मकहाँ आउनेमध्ये अधिकांशले भनिरहेका हुन्छन्, ‘मलाई पायल्स भयो ।’ मलद्वारको समस्या हुनासाथ उनीहरुलाई यही लाग्छ । तर ‘मलाई पायल्स भयो’ भन्दै आउनेहरुमध्ये आधाजसोलाई अन्य समस्या देखिन्छ । जस्तो कि फिसर ।
यो पनि पायल्स जस्तै देखिन्छ । तर फिसरको प्रकृति र उपचार फरक हुन् । फिसरको बारेमा त्यति चर्चा हुने गरेको छैन, जति पायल्सको । त्यसैले यसबारे पनि बुझ्न जरुरी छ ।
के हो फिसर ?
सामान्य भाषामा भन्नुपर्दा मलद्वार वरिपरि च्यातिनु वा फाट्नु फिसर हो । जसरी ओठ फाट्छ, त्यसरी नै मलद्वार फाटिने अवस्थालाई फिसर भनिन्छ । अर्थात् दिसा गर्ने ठाउँमा बन्ने घाउलाई नै फिसर भनिन्छ ।
यसको प्रमुख कारण कब्जियत हो तर बारम्बार शौचालय जानुपर्ने अवस्था पनि फिसर हुनसक्छ । त्यसबाहेक अत्यधिक जंकफुड खाने, तारेको, भुटेको पोलेको खानेकुरा खाने र माछामासु बढी खानेलाई यो हुनसक्छ ।
कति प्रकारको हुन्छ फिसर ?
एक्युटफिसर : मलद्वारमा दुई-चार दिनदेखि एक महिनासम्म हुने अवस्थालाई एक्युटफिसर भनिन्छ । यसमा मलद्वारको बाहिर वा भित्री भागमा मासु पलाउने वा घाउ हुने गर्छ । यसको समयमा उपचार नभएको अवस्था क्रोनिक फिसर हुनसक्छ ।
क्रोनिकफिसर : ६ महिनादेखि एक वर्षसम्म दिसा गर्दा मलद्वारमा दुखाइ भइरहने अवस्थालाई क्रोनिक फिसर भनिन्छ । यसमा समयअनुसार फिसर विकसित हुँदै जान्छ । यसमा बाहिर छाला पलाएको हुन्छ । त्यसलाई जाँच नै पायल्स भनेर औषधि खाने गरिन्छ । संक्रमण भएको अवस्थामा फिसर बिग्रेर फिस्टुला हुनसक्छ ।
कसरी थाहा पाउने ?
-दिसा गर्दा तीव्र दुखाइ महसुस हुने
-दिसा गरिसकेपछि पनि घण्टौंसम्म दुखाइको महसुस हुने
-मलद्वार चिलाउने र पोल्ने
-दिसा गरिसकेपछि रगत देख्ने
-पिप निस्किने
-घाउ पाक्ने
-मलद्वारको बाहिर र भित्री भागमा मासुको डल्लो पलाउने र कब्जियत भइरहनेलगायत लक्षण देखापर्छ ।
पायल्स र फिसर कसरी छुट्याउने ?
मलद्वारमा मासु पलाएको छ, जुनभित्र वा बाहिर दुवै ठाउँमा पलाएको हुन्छ । अथवा मासुभित्र आफैं जान्छ वा बाहिरै मासु झुण्डिएको अवस्था छ भने त्यो फिसर हो । मलद्वारबाट दुखाइ भएर रगत गएमा त्यो फिसर हुनसक्छ ।
दिसा गर्दा भित्र-बाहिर जाने वा फुल्ने अवस्था छ भने त्यो पायल्स हो भने मलद्वारबाट दुखाइ नभईकन रगत गएमा पायल्स हुनसक्छ ।
फिसरको उपचार घरमै गर्न सकिन्छ ?
सामान्यत फिसरको उपचार घरेलु विधिबाट नै गरिन्छ । फिसर भएमा घरमै गर्न सकिने घरेलु विधि :
-दिसा गरेर आइसकेपछि मनतातो पानीमा मलद्वार डुब्ने गरी पाँचदेखि १० मिनेट बस्ने । यो दिनको दुई तीन पटक गर्न सकिन्छ ।
-त्यसपछि मलद्वारलाई सुख्खा हुन नदिन मलम वा नरिवलको तेलमा बेसार मिसाएर लगाउने ।
-गाईको शुद्ध घिउमा बेसार मिसाएर लगाउने ।
-दिसा कडा भएको अवस्थामा हर्रोबर्रो अमला पाउडर सेवन गर्ने । यस्तो बेला तातोपानीमा हालेर बेलुका सुत्नुअघि सेवन गर्ने ।
मेडिकल उपचार के छ ?
घरेलु उपचारले भएन भने चिकित्सकलाई जाँच गराएर मलम र दिसा पातलो गर्ने औषधि सेवन गर्न सकिन्छ । यस्तो अवस्थामा सबैभन्दा पहिला मलद्वारमा फिसर के कारणले भएको पत्ता लगाउनु जरुरी हुन्छ । कारण पत्ता लागेपछि बल्ल उपचार सुरु हुन्छ । जस्तै, कब्जियतको कारण फिसर भएको अवस्थामा दिसा पातलो गर्ने औषधि दिन सकिन्छ । घाउ वा मासु पलाएमा मलम लगाउन सकिन्छ ।
क्रोनिक फिसरमा मलद्वार बाहिर मासु वा छाला पलाएको छ भने त्यसलाई निकाल्नुपर्ने हुन्छ । त्यस्तै बारम्बार फिसर भइरहँदा मलद्वार नै साँघुरो भएमा र फिसरमा संक्रमण भएको अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यसैले लाज नमानी समयमा उपचार गराइहाल्नुपर्छ ।
कसलाई बढी जोखिम हुन्छ ?
समयमा खानपान र शौच नगर्ने मानिसलाई हुन्छ । जस्तै, व्यवसायी, बैंकका कर्मचारी । त्यतै दिसा रोकेर बस्नेलाई हुन्छ । धुम्रपान, मद्यपान, जंकफुड र फाइबर कम खाने र पेटसम्बन्धी समस्या भएकाले बढी हुने जोखिम हुन्छ ।
पूर्ण रुपमा निको हुन्छ ?
यो बिरामीको बानी व्यवहार र खानपानमा निर्भर हुन्छ । चिकित्सकले उपचार गरिसकेपछि शरीरको मागअनुसार आफ्नो बानी परिवर्तन गर्न सके पूर्णरुपमा निको हुन्छ । तर शरीरको मागअनुसार खानपान, जीवनशैली र काम कर्तव्य परिवर्तन गरिएन भने फेरि फिसर हुने सम्भावना हुन्छ । अधिकांश बिरामीहरु आफू परिवर्तन नहुने चिकित्सक परिवर्तन गर्ने बानी छ । यसले गर्दा फिसर बिग्रिएर फिस्टुला हुने जोखिम हुन्छ ।
यस्ता बिरामीले के खाने, के नखाने ?
अत्यधिक मासुजन्य परिकार, चिल्लो चाप्लो, तारेको, दूधजन्य परिकार, बोसो बढी भएको खानेकुरा, प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा सकेसम्म कम खानु भनिन्छ । तर खानै नहुने भन्ने केही खानेकुरा हुँदैन । सबै खानेकुरा खान मिल्छ । तर कसरी खाने भन्ने तरिका जान्नुपर्छ । जस्तै मैदाजन्य खानेकुरा चाउचाउ वा चाउमिन खाँदै हुनुहुन्छ भने त्यही मात्र नपकाइकन त्यसलाई पकाउने बेलामा मटरकोसा, हरियो सागपात र गाँजर मिसाएर पकाउनुपर्छ । यसरी खाँदा मैदासँगै फाइबर पनि हुन्छ र पचाउन सहज हुन्छ । यसको अर्थ के हो भने फिसर भएको अवस्थामा यो खाने, त्यो नखाने भन्दा पनि ताजा, पोषिलो, झोलिलो, फाइबरयुक्त, रेसादार खानेकुरा उपयुक्त हुन्छ ।
मासु खानुअघि काँक्रो, गाँजर, मुला तथा सलाद सागपात पर्याप्त खाने, यसपछि मात्र दुई-तीन पिस मासु खाने गर्नुपर्छ । यसरी खाँदा सलादले पेट टन्न हुन्छ, यसमा भएको भरपुर फाइबरले मासुलाई पचाउन मद्दत गर्छ । माछामासु बेलुका नखाई बिहान खाने गर्नुपर्छ । किनकि बेलुका खाँदा पचाउन गाह्रो हुन्छ र दिसा कडा हुनसक्छ ।
त्यस्तै चिकित्सकले कर्कलो, पिंडालु र भन्टा नखानु भन्ने सल्लाह दिइन्छ । किनभने यी खानेकुराले घाउ झन् बढी चिलाउने हुन्छ । पानी प्रशस्त मात्रामा पिउने तर पानी पिउने भनेर एकैचोटि एक बोतल पानी पिउनु लाभदायक हुँदैन । हरेक घण्टामा एक गिलास पानी पिउनुपर्छ । सबै खानेकुरा खान मिल्छ तर के बढी खाने र के कम भन्ने मात्र हो ।
मलद्वारको समस्या भएमा वा हुन नदिन के गर्ने ?
बिहान उठ्ने बित्तिकै मनतातो एक वा दुई गिलास पानी पिउने, सकेसम्म बिहान कहिले पनि चिसो पानी पिउनु हुँदैन । ब्रेकफास्टमा फाइबरयुक्त खानेकुरा ओट्स, गाँजर, मुला, स्याउ, काँक्रो, मेवा, सुन्तला, अंगुर खान सकिन्छ । बिहानको खानामा साग अनिवार्य खाने, माछामासु पनि खाँदा हुन्छ ।
दिउँसो खाजामा गहुँको सुख्खा रोटी, मुँगको दाल, सागसब्जी खान सकिन्छ । स्याउ, गाँजर र मुला पनि खान सकिन्छ । आफूलाई मनलाग्ने हिसाबले सातु बनाएर खान सकिन्छ ।
बेलुका सादा दाल भात तरकारी खान सकिन्छ । यसरी सन्तुलन मिलाएर खान सकेमा मलद्वारको समस्याको जोखिम कम हुन्छ ।