वर्तमानकाल सम्वाददाता
बैशाख २२ गते ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालमाथि भएको कुटपिटको विरोधमा आइतबार नगरपालिकाका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधी सेवा प्रवाह गरेका छन्। कार्यालय समयभर उनीहरुले कालोपट्टी बाँधेरै नियमित कामकाज जारी राखे। गत वैशाख १६ गते प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई सिम्रौनगढ नगरपालिका नगर प्रमुख किशोरी साह कलवार र उनका समर्थकले कुटपिट गरेको आरोप लागेपछि कर्मचारीहरु आन्दोलित बनेका हुन्।
घटना आदर्शकोतवाल गाउँपालिकाको कोतवाली चोकस्थित जानकी आयल नजिक नगर प्रमुखको निवासमा भएको बताइएको छ। जयसवालले कानुन विपरीत भुक्तानी गर्न नमानेपछि आफूलाई कुटिएको बताएका छन्। घटना पश्चात् आक्रोशित कर्मचारीहरूले विगत बिहीबारदेखि नगरपालिकाको मुख्य गेटमा तालाबन्दी गर्दै सम्पूर्ण प्रशासनिक सेवा ठप्प पार्दै आएका थिए।
आन्दोलनरत कर्मचारीहरूले नगर प्रमुख कलवार र उनको साथ दिने समर्थकहरूमाथि कानूनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले यस्तो अमर्यादित कार्यले समग्र स्थानीय प्रशासनको गरिमा खल्बल्याएको र निजामती कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
यता, नगर प्रमुख किशोरी साह कलवारले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै “कुनै कुटपिट भएको छैन, झूठा आरोप लगाइएको हो“ भन्ने प्रतिक्रिया दिएका छन्। घटनाले सिम्रौनगढको स्थानीय प्रशासनमा चर्किएको तनाव अझै कायम रहेको छ।