सर्लाही,११ श्रावण। सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१७ स्थित रानिगन्जमा आइतबार एक वृद्धको शव फेला परेको छ। पूर्व–पश्चिम राजमार्गको साहेबगन्जतर्फ मोडिने चोकमा रहेको चौतारामा ती वृद्ध मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
शवको पहिचान सुरुवातमा हुन नसकेको भए पनि पछि ती वृद्ध मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका–७, गच्छिया टोल निवासी ६५ वर्षीय धनबहादुर कार्की भएको पुष्टि भएको छ। प्रहरीका अनुसार मृतकका ज्वाइँले घटनास्थलमा आएर शवको सनाखत गरेका थिए।
बटुवाहरूले चौतारामा बेवारिसे अवस्थामै वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानमा वृद्धको मृत्यु स्वाभाविक देखिएको छ। घटनास्थलको प्रकृति परीक्षण गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ।


