काठमाडौँ, १३ माघ। आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) गरेर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गर्यो । करिब ७ वर्ष अघि नै सरकारी निकायबाट अनुसन्धानका लागि जिम्मेवारी प्राप्त भए पनि मौन बसिरहेको विशेष अनुसन्धान गर्ने यो प्रहरीको युनिटले यतिबेला आएर सक्रियता देखाएको हो ।
त्यतिबेला निकै चर्चामा रहेको यो प्रकरण पछिल्ला वर्ष सेलाएको थियो । राष्ट्रिय रूपमा निकै चर्चामा आएपछि यस्तो अवैध कार्य बन्द भयो होला भन्ने अनुमानका आधारमा चर्चा कम भए पनि यसको भार र दागचाहिँ यो क्षेत्रले व्यहोरिरहेको थियो । तर सीआईबीको कारबाहीले अहिलेसम्म पनि यो विषयमा कुनै सुधार नआएको देखाएको छ ।
- के हो फेक रेस्क्यु प्रकरण ?
नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि वार्षिक लाखौँ विदेशी आउँछन् । सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, लाङटाङ क्षेत्र जस्ता पदयात्राका गन्तव्य तथा त्यही क्षेत्रमा हिमाल चढ्न उनीहरू विशेष रूपमा आउने गरेको पाइन्छ । विश्वकै सबैभन्दा अग्लो हिमालसहित हिमशृङ्खला भएकाले यो क्षेत्र आफैँमा सबैको लागि आकर्षणको स्थान पनि बन्ने गरेको छ ।
पदयात्रा र पर्वतारोहण आफैँमा साहसिक पर्यटन भएकाले यसरी आउँदा पर्यटकले बीमा गर्छन् । यो क्रममा हुने कुनै पनि दुर्घटनाबाट हुने क्षति कम गर्न उनीहरूले सम्बन्धित देशमै बीमा गरेर आउँछन् । यो क्रममा कुनै समस्या भएर उद्धार तथा उपचार गर्नुपरेमा बीमा कम्पनीसँग दाबी गरिन्छ । अन्तर्राष्ट्रिय रूपमा यो एकदमै स्वाभाविक र सामान्य प्रक्रिया पनि हो ।
तर नेपालका केही व्यवसायीले यसैको गलत फाइदा उठाएको प्रहरीको भनाइ छ । पछिल्लो चार वर्षमा तीन वटा ट्रान्सपोर्ट सर्भिस कम्पनीबाट भएका २ हजार २० वटा उद्धारमध्ये ३१७ वटा उद्धार ‘फेक’ भएको पाइएको र यसबाट १९.६९ मिलियन डलर (अहिलको विनिमय दर अनुसार झन्डै २ अर्ब ९० करोड नेपाली रुपैयाँ) ठगी भएको पाइएको सीआईबीले जनाएको छ ।
यसरी फेक रेस्क्यु गर्दा दुई तरिकाबाट हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पहिलो, यात्रुलाई रेस्क्युका लागि बाध्य पारेर र दोस्रो, यात्रुसँग सहमति गरेर ।
पर्वतारोहण र पदयात्राका क्रममा कुनै पर्वतारोही धेरैजसो हाई अल्टिच्युटका कारण बिरामी पर्छ । माथिल्लो भागमा जाँदै गर्दा चिसो हुने र अक्सिजनको मात्रा कम हुने भएकाले यस्तो समस्या देखिन्छ । यसको सबैभन्दा सजिलो समाधान भनेको यात्रुलाई लो अल्टिच्युटमा ल्याउनु नै हो । यात्रुले अप्ठ्यारो महसुस गरेको उचाइबाट २/३ सय मिटर तल झार्ने हो भने यो समस्या स्वतः समाधान हुन्छ ।
तर, यो अवस्थामा पथ प्रदर्शक (गाईड) ले उसलाई डर देखाउँछ । तत्कालै उद्धार नभए जे पनि हुन सक्छ भनेर अत्याएपछि त्यो व्यक्ति रेस्क्युका लागि सहमत हुन्छ ।
अर्कोतिर जब यात्रुले कुनै गन्तव्य पूरा गर्छ, फर्किने क्रममा उसलाई गाइडले नै लोभ्याउँछ । उसको यात्रा पूरा भइसकेको अवस्थामा अब नयाँ घुम्न र देख्न बाँकी केही नभएको, फर्किँदा आफैँले खर्च गर्नुपर्ने र जोखिम पनि हुने हुँदा उद्धार गर्न सुझाउँछ । त्यो बेला यात्री आफैँ आवश्यक नै नभएको उद्धार तथा उपचारका लागि तयार हुने गरेको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोज केसी बताउँछन् ।
२०७५ सालतिर नै यो विषय उठेपछि पर्यटन मन्त्रालयले तत्कालीन सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा छानबिन समिति बनाएको थियो । त्यतिबेला त अझै खानामै पखाला लाग्ने वा अरू अल्पकालीन समस्या हुने पदार्थ मिसाएर समेत यात्रुलाई फेक रेस्क्युका लागि बाध्य बनाएको चर्चा थियो । उक्त समितिले ३५ प्रतिशत रेस्क्यु नक्कली हुने गरेको निष्कर्ष निकाले पनि यसका लागि प्रहरीको विशेष अनुसन्धान युनिटबाट विस्तृत छानबिन हुनुपर्ने सुझाव दिएको थियो । तर अहिलेसम्म कुनै अनुसन्धान हुन सकेको थिएन ।
अहिले प्रहरीले भने खानामा त्यस्ता पदार्थ मिसाएको भेटेको छैन, तर सामान्य समस्या आउँदा पनि डर देखाएर रेस्क्यु गर्न बाध्य पारेको अवस्था उल्लेख गरेको छ ।
- ..अनि सफल भयो प्रहरीको अप्रेसन
मन्त्रालयले प्रतिवेदनमा यो जिम्मेवारी प्रहरीलाई सुम्पे पनि त्यसको अनुसन्धान सहज भने थिएन । किनकि यसरी रेस्क्यु हुँदा उजुरी गर्ने व्यक्ति पाउन गाह्रो थियो ।
यात्रुको सहमतिबिना उद्धार नहुने र आफ्नो सहमतिमै भएको फेक रेस्क्युको विषयमा बोल्दा आफैँ कारबाहीमा पर्ने भएकाले यसबारे यात्रुले खुलेर बोल्ने अवस्था थिएन । उनीहरूले अनौपचारिक रूपमा दिने सूचना समाचार र विश्वव्यापी हल्लाका लागि पर्याप्त त थियो, तर अनुसन्धान र कारबाहीको लागि थिएन । त्यही कारण अहिलेसम्म प्रहरीले समेत यसमा कारबाही गर्न सकेको थिएन । जबकि यसको भार भने यात्री र नेपाली पर्यटन क्षेत्रले व्यहोर्नु परिरहेको थियो । पहिले १२ सय डलर हाराहारीमा हुने बीमाको प्रिमियमलाई बीमा कम्पनीहरूले अहिले बढाएर २५ सय डलर पुर्याएको प्रहरीको भनाइ छ ।
तर ती कम्पनीले ठगीलाई त्यतिमा मात्रै सीमित राखेनन् । हुँदै नभएको उडानलाई भएको भन्ने, एउटा उडानमा धेरै मान्छे बोकेर धेरै वटा स्थान र उडानबाट भएको भनेर बिलबिजक बनाउने र सामान्य लागतभन्दा कैयौँ गुणा बढी बिल बनाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सामान्य उपचारका लागि हस्पिटलमा झन्डै १२ हजार डलरसम्म र एउटै व्यक्तिसँग जम्मा ३१ हजार डलरसम्मको बीमा मागदाबी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यो अनुसन्धानका लागि प्रहरीले सम्बन्धित हेलिकोप्टर कम्पनीको उडान तालिका, बिलिङ, हस्पिटलको डकुमेन्ट, सम्बन्धित ट्राभल इन्स्योरेन्स कम्पनीसँग गरिएको बीमा मागदाबी तथा आर्थिक कारोबारको विवरण समेत हेरेको एआईजी केसी बताउँछन् । पछिल्लो चार वर्षमा भएका कारोबारका एक हजारभन्दा बढी स्वीफ्ट कारोबारको अध्ययन भएको सीआईबीले जनाएको छ । सोही आधारमा माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम छतकुली र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र म्यानेजर विवेक राज थपलिया तथा एभरेस्ट एक्सपिरियन्स एण्ड असिस्टेन्सका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुशील सिटौलालाई पक्राउ गरिएको हो ।
धेरै लामो समयदेखिको केस भए पनि प्रहरीले भने हदम्याद र तथ्याङ्कको उपलब्धताका कारण २०७८ सालदेखिको मात्रै अनुसन्धान गरेको छ । पछिल्लो पटक गत असोजमा समेत फेक रेस्क्युको उजुरी परेको भन्दै मन्त्रालयको प्रतिवेदन र उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
- अन्तर्राष्ट्रिय रूपमा धमिलिएको छवि
जब हिमाल र पर्वतारोहणको विषय आउँछ यो समाचार राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय चासोको विषय बन्छ । फेक रेस्क्युको प्रकरण समेत अन्तर्राष्ट्रिय रूपमा निकै चासोको विषय बनेको थियो ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सन् २०१८ मा ‘अ स्क्याम अन द रुफ अफ दि वर्ल्ड‘ अर्थात् ‘विश्वको छानोमा भएको एउटा ठगी’ शीर्षकमा समाचार लेखेको थियो । फ्रान्स२४ ले ‘अननेसेसरी रेस्क्यु सोर इन नेपाल अन प्रोफिट फ्रम इन्स्योरेन्स पेआउट’ अर्थात् ‘बीमाबाट रकम कमाउने लालचमा नेपालमा अनावश्यक उद्धार’ भनेर समाचार लेखेको थियो । अन्य दर्जनौँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत यो विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेका थिए । यी समाचारले नेपाल सुरक्षित गन्तव्य होइन भन्ने सन्देश विश्वभर गएको थियो । वर्ल्ड नोम्याड्स जस्ता संस्थाहरूले त नेपालको हेलिकोप्टर रेस्क्यु स्क्याम भन्दै पर्यटकहरूलाई सचेत रहन चेतावनी नै जारी गरेका थिए । यो प्रकरणपछि बढेको बीमा शुल्क अहिले पनि उति नै छ ।
प्रहरीले अहिले यो केसमा पहिलो लेयरमा मात्रै कारबाही गरेको जनाएको छ । प्रारम्भिक चरणमा सम्बन्धित बीमा कम्पनीबाट रकम मागदाबी गर्ने तीन ट्रान्सपोर्ट सर्भिस कम्पनीलाई कारबाहीमा ल्याइएको जनाएको छ । उनीहरूमाथि किर्ते, ठगी आपराधिक लाभमा अनुसन्धान अघि बढाइए पनि यसले संगठित अपराध सम्पत्ति शुद्धीकरण र राज्य विरुद्धको कसुर समेत प्रमाणित हुने आधार देखिएको सीआईबीको दाबी छ ।
अर्को चरणमा थप अनुसन्धान अघि बढ्ने सीआईबीले जनाएको छ । यो प्रकरणमा हेलिकोप्टर कम्पनीदेखि हस्पिटल, गाइडदेखि यात्रुसम्म अनुसन्धानको दायरामा आउन सक्ने देखिन्छ ।
- के भन्छन् सरोकारवाला ?
फेक रेस्क्युको प्रकरणमा नेपालीहरू पक्राउ परेको विषयमा अहिलेसम्म कुनै पनि सरोकारवाला संघ संस्थाले आधिकारिक रूपमा प्रतिक्रिया जनाएका छैनन् । यो विषयमा आधा दर्जनभन्दा बढी सरोकारवाला संस्था जोडिन्छन् ।
यद्यपि उनीहरूले यो विषयलाई सकारात्मक कदम नै मानेका छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष कर्मा शेर्पा यो अनुसन्धान पाँच–सात वर्षअघि नै हुनुपर्नेमा ढिलो भए पनि अहिले प्रक्रिया अघि बढ्नु सकारात्मक कदम भएको बताउँछन् । यो प्रकरणमा संलग्न दोषीले कारबाही भोग्नुपर्नेमा द्विविधा नभए पनि निर्दोषले सजाय पाउने अवस्था हुन नहुनेमा उनको जोड छ ।
नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष निमा नुरु शेर्पाको भनाइ पनि उस्तै छ । अनुसन्धान निकायले प्रमाणका आधारमा गरेको अनुसन्धान र कारबाही सकारात्मक रहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्रमा लागेको दाग मेट्ने र छवि सुधारमा सहयोग पुग्ने उनको भनाइ छ ।


