समाज बिनाको मानिसको जीवन कल्पना गर्न सकिदैन । मानिस विवेकशील र सचेत प्राणीमा पर्छ । समाजमा एक अर्कासित मिलेर बस्नु र पर्दा एकले अर्कालाई मद्दत गर्नुकै लागि भए पनि समाजको आवश्यकता परेको हो । जिउँदाको जन्ती र मर्दाको मलामी भनेर छिमेकीलाई भन्नु चाहिँ छिमेकी र समाजको महत्व दर्शाउनकै लागि हो भन्ने बुझ्नु आवश्यक छ । मानिस र अन्य प्राण्ीमा यतिले फरक छ कि मानिसलाई समाजबिनाको कल्पना असम्भव छ भने अन्य प्राणीलाई समाजको आवश्यकता नपर्न पनि सक्छ । यति महत्वपूर्ण हाम्रो लागि हुदाँ हुदै पनि त्यसप्रति सबैको सोच भने सकारात्मक देखिदैन् । केही यस्ता तत्वहरु सृजना भैदिन्छन् जुन यस विकासको बाधक बन्न सक्दछ ।
समाजमा हरेक किसिमका जातजाति, सम्प्रदाय, धर्मका मानिसहरु बसोबास गर्दछन् । समाजलाई पछाडि पार्ने तत्वहरु छुवाछुत, अन्धविश्वास, कुरीति, अशिक्षा, भेदभाव जस्ता कुराहरु छन् । आज पनि अनेकन प्रयासको बावजूद पनि हाम्रो समाजमा छुवाछुत छँदैछ । छुवाछुत मुक्त समाज बनाउन विभिन्न संघसंस्थाको ठूलो योगदान रहेको छ । चेतनशील मानिसको ठूलो भूमिका छ । शिक्षाले साँच्चै विशिष्ट भूमिका खेलेको छ । रोजगारी तथा यातायात र सञ्चारको पनि छुवाछुतलाई नियन्त्रण गर्न कम महत्वपूर्ण भूमिका रहेको छैन । तथापि पहिलेको अवस्था हेरी अहिले धेरे कमी आएको चाहीं पक्कै पनि हो । प्राय पूजापाठ, धर्मकर्म बाहेक अन्य सामान्य अवस्थामा सबै एक ठाउँमा बस्ने खाने, व्यवहारका कामकुरो गर्ने गरिरहेका छन् मान्छेले । धर्मको नाममा पनि विभेद नभएको होइन । कतै कतै त दुई धर्मावलम्बीबिच झैझगडा पनि भएको पाइन्छ अन्य देशमा । एकै धर्म मान्ने समुदायबीच पनि माथिल्लो जात र तल्लो जात भनेर विभेद गर्नेहरु अझै पनि रहेका छन् । कतै कतै अझै पनि दलित समुदायका मानिसलाई अहिले पनि मठ मन्दिरमा पस्नबाट रोकेको पाइन्छ र यसरी पस्यो भने अनेक नराम्रो मान्ने गरिएको पाइन्छ तर कतै कतै मान्छेले यसलाई सामान्य रुपमा बिस्तारै लिन थालेको देखिन्छ ।
यद्यपि सामाजिक विभेदकै कारण अझै पनि कतै कतै अङ्खभङ्ख हुने गरी नै सजाय दिएको पनि विभिन्न मिडियामा आएको कुरो हामीले देखिरहेका र सुनिरहेका पनि छौ । हामीले हाम्रो धर्म र संस्कृतिलाई मान्नु पर्दछ तर संस्कृतिमा पनि विकृति भित्रिन थालेको देखिन्छ । संस्कृतिको नाममा अहिले भित्रिएको आधुनिकताले हरेक चाडबाडलाई महँगो बनाइदिएको छ । प्राय खान कमाउन सक्नेले धेरै खर्च गर्ने चाडबाडलाई भड्किलो बनाउने, महगो खाने, महगो लाउने तर जो गरिब छन् जसलाई बिहान बेलुकी हात–मुख जोर्न गाह्रो छ उसले ऋण गरेर भए पनि चाडबाड मान्नु पर्ने बाध्यता छ । समाजमा आफ्नो इज्जत राख्नका लागि भए पनि उसले ऋण गर्छ र चाडबाड मनाउँछ । भोलिपल्टदेखि ऊ साहुको ऋण तिर्न बाध्य हुन्छ । त्यस्ता परिवारले आर्थिक उन्नति गर्न ज्यादै गाह्रो पर्छ र हाम्रो समाज विकासको नाममा पछाडि पर्छ । कम खर्चमा सामान्य तरिकाले काम गरेर दुई पैसा बचाउन सक्ने र ऋणको चपेटाबाट मुक्त रहनेले आर्थिक उन्नति गर्न सक्छन् र जब मान्छे आर्थिक रुपमा सक्षम हुन्छ तब ऊ अगाडि बढ्न सक्छ । साथै समाजले पनि अगाडि बढ्ने मौका पाउँछ ।
हामी नेपालीहरुको लागि सौभाग्य भनौं वा दुर्भाग्य भौगोलिक कारणले गर्दा पनि कतै पातलो बस्ती त कतै घना बस्ती छ । त्यसै अनुसारको त्यहाँको विकास पनि छ । विकासका सम्भावनाहरु हुदाँहुदैं पनि विकास पुग्न सकेको छैन । शुद्व पानी अहिले पनि खान नपाउनु, बाढीको समयमा ज्यानै जोखिममा पारेर आवतजावत गर्नु, बिजुलीको उज्यालो पाउन नसक्नु, सिटामोल, जीवनजल समेतको सामान्य औषधी पनि उपलब्ध हुन नसक्नु दुर्भाग्यकै कुरो हो । कतै – कतै भौगोलिक विकटताले गर्दा र दक्ष जनशक्तिको अभावमा पनि हामी विकासको नजिक पुग्न सकिरहेका छैनौ । बाटो शुलभ उपलब्ध नहुनु, यातायातको साधनमा कठिनाई यी विभिन्न कारणहरु छन् जसका कारण हामी विकासमा ठगिएका छौं भने समतल भूभाग भएको तराईमा विकासका पूर्वाधारहरु हुदाँहुदै पनि यहाँका आफ्नै किसिमका समस्याहरु छन् जसका कारण तराई विकासमा पछाडि छ । विद्यालय छन् पर्याप्त शिक्षक छैनन् शिक्षक छन् आफन्तै पर्ने । अस्पतालहरु पर्याप्त मात्रामा छन् तर रोगी पुग्दा औषधी छैन र महगो मूल्य तिरेर किनेर औषधि खानु पर्ने बाध्यता छँदैछ । बाटोघाटो, यातायात यावत कुराहरु कतै छन् तर काम लाग्ने छैनन् कतै छैनन् नभएकोमा दुःखी हुनु । हरेक वर्ष उही बाटो बनाउने, मरम्मत गर्ने, विस्तार गर्ने, ढलान गर्ने, मरम्मत गर्ने र फेरि बनाउने काम भइरहेको हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ । एउटै योजनामा निरन्तर खर्च भइरहेको नदेख्ने सायदै कोही होलान् ।
चुनावको समयमा उम्मेदवारहरुले धेरै खर्च गर्दछन् । वास्तवमा चुनावमा गरिएको खर्चलाई लगानीको रुपमा नेताहरुले बुझ्ने गरेका छन् । हार्नेले चुनावपछि उपभोक्ता समिति बनाएर खर्च उठाइरहेका हुन्छन् भने जित्नेले त अनेक योजना बनाएर रकम फिर्ता लिइरहेका हुन्छन् । अनि चुनावपछि विकासको आशा गर्नु पनि कसरी ? चुनाव जति – जति नजिकिन्छ गाउँघरतिर उति – उति भोजभात र खर्च गर्ने काम बढ्दै जान्छ । जसको परिणाम जितेर गएकाहरु आफ्नो खर्च निकाल्नतिर ब्यस्त हुन्छन् । विकासको नाममा लुट छ । एउटा सर्वसाधारणको छोरोले जागिर खानका लागिदेखि सरुवा बढुवासम्म खर्च नगरेसम्म उसले नजागिर पाउँछ न त सरुवा बढुवा नै । हरेक काममा घुसखोरी । साधारण एउटा काममा पनि खर्च नगरेसम्म सर्वसाधारण जनताले काम गराउन सकिरहेका छैनन् । यस्तो दुःख लाग्ने कुरो । अब त गुणीभन्दा ठुलो धन रुपैया पैसा भएको छ रुपैया पैसाले जस्तोलाई पनि गुणी बनाउन सक्ने क्षमता राख्दो रहेछ । यस्तो अवस्थामा विकासको कस्तो कल्पना गर्ने त हामी ?
हामी विदेशको कुरो गर्छौ तर उसको नीति, नियम, दण्ड, सजाय, नैतिकता, जिम्मेवारी, लगानी हेर्दै नै र हरेक कुरामा नक्कल गर्न खोज्नु पनि मात्र हाम्रो नैतिकता होइन । हामी रातारात धनी बन्ने सपना देख्छौं तर विदेशमा हरेक कुरो यहाँको भन्दा फरक छ । हामी कहाँ जागिर खाने सबै आफ्ना आसेपासे हुन्छन् । कुनै अवसर आयो भने त्यो प्राप्त गर्ने पनि हाम्रा मान्छे । यसरी राम्रोभन्दा हाम्रो मुखी भएको देशको विकास कस्तो होला हामी अनुमान लगाउन सक्छौं । ऐन, संविधानमा ठूला–ठूला कुरा गरेर हुदैंन ती कुराहरु व्यवहारमा देखिनु पर्यो । विकासमा हामी धेरै पछाडि पर्नुको कारण हाम्रो सोच पछाडि पर्नु हो । कसैले काम गर्न खोज्यो भन उसको खुट्टा तार्नेहरु अनेक भइदिन्छन् । जसले गर्दा काम गर्न खोज्नेको पनि काममा मन लाग्दैन । हामी कसैले राम्रो गरेको नक्कल गर्न जान्दैनौ तर कसैले खराब केही गरिरहेको छ भने हामी छिट्टै गर्न अघि सर्छौं । देशको अर्थतन्त्रलाई मासेर, देशलाई ऋणमा पारेर हामी स्वार्थमा लाग्छँौ भने त्यो एकदमै गल्त काम हुन जान्छ । सबैले आफ्नो कर्तव्य बुझौं । जनताले पसिना चुहाइ–चुहाइ कमाएर तिरेको करको सही प्रयोग होस् बिचौलियाहरुको कारण देश नडुबोस् । देश अगाडि बढे हामी बढ्छौ, देश रहे हामी रहने छौ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ । केही बाधा अड्चनले गर्दा हाम्रो देश पछाडि पर्नु हँुदैन । यस्ता बाधक तत्वको अन्त्य हामी सबै मिलेर गर्नु पर्छ । देशप्रतिको आफ्नो कर्तव्य हामी सबैले बुझौं । देश विकासको बाटोमा लम्कोस् ।