रौतहट भाद्र – २५
तराई मधेसमा मनाईने चैठचन्द्र (चौरचन) पर्व आज मनाइँदैछ । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टीको आधार मानिएको छ । यही विश्वासले मधेसी समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्यरूपले विचार गर्ने चलन रहेको छ ।
मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको देखिन्छ । चन्द्रमालाई मनको देउता पनि भनिन्छ । ऋग्बेदमा धनको प्राप्ति एवं सूस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ । चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ ।
शारीरिक कान्तिका लागि पनि चन्द्रमाको पूजा गर्ने मान्यता रहेको छ । योग शास्त्रअनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ । यो पर्वलाई ‘चौठचन्द्र’ पनि भनिन्छ । संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो ।
लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ । यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ ।’ हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ ।
निकै आस्थाको रुपमा लिइने सो पर्व आज तराई मधेशको जिल्लामा मनाइँदैछ । भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ । केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ । चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको ब्रतालुहरु बताउँछन् । चौरचनका दिन ब्रतालुहरुले निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई विभिन्न प्रकारका फलफू तथा खीर र पुरी अर्पण गर्ने गर्छन् । यस पर्वमा चन्द्रमाको बिशेस पुजा हुन्छ । गाउँघर बस्तीमा राती सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास रहेको छ । तर, दोष मेटाउन बिग्याँई गर्न पर्ने पुरानो परम्पराभने ठिक नरहेको नयाँ पुस्ताका युवा बताउँछन् । प्रदेश—२ भरि नै उल्लास र भक्तिसाथ मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको पाइन्छ ।