सम्वाददाता
माघ ०२ गते,
सन् २००७ मा फिजियोथेरापी स्नातकका लागि अध्ययनका लागि भारतको राजिव गान्धी युनिभर्सिटीमा भर्ना लिएपछि फेयरवेल पार्टीमा एक जना साथीले
रामदेवको योग पढ्न जान लागेको हो ? उस्तै उस्तै होइन र ? भनेर प्रश्न गर्दा मलाई निकै असजिलो महसुस भएको थियो । आज पनि पटक पटक नयाँ साथीभाइ, इष्टमित्र वा छिमेकीलाई म फिजियोथेरापी उपचार गर्छु वा फिजियोथेरापिस्ट हुँभन्दा यो त योग जस्तै हो भन्ने गर्छन् । कतिपय त बिरामी मैले फिजियोथेरापी गर्दा सिकाएका कसरत यो त योगा जस्तै छ । मैले गरिएको छु, टीभीमा बिहान बिहान आउँछ । फलानो गुरुले सिकाउनुभएको भन्ने पनि सुनेको छु । यी र यस्तै प्रश्न तथा परिस्थितिले यो लेख्न प्रेरणा मिलेको पनि हो । विसं २०७२ सालदेखि माघ १ गते योग दिवस मनाइँदै आइएको छ । सो दिनको मौका पारी योग र फिजियोथेरापी बिचको समानता र भिन्नता प्रस्ट्याउने जमर्काे गरेको छु । अन्तर्राष्ट्रिय फिजियोथेरापी दिवस भने हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइन्छ ।
समानता
१. स्वास्थ्य सुधार ः योग र फिजियोथेरापी दुवैको उद्देश्य स्वास्थ्यमा सुधार गर्ने नै हो । योगले आत्मा, शरीर र मनको समन्वय बढाउँछ भने फिजियोथेरेपीले विशेषज्ञद्वारा निर्दिष्ट गरिएका रोग वा लक्षणसम्बन्धित निवारक, निदानात्मक, प्रवर्धनात्मक,
उपचारात्मक र पुनस्र्थापना गर्दछ ।
२.श्वास प्रश्वास तथा ध्यान ः योग र फिजियोथेरापी दुवैले श्वासप्रश्वासको तनावमा सुधार गर्ने पद्धति उपयोग गर्दछन् । योगले विशेष असन, प्राणायाम र ध्यान गराउँछ । तर फिजियोथेरापीले विभिन्न व्यायाम र श्वास नली निकासका उपाय प्रदान गर्दछ ।
३.कार्यक्षमतामा सुधार ः योग र फिजियोथेरापीले अवस्थितिको सुधार गर्ने लक्ष्य राखेका छन् । यी पद्धतिले शरीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलित बनाएर
रोगीलाई शक्तिशाली बनाउँछन् । दुवै पद्धतिले जीवनको गुणस्तरलाई स्तरीय बनाउन कार्यक्षमतामा उल्लेखनीय सुधार गर्न सहयोग गर्दछ ।
भिन्नताः
१.चिकित्सकीय धारा ः योग एक पारम्परागत चिकित्सा पद्धति हो । यो सनातन धार्मिक विधिका रूपमा जानिएको छ । तर फिजियोथेरापी एक आधुनिक चिकित्सा पद्धति हो । यो वैज्ञानिक अध्ययनमा आधारित छ । नेपाल सरकारले
फिजियोथेरापीलाई एलोप्याथिक चिकित्सा प्रणाली अन्तर्गत राखी स्वास्थ्य सेवा नियमावली २०५५ मा छुट्टै समूह उल्लेख भए पनि योगको कुनै समूहमा उल्लेख्य
नरहेको पाइन्छ । यद्यपि नेपाल स्वास्थ्य व्यवसायी परिषद् अन्तर्गत नेचुरल थेरापी विधामा योग प्रशिक्षकको दर्ता र नियमनको प्रावधान रहेको छ ।
२. क्षमताः योगले आत्मा, मन र शरीरको समन्वय गर्दछ र
ध्यानद्वारा शारीरिक र मानसिक सुधार गराउँछ । फिजियोथारिपिस्ट विशेषज्ञद्वारा निर्दिष्ट रोग वा चिकित्सकिए लक्षण कम गर्न, उपयुक्त व्यायाम, भौतिक
उपकरण जस्तै ताप, राप, करेन्ट आदिको प्रयोगले निदान गरिन्छ ।
३.प्रकृतिक पद्धति र योगासनः योगमा प्रकृतिक पद्धति र योगासनको शिक्षा पर्छ । तर फिजियोथेरापी चिकित्साले रोग वा चिकित्सकीय लक्षणमा आधारित व्यायाम गराउँछ । केही आसन परिवर्तनका महत्त्व, कामकाजमा अपनाउनुपर्ने आसन, कार्य सम्पादनको तरिका आदिसम्बन्धी सुझाव, सल्लाह दिने काम फिजियोथेरापीमा पर्छन् ।
४.प्रमाणमा आधारितः फिजियोथेरापी प्रमाणमा आधारित अभ्यास हो । वैज्ञानिक रिसर्चले स्थापना गरेको साहित्यमा
आधारित रही चिकित्सकको अनुभव र बिरामीको मूल्य मान्यतालाई उच्च सम्मान गर्दै फिजियोथेरापी पद्धतिहरू अपनाइन्छ । यस्तै
परम्परागत र वैदिक अभ्यासको आधारमा योग गरिए पनि आधुनिक चिकित्सक प्रणाली जस्तै यसमा पनि उच्च गुणस्तरको रिसर्च भएको छ । त्यही रिसर्चका आधारमा अभ्यास हुन थालेको विज्ञहरू बताउँछन् ।
५.अन्यः शल्यक्रिया र अपाङ्गता भएका व्यक्तिहरूको पुनस्र्थापनामा योगको सीमित प्रयोग भएको पाइन्छ । फिजियोथेरापी भने कुनै पनि शल्यक्रिया अझ हाडजोर्नी, नशा, मुटु, फोक्सोको शल्यक्रियापछि अपरिहार्य हुन्छ । अन्त्यमा योग र फिजियोथेरापी दुई विशेष प्रकारका चिकित्सा पद्धति हुन् । यसको उपयोगले व्यक्ति लाभान्वित हुन्छन् । योगले आत्मा र शरीरमा समन्वय बढाउँछ । तर फिजिओथेरेपीले विशेषज्ञतामा आधारित रोग वा लक्षणहरूमा सुधार गर्दछ । यी दुवै पद्धतिहरूले स्वास्थ्य र शारीरिक समस्यामा सुधार गर्दा विभिन्न लाभ प्रदान गर्दछन । व्यक्ति जीवन शैलीमा सकारात्मक परिवर्तन आउँछ ।