ओम प्रकाश यादव ।
कार्तिक १८ गते ।
रौतहट ।
छठ पर्वको समापनसँगै रौतहट सहित तराई मधेशका जिल्लाहरुमा अहिले समा चकेवा पर्वको रौनकता छाएको छ । तराई मधेसका जिल्लाहरुमा प्रत्येक वर्ष कार्तिक षष्ठी तिथी अर्थात पारनको दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म नाच गान गर्दै महिलाहरुले यो पर्व मनाउने गर्दछन् ।
‘गामके अधिकारी हमर बरकाभइया हो, सामचको सामचको अइहाहो अइहाहो ’जस्ता प्रसिद्घ गीतसंगीतबाट तराइ मधेशमा पारनको दिनदेखी नै समाचकेवाको रौनक चलिरहेको छ । यो पर्वमा माटोबाट बनाईएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, झारु आदि एउटा सानो बासको छैटीमा राखेर टाउको माथि राखेर दिदीबहिनीहरु विशेषगरी रातको समयमा गीत गाउने यो पर्वको विशेषता हो ।
भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामाचकेवा पर्व सहरी क्षेत्रमा लोप हुन थाले पनि ग्रामीण क्षेत्रमा अझै रौनकता बाँकी छ ।
विगतमा हर्षोल्लास पूर्वक मनाइने यो पर्व वर्तमान समयमा सहरी क्षेत्रमा विधि पु¥याउन मात्र मनाउने गरिन्छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकका रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानव लगाएतका मुर्ति बनाएर पुजापाठ गरी मनाईने परम्परा रहेको छ ।
अहिले तराईका अधिकांश गाउँमा र केही सहरमा साँझ पर्नेबित्तिकै बालिका, किशोरी, युवती र महिलाहरू समूह–समूहमा बसेर विभिन्न गीत गाउँदै सामा खेल्न व्यस्त हुने गरेको भेटिन्छ ।
सामा, चकेवा, चुगलाको माटोको विभिन्न प्रतिमा बनाई एवं बजारबाट किनेर बाँसको डालामा राखी साँझको समयमा गाउँका बालिका, युवती र महिलाले विभिन्न गीत गाउने र भाइको दीर्घायुको कामना गर्ने चलन छ ।
खासगरी दाजुभाइसित सम्बन्धित यो पर्वमा माटोको कलात्मक मूर्तिहरु बनाइने गरिन्छ । मूर्ति बनाउन भाइटीकाकै दिन माटो ल्याएर यो पर्वको शुभारम्भ गरिन्छ । छठ पर्वको खरनादेखि मूर्ति बनाउने कार्य शुरु गरी कात्तिक पूर्णिमाको मध्यरात यो पर्व सम्पन्न गर्ने गरेको विशुनपूर्वा मानपुरकी मेनका यादवको भनाइ छ ।
माटोबाट बनाइएका मानव, पशु र चराको मूर्तिहरु काँच अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु एवम मङ्गल कामना गर्ने यो पर्वले एक आपसमा सम्बन्ध प्रगाढ हुने धार्मिक एवम् सांस्कृतिक मान्यता रहिआएको छ ।
१० दिनसम्म चल्ने र पूर्णिमाको ११औँ दिन माटोको विभिन्न प्रतीकलाई भाइको हातबाट फुटाई खनिएको खेत वा वनमा राखी बिसर्जन गरिने सामा भाइको दीर्घायु र स्वस्थको कामना गर्दै मनाइन्छ ।