रौतहट,२८ असोज । नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन पनि हो घटस्थापना ।
आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । हिन्दु धर्मावलम्बीहरुका घरमा जमरा राख्ने गरिएको छ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानापछि दशैंको चहलपहल पनि सुरु हुन्छ ।
दशैंभर हरेक दिन प्रमुख शक्ति पिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पिठमा समेत दुर्गा भवानीको पुजा हुन्छ । त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ ।
शक्तिस्वरूपा दुर्गाभवानीको नौरुप- शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रसिद्ध छ । घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउँदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ ।
माता भगवतीलाई मन पर्ने वनस्पति मध्ये जमरा पनि एक भएकोले अधिष्ठात्री भगवतीलाई खुसी पार्न जमरा उमार्ने गरिन्छ । जलपूर्ण घडा (कलश) स्थापना गरी त्यसको वरिपरि नौ देवीको स्वरूपको प्रतिमूर्ति तयार गरी गाईको गोबरले देवीहरुका वेदीलाई लेपन गरिन्छ । घडाको वरिपरि जौको बिज रोपिन्छ ।
अनि जलपूर्ण कलशमा पञ्चपल्लव पातहरु चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले ध्यानपुर्वक पूजा गरिन्छ । दशैंघर, घटस्थापना स्थलमा दुर्गा, सप्तशति, चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ । आज नजिकको तीर्थस्थलबाट बालुवा मिसिएको पञ्चमाटो ल्याई वैदिक विधिपूर्वक पञ्चधातु, पञ्चपल्लव, जौ र मकै लगायतका बिजहरु छरेर घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्बीले पञ्चमकारसहित तान्त्रिक विधिले माटोमा जौ र मकै छर्छन् ।
घटस्थापनाका दिन राखिएको जमरालाई नवमीको नवरात्री पुजा सकेपछि सम्बृद्धिको प्रतीक मानेर विजयादशमीका दिन टीकासँगै लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।घर शुद्ध भएपछि मात्रै देवीको आगमन हुन्छ भन्ने विश्वासका साथ घटस्थापना अर्थात जमरा राख्नुपूर्व गाउँघरमा भने रातो र कमेरो माटोले तथा सहरमा रङहरुले घर लिपपोत तथा रङरोगन गरिन्छ । घटस्थापनाका दिन काठमाडौँको हनुमानढोकामा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गाको पूजा गरिन्छ ।
घटस्थापनाका दिनदेखि आफ्नो मूलघरबाट टाढा रहेका मानिसहरु दसैँ मनाउन आफ्नो घर फर्कन थाल्दछन् । सहरका बसपार्कहरुमा घर फर्किने मानिसको भिड लाग्ने गर्दछ । बडादसैंको पहिलो दिन घटस्थापना र त्यसपछि फुलपातीदेखि कोजाग्रत पूर्णिमासम्म सरकारी विदा दिइदै आएकोमा यस बर्ष भने नेपाल सरकारले घटस्थापनादेखि नै बडादसैंको विदा दिने निर्णय गरेको छ ।