रमेश कुमार यादब
बैशाख २४, रौतहट
रौतहट जिल्लाको मध्यभागमा अवस्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट, गरुडा पछिल्ला दिनमा ट्राफिक नियमको उल्लंघन रोकथाम तथा सडक दुर्घटना न्यूनीकरणका लागि थप सक्रिय बनेको छ । पछिल्लो समय सडकमा सवारी चाप बढेसँगै दुर्घटनाको सम्भावना बढेपछि ट्राफिक प्रहरीले गरुडा नगरपालिका वडा नं. ४ स्थित मेथुर चौकमा सवारी चेकजाँचलाई कडाइका साथ अघि बढाएको हो ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीको निर्देशनमा र ट्राफिक प्रहरी पोष्ट गरुडाका ट्राफिक प्रहरी सहायक निरीक्षक रामबलि महतोको कमान्डमा खटिएको टोलीले मेथुर चौधरी चौकमा ३०–३५ भन्दा बढी सवारी साधनको कडाइका साथ जाँच गरेको छ । सवारी चलाउँदा ट्राफिक नियम उल्लंघन गर्ने, जस्तै हेल्मेट नलगाउने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नबोक्ने, बिलबुक तथा बीमा कागजात नलिएर हिँड्ने, तीव्र गतिमा सवारी चलाउने जस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अनुसार जरिवाना गरिएको जनाइएको छ ।

यता इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीका अनुसार ग्रामीण भेगमा ट्राफिक नियमको जानकारी न्यून भएकाले यस्ता समस्याहरू बढ्दो अवस्थामा छन् । “मानिसहरूले हेल्मेट नलगाउने, कागजात नबोक्ने जस्ता लापरवाही गरेका छन्, जसले गर्दा दुर्घटना बढेको छ,” डिएसपी कार्कीले बताए । डिएसपी कार्कीका अनुसार सबैभन्दा धेरै दुर्घटना मोटरसाइकल प्रयोगकर्तामाझ हुने गरेको छ र त्यसमा पनि हेल्मेट नलगाएका कारण मृत्यु हुने संख्या बढ्दो छ ।
डिएसपी राजन कार्कीले भने, “यो क्षेत्र ग्रामीण भएकाले अधिकांश मोटरसाइकल चालक हेल्मेट नलगाई, बिलबुक तथा लाइसेन्स विना गाडी चलाउने प्रवृत्ति बढ्दो छ । यसरी लापरवाही गर्दा दुर्घटनाको सम्भावना झन् बढ्छ ।” उनले थपे, “चेकजाँचको क्रममा कतिपय जनप्रतिनिधिहरुको दबाव समेत आइरहन्छ कि ‘यो मेरो मान्छे हो, छोडिदिनुपर्छ’, तर हामी नियममा कुनै प्रकारको सम्झौता गर्न सक्दैनौं।” उनका अनुसार पछिल्ला वर्षहरूमा रौतहटमा भएका मोटरसाइकल दुर्घटनामा मृत्युकालगि सबैभन्दा ठूलो कारण हेल्मेट नलगाएको रहेको छ ।

त्यसैले हेल्मेट अनिवार्य गर्न प्रहरी प्रशासनले व्यापक अभियान चलाएको छ । तर दुर्घटना भएमा तिनै प्रतिनिधिहरु उल्टै प्रहरीप्रति प्रश्न गर्छन् ।” सवारी चेकजाँचका क्रममा कतिपयलाई ट्राफिक नियमका बारेमा जानकारी दिइ सम्झाइ–बुझाइ गरिएको र पहिलो पटक गल्ती गर्नेहरूलाई चेतावनी दिएर छोडिएको पनि ट्राफिक सहायक निरीक्षक महतोले जानकारी दिए । गरुडा सडक खण्ड हुँदै गौर, शिवनगर लगायतका ठाउँमा दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने भएकाले यो क्षेत्र ट्राफिकका हिसाबले अति व्यस्त छ ।
यस्तो अवस्थामा ट्राफिक प्रहरीको काम अझ कठिन भएको महतोले बताए । उनले ग्रामीण भेगका चालकहरूलाई ट्राफिक सचेतना अभिवृद्धि गर्न आवश्यक रहेकोमा पनि जोड दिए । ट्राफिक प्रहरी पोष्ट गरुडाले आगामी दिनहरूमा अझ व्यापक रूपमा ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन गर्ने, विद्यालय तथा स्थानीय निकायसँग समन्वय गरेर जनचेतना फैलाउने योजना बनाएको छ ।

सवारी दुर्घटना हुनुको मुख्य कारण के हो ? प्रश्न गर्दा “अनियंत्रित गतिमा सवारी चलाउने , मादक पदार्थको सेवन,क्षमता भन्दा बढी लोड गरेको सवारी तथा ट्राफिक नियमको उलंघन गर्ने सवारीहरु बढी दुर्घटनामा पद्छ्र्न”अस्थायी ट्राफिक पोष्टका असई महतोले बताएका छन् ।यसलाई नियन्त्रण गर्न चेकजाँचमा कडाइ गर्ने,ट्राफिक नियमको उलंघन गर्ने सवारीहरुलाई जरिवाना गर्ने ,नियन्त्रणमा लिने जस्ता अभियान संचालन गरेर सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ भनेर बताएका छन ।