आज असार महिनाको शुक्ल पक्षको एकादशी । हिन्दू संस्कृतिमा अत्यन्त महत्व राख्ने दिनको रुपमा आजको दिनलाई लिइन्छ । के मान्यता रहेको छ भने आजको दिन भगवान श्रीविष्णु जलमा प्रवेश गरी चार महिनासम्म विश्राम गर्दछन् । आज भगवान श्रीविष्णु जलमा शयन गर्ने हुनाले आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिएको हो । सबैलाई ज्ञात छ हरि भनेका विष्णु नै हुन् । विष्णुलाई जगत्को पालनहार पनि मानिन्छ । आजको दिन विश्राम गरी कात्तिक शुक्ल पक्षको एकादशीको दिन भगवान श्रीविष्णु जलबाट बाहिर आउँछन् । यही बिचको अवधि चार महिनाको हुन्छ र चार महिनाको समयलाई समुच्यमा चतुर्मास भनिएको हो ।
यस चतुर्मासको अवधिमा हिन्दू संस्कृतिमा अनेक विशिष्ट पर्वहरु आउँछन् । भगवान शिवको मन पर्ने महिना साउन पनि यसै चतुर्मासमा नै पर्दछ । पितृहरुको तर्पण गरिने पितृपक्ष तथा शक्तिको आराधना गरिने मातृपक्ष यसै अवधिमा आउँछन् । हाम्रो लोकजीवनको सर्वाधिक ठूलो पर्व लोक महापर्व छठ, संसारलाई उज्यालोमा नुहाउने दीपावली, भाइटीका वा भैयादूजजस्ता अनेक पर्वहरु यस अवधिका सांस्कृतिक सम्पदा हुन् । यसै गरी यदि परम्परागत लोकजीवनलाई हेर्ने हो भने जरजटिन, झिँझिया, समाचकवा पनि यसै अवधिका उपज हुन् । वर्षभरिका सम्पूर्ण सांस्कृतिक सामाजिक उत्सवहरुलाई विचार गर्ने हो भने अधिकांश यसै चतुर्मासको अवधिका पर्ने देखिन्छ ।
हिन्दू संस्कृतिमा विश्वास गर्ने तथा संस्कृतिलाई मान्नेहरुले आजको दिनलाई विशिष्ट दिनको रुपमा लिने गर्दछन् । प्रमुख तीर्थहरुमा आजको दिन मेला लाग्ने गर्दछ । नेपाली संस्कृतिमा आजको दिन तुलसी रोप्ने चलन छ । आज रोपेको तुलसीको पूजा कात्तिकमा गरिन्छ । भगवान श्रीविष्णु जलशयन गरेपछि विष्णुको प्रतीकको रुपमा पनि कतिपयले तुलसीको पूजा गर्दछन् । तुलसीको वैज्ञानिक महत्व पनि उत्तिकै रहेको छ । यसर्थ आजको दिन हरेकले घरमा तुलसी रोपौँ र स्याहार पनि गरौँ । भगवान श्रीविष्णुप्रति श्रद्धा हुनेले चतुर्मासको अवधिलाई श्रद्धामय बनाऔँ । आजको दिनको सम्पूण हिन्दू समुदायमा शुभकामना छ ।
चतुर्मास र हाम्रो संस्कृति
