पोखरा,११ श्रावण। झण्डै ७६ लाख नगदसहित पोखराबाट ३ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दियो ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर न.पा. १३, हाटबजारका महमुदिन एम अहमद, झापा दमक नगरपालिका ४ घर भई हाल पोखरा ६, बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा १९, पुरनचौरका खेमराज पौडेल छन् ।
उनीहरुको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो । पक्राउ परेकाहरू लामो समयदेखि संगठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको खुलेको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ । सबैजनालाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने ओलियाले बताए ।


