्रजातान्त्रिक नेता इन्दिरा गाँधी कसरी तानाशाह हुन पुगिन? अब नेपाली सन्दर्भमा कुरा गरौ। शेरबहारदुर देउवाको पृष्टिभूमि पूर्ण रुपमा प्रजातानत्रिक हो। नेपाललाई निरंकुश पञ्चायती व्यवस्थाबाट मुक्त गराउन उनले ठूलो संगर्ष गरेका छन। लामो समयसम्म जेल बसेका छन। देशको लागि, प्रजातन्त्रका लागि ठूलो त्याग गरेका छन्। तर तिनै देउवा किन घरी घरी नेपालको प्रधान मन्त्री हुन चाहन्छन? उनका समकालीन वा दोस्रो पुस्ताका व्यक्तिलाई प्रम बनाउन किन चाहँदैनन? जबकी देउवा चारपटक (सन् १९९५, २००१, २००४, २०१७ प्रम भइसके। शक्तिको आनन्द भरपूर रुपमा लिइसके। देउवाले त खासमा अब राजनीतिबाट सन्यास लिनु पर्ने हो र अमेरिकाका भूतपूर्व राष्ट्रपति जिम्मी कार्टर जस्तो समाज सेवामा लाग्नु पर्ने हो। देउवाको चुनाव क्षेत्र डडेलधुरा शिक्षा, स्वास्थ्य, अर्थको क्षेत्रमा अझै निकै पछाडि छ। डडेलधुरा पुगेर देउवा त्यस क्षेत्रको विकासमा लाग्नु पर्ने हो। होइन र? तर यसको विपरित देउवा काठमाडौमा बसेर किन जहिले पनि प्रमको पद ताकी बस्छन? प्रजातान्त्रिक नेताहरू तानाशाह वा निरंकुश कसरी हुन्छन भन्ने कुरा थाहा पाउनका लागि सम्बन्धिति समाजको व्यवहार वा मनोविज्ञान बुझ्न आवश्यक छ। एकै पटक मूल विषयमा प्रवेश गरेर कुरा गर्ने हो भने नेताहरूलाई वा प्रजातान्त्रिक नेताहरूलाई निरंकुश बनाउनमा ती नेताहरूका आसेपासेहरूको ठूलो भूमिका हुन्छ। यी आसेपासेहरूलाई परजीवी (उबचबकष्तभ) पनि भन्ने गरिन्छ। यी परजीवीहरू आफू सत्तामा पुग्दैन वा पुग्न चाँदैनन तर कसैलाई सत्तामा पुर्याएर आफूहरूले ठूलो फाइदा लिन खोज्छन। यसरी ठूलो फाइदा लिन खोज्ने यी परजीवीहरूले आफूले सत्तामा पुर्याएको व्यक्तिलाई लामोसमयसम्म सत्तामा राख्न अनेक षडयन्त्र गर्छन। यी परजीवीहरूको बलले गर्दा नै प्रजातान्त्रिक नेताहरू लामो समसयसम्म सत्तामा टिक्छन। र त्यसरी लामो समयसम्म सत्तामा टिक्ने क्रममा तानाशाह हुन पुग्छन। परजीबीहरूले आफ्नो स्वार्थ (सत्ताको फाइद लिन) सिद्धि का लागि नेताहरूलाई तानाशाह बनाउने गर्छन । परजीवीहरूको प्रकृति विशेष किसिमको हुन्छ। यिनीहरू तिक्ष्ण बृद्धिका हुन्छन। नेताहरूलाई तानाशाह बनाएर आफूले भरपूर फाइदा लिने क्रममा यिनीहरूले यस्तो परिबन्ध मिलाएका हुन्छन कि आफूले तानाशाह बनाएको नेताले अत्यचार गर्दा त्यो आत्याचारको भागिदार स्वयं त्यो नेता नै हुन पुग्छ। अर्थात त्यो नेताले गरेको अत्याचारको भागिदार परिजीवीहरू हुनु पर्दैन। परिजीवीहरू जहिले पनि पर्दाको पछाडि हुन्छन। अगाडि हुँदैनन र यो कारणले गर्दा बाहिरका मान्छेहरूले परजीवीहरुले देख्न पानि सक्तैनन। केही अपवाद बाहेक परिजीवीहरू कहिले पनि चर्चामा आउँदैनन तर सत्ता र शक्तिको ठूलो आनन्द भने खुब लिन्छन । रोबर्ट मुगावी हुन, फर्डिनान्ड मार्कोस हुन, इन्दिरा गाँधी, यी सबै आफ्नो समयमा यस्तै परजीबीहरूबाट घेरिएका थिए। यति बलियो गरी घेरिएका थिए कि यिनीहरू त्यो घेराबाट बाहिर आउन सकेनन। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी जस्ता नेताहरूले आफूलाई यस्ता परजीबीहरूबाट सदा टाढा राख्ने प्रयास गरे । माधव नेपाललाई पुनः प्रम हुन उकास्ने, प्रम ओलीलाई थप निरंकुश हुन सल्लाह दिने, देउवालाई पाँचौ पटक प्रम हुन प्रोत्साहित गर्ने तिनै परजीवीहरू हुन। परजीवीहरूको मूल उद्देश्य नै अरूलाई सक्तिमा पुर्याएर, शक्तिमा लामोसमयस्म राखेर आफूहरूले चरम आनन्द लिनु हो। दीर्घ आनन्द लिन। ज्यादै विवेकी, सभ्य र शिक्षित समाजमा व्यक्तिहरूले आफ्नो योग्यताको उपयोग गर्दै, आत्मनिर्भर हुँदै, कसैको चाकडी नगरी स्वतन्त्र किसिमले जीवन निर्वाह गर्ने बाटो रोजेका हुन्छन तर हाम्रो जस्तो समाजमा धेरै व्यक्तिहरूले परजीवी (जस्तै पशुहरूको शरीरमा किरा बसेझैं) जीवन पद्धति रोजेका हुन्छन । हाम्रो (विकासशील मुलकको) राजनीतिमा परजीवीहरूको ठूलो भूमिका हुन्छ। यिनीहरूले राजनीतिको दिशासम्म परिवर्तन गरिदिने हैसियत राख्छन। कुनै समयमा (गुजरातको मुख्य मन्त्री हुँदा) ज्यादै लोकप्रिय रहेका भारतीय प्रम मोदीको लोकप्रियता अहिले खस्कंदो स्थितिमा छ। बाहिरका व्यक्तिहरूको कुरा सुन्न कम र आसेपासे (परजीबी) हरूको कुरा सुन्न बढी गर्ने हो भने मोदीको स्थिति पनि इन्दिरा गाँधीको जस्तो हुन सक्छ । समस्या कहिलेकाहिं मोटो मुनी हुन्छ। बाहिरी सतहमा हुँदैन। त्यसकारण देखिंदैन। हाम्रा प्रजातान्त्रिक नेताहरूलाई निरंकुश एवं तानाशाह बनाउने तत्वहरू पनि देखिंदैनन तर यी परजीवीहरूले हाम्रा नेताहरूलाई निरंकुश एवं तानाशाह तुल्याउनमा ठूलो भूमिका खेलेका हुन्छन। तर यसको अर्थ तानाशाह एवं निरंकुश हुनमा स्वयं नेताहरूको भूमिका हुँदैन भन्ने होइन, उनीहरूको पनि भूमिका हुन्छ तर उनीहरूलाई तानाशाह एवं निरंकुश हुन परजीवीहरूले उत्प्रेरित गर्छन। स्थिति सहज परिदिन्छन।

ताजा अपडेट

खोजी गर्नुहोस