वर्तमानकाल सम्वाददाता
असोज ०८ गते ।
‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार काठमाडाँैमा आयोजित एक कार्यक्रममा भनिन्, ‘म बाहेक अन्य नेताहरू पनि एमालेबाट सम्माननीय बन्नुभएको छ ।
पार्टीका कार्यक्रममा नेताहरू जानुहुन्छ । सामाजिक फोरमहरूमा भने जनताले खोज्ने गरेका छन् ।’ उनले नेकपा एमालेलाई अनुरोध गर्दै थप भनिन्, ‘मैले भन्न खाजेको के हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाटै राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भएँ ।’ झट्ट सुन्दा यो अभिव्यक्ति कुनै नौलो र ठुलो कुरा होइन ।
तर व्यक्ति विशेषका हकमा भने यस्तो अभिव्यक्ति अलि नसुहाउँदो सुनिन्छ । भण्डारीको यो अभिव्यक्तिलाई सुक्ष्म विश्लेषण गर्ने हो भने उनलाई देशको भन्दा पनि नेकपा एमालेको बढी चिन्ता रहेको देखिन्छ । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्नजरुरी रहेको पनि बताइन् ।
उनको यो अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओली वा अरु सक्रिय राजनीतिमा रहेका कुनै नेताको भन्दा फरक छैन । त्यतिमात्रै होइन, भण्डारीले सोही कार्यक्रममा जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको भन्दै जबजको सिद्धान्तलाई मान्नेहरूले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको बताइन् । यसबाट भण्डारीको राजनीतिप्रतिको चाहना कति छ भन्ने पनि प्रस्टै हुन्छ । राष्ट्रपति देशको अभिभावक हो ।
यस्तो पदमा रहिसकेको व्यक्तिको सामाजिक गतिविधि साझा र सबैले मान्ने खालको हुनुपर्छ भन्ने आम बुझाइ छ ।
त्यस्तो पदमा बसिसकेर बाहिरिएको व्यक्तिले कुनै एक पार्टी विशेषको चिन्ता गर्न नसुहाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।