रमेश कुमार यादब
भदौं २७, रौतहट
बृन्दावनको बलरी खोरमा स्यालको टोकाईबाट ३ वटा पशु चौपायाको मृत्यु भएको छ । रौतहट जिल्लाको वृन्दावन नगरपालिका स्थित बलेरी खोरमा स्यालको आक्रमणबाट ३ वटा गाईको मृत्यु भएको छ भने दर्जनौं गाईहरू घाइते भएका छन् । यो घटना वृन्दावन नगरपालिका वार्ड नं. १ बलरी खोर बस्ने स्थानिय लालबाबु यादव र नवराज हुमागाईको गाईको बथानमा भएको हो । स्यालको टोकाईका कारण गाईहरु गम्भीर घाइते भएका थिए जसमा ३ वटा गाईको ज्यान गएको हो। स्यालको आक्रमणले गाईहरूमा ठूलो क्षति पुर्याएको छ, जसका कारण स्थानीय किसानहरूमा त्रास फैलिएको छ ।
घटनापछि नगरपालिकाले घाइते गाईहरूलाई उपचारका लागि तत्काल कदम उठाएको छ ।वृन्दावन नगरपालिकाको पशु सेवा शाखाका प्रमुख ओम प्रकाश मूलका अनुसार, गाईहरुलाई स्यालले रातको समयमा आक्रमण गरेको थियो। सोही आक्रमणका कारण गाईहरुको मृत्यु भएको हो भने अन्य गाईहरुमा स्यालको टोकाईबाट रेबिजको संक्रमण हुने सम्भावना देखिएको छ । नगरपालिकाका पशु सेवा शाखाले घाइते गाईहरुको उपचारको लागि विश्रामपुरबाट निःशुल्क रेबिज विरुद्धको भ्याक्सिन उपलब्ध गराइरहेको छ ।
नगर प्रमुख बिनोद प्रसाद कुर्मीले स्यालको आक्रमणबाट बच्नका लागि विभिन्न उपायहरु अपनाइने जानकारी दिएका छन्। उनले गाईपालक किसानहरुलाई आफ्ना पशुहरुलाई सुरक्षित ठाउँमा राख्न, बथानलाई रातको समयमा राम्रोसँग बन्दोबस्त गर्न र आवश्यक परेमा संरक्षणका लागि थप उपायहरु अवलम्बन गर्न सुझाएका छन् ।
साथै, नगरपालिकाले स्यालको आतंकलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउँदै, स्यालका बासस्थान र तिनको आहारमा सुधार गर्ने उपायहरुमा पनि ध्यान दिने बताएका छन्। यस घटनाले स्थानीय पशुपालकहरुमा त्रासको अवस्था सिर्जना गरेको छ। प्रभावित किसानहरुले आफ्नो गाई गुमाउँदा ठूलो आर्थिक क्षति भएको बताएका छन्। साथै, नगरपालिकासँग तत्काल राहतको माग गरेका छन्। साथै, नगरपालिकाले वन्यजन्तु विशेषज्ञहरूसँग समन्वय गरी स्याल नियन्त्रणका लागि दीर्घकालीन उपायहरू खोजिरहेको छ ।