रौतहट,२९ असोज।
रौतहटको कटहरिया नगरपालिकाले आयोजना गरेको मेयर कप टी-२० को उद्घाटन खेलमा कर्मचारी टिमले विजयी भएका छन्। सोमबारदेखि मेयरकप टी २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । कटहरिया नगरपालिकाले आयोजना गरेको मुयर कप टी-२० प्रतियोगिताको उद्घाटनका खेलमा आज नगरपालिकाको कर्मचारी र जनप्रतिनिधि बिच प्रतिस्पर्धा भएको थियो।
कटहरियाको बालबकैया नदि छेउमा रहेको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मेयर अजय प्रकाश जैसवालले गरेका थिए। उद्घाटन खेलमा कर्माचारी टिमले जनप्रतिनिधिलाई ४६ रनले पराजित गर्दै ठूलो अन्तरले विजयी भएका छन्। टस जितेर पहिला ब्याटिङ गरेको कर्मचारीहरुले निर्धारित १५ ओभरमा ७ विकेटको नोक्सानीमा १११ रन जोडेका थियो ।
कर्मचारी तर्फबाट सबैभन्दा बढी रन बनाउने मनोज साहले ५३ रन जोडेका थिए ।
कर्मचारी टिमका तर्फबाट खेलेका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहले शून्य रनमा पभेलियन फर्किएका थिए। उनले रन लिने क्रममा रन पिच माथि नै लडेका थिए। ओपनिङ्ग गर्न आएका अधिकृत सिंह वडा अध्यक्ष चन्दन कुश्वाहाका बलमा क्लिन बोल्ड भएका थिए।
कर्मचारीले हानेको बल रोक्ने क्रममा मेयर जैसवाल पनि फिल्डमै लडेका थिए। कर्मचारीलाई रोक्न मेयर जैसवालले २ विकेट र वडा अध्यक्ष चन्दन कुश्वाहाले ३ विकेट लिएका थिए।
१११ रनको लक्ष्य पछ्याएको जनप्रतिनिधिहरुले निर्धारित ओभरमा २ बल बाँकी हुँदा अलआउट भएको थियो। जनप्रतिनिधिहरुले अलआउट हुदै ६५ रन मात्रै जोडेका थिए। फिल्डिङमा कमजोर देखिएका जनप्रतिनिधि टीमले ब्याटिङमा पनि उतिकै कमजोर साबित भएको थियो।
कर्मचारी टीमलाई जिताउन मनोज साहको अहम योगदान रहेको छ।ब्याटिङमा उनलेे ५३ रन जोडेका थिए भन्ने बलिङतर्फ ३ विकेट लिएर मैन अफ द मैच बनेका छन्।
मेयरकप टी-२० खेलको शृङ्खलामा असोज ३० गते मंगलबार मकवानपुरको हेटौंडा र पर्साको बिरगंज टिमले भिड्ने भएका छन्। त्यस्तै कात्तिक १ गते सिम्रौनगढ र गौर, २ गते रौतहटको कटहरिया र चपुर, ३ गते रौतहटको गरुडा र बाराको कलैया बिच भिड्न्त हुने आयोजकले बताएका छन्।
त्यस्तै ४ गते पहिलो सेमिफाइनल तथा ५ गते दोस्रो सेमिफाइनल हुँदै ८ गते फाइनल खेल हुने आयोजकले बताएका छन्।
खेलमा प्रथम हुने टिमलाई नगद ७१ हजार रुपैया र दोस्रो हुने टिमलाई ३५ हजार नगद रुपैयाँ प्रदान गरिने खेलको कमेन्ट्री गरिरहेका फिरोज आलमले बताएका छन्।
खेलमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन थालेकाले कटहरिया नगरपालिका क्षेत्रबाट पनि क्रिकेटका खेलाडीहरु उत्पादन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मेयर अजय प्रकाश जैसवालले प्रष्ट पारे।
उनले थपे राम्रो खेलाडी उत्पादन गर्न सके कटहरिया नगरपालिकाको मात्र होइन देशकै क्रिकेट क्षेत्रको मेरुदण्ड सबल हुन्छ। क्रिकेटको विकासका लागि कुनै कसर बाँकी नराख्ने उनले बताए।