काठमाडौं, ०१ फागुन। सरकारले व्यापक रूपमा उपभोग हुने सोया बरी (सोया चङ्क्स, सोया बडी, सोया नगेट्स वा सोया ग्रानुल्स) को गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले दिएको अधिकार प्रयोग गर्दै यससम्बन्धी विस्तृत सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।
यस नयाँ व्यवस्थासँगै अबदेखि नेपालभर उत्पादन र बिक्री हुने सोयाजन्य उत्पादनहरूले सरकारले तोकेका निश्चित रासायनिक, भौतिक र जैविक मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
के हो सोया बरी ?
मन्त्रालयद्वारा जारी गरिएको सूचनामा सोया बरीलाई प्राविधिक रूपमा परिभाषित गरिएको छ । जसअनुसार तेल निकालिएको (डिफ्याटेड) भटमासको पिठो, ग्रिट्स वा दलियामा अन्य उपभोगयोग्य वनस्पतिजन्य प्रोटिन राखी वा नराखी ‘एक्स्टुजन’ प्रविधिबाट तयार पारिएको ‘टेक्सचराइज्ड’ सुक्खा सोया प्रोडक्टलाई नै सोया बरी मानिनेछ ।
बजारमा पाइने सोया चङ्क्सदेखि साना दाना भएका सोया ग्रानुल्ससम्म सबै यसै मापदण्डको परिधिभित्र समेटिएका छन् । सरकारले सोया बरीको मौलिकता र गुणस्तर कायम राख्न यसमा अन्य कुनै खाद्य पदार्थ मिसाउनुपर्ने भएमा त्यसको मात्रा कुल तौलको बढीमा तीन प्रतिशतसम्म मात्र हुन पाउने कडा सीमा निर्धारण गरेको छ । यसले सोया बरीमा हुने अनावश्यक मिसावटलाई निरुत्साहित गर्ने विश्वास गरिएको छ ।
सोया बरीको भौतिक अवस्थाका बारेमा बोल्दै मन्त्रालयले यो उत्पादन पूर्णरूपमा स्वच्छ, सफा र यसको प्राकृतिक स्वाद एवं बास्नायुक्त हुनुपर्ने प्रावधान राखेको छ । उत्पादनमा कुनै पनि प्रकारको ढुसी लागेको, कीरा लागेको वा सडेको अवस्था हुन नहुने र कुनै पनि अप्रिय गन्ध आउन नहुने कुरालाई अनिवार्य बनाइएको छ । साथै, सोया बरीको पोषक तत्वको सन्तुलन मिलाउन सरकारले विभिन्न प्राविधिक सूचकहरू तोकेको छ ।
४५ प्रतिशत प्रोटिन अनिवार्य
नयाँ मापदण्ड अनुसार सोया बरीमा ओसको मात्रा १० प्रतिशतभन्दा बढी हुन पाउने छैन । प्रोटिनको मात्रामा विशेष ध्यान दिँदै सुक्खा तौलको आधारमा कम्तीमा ४५ प्रतिशत प्रोटिन हुनुपर्ने प्रावधान राखिएको छ । जसले उपभोक्तालाई उच्च प्रोटिनयुक्त खाद्य वस्तु प्राप्त हुने सुनिश्चित गर्छ । यस्तै कुल खरानीजन्यको मात्रा ८ प्रतिशत, क्रुड फाइबर ३.५ प्रतिशत र एसिडमा नघुल्ने खरानीको मात्रा ०.३ प्रतिशतभन्दा बढी हुन नहुने गरी सीमा निर्धारण गरिएको छ ।
रासायनिक तत्वमा कडा प्रतिबन्ध
स्वास्थ्य सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिने रासायनिक तत्वहरूको प्रयोगमा पनि सरकारले निगरानी बढाएको छ । सोया बरी प्रशोधनका क्रममा प्रयोग हुन सक्ने ‘हेक्जेन’ वा अन्य अर्गानिक सल्भेन्टको अवशेष प्रति किलो १० मिलिग्रामभन्दा बढी हुन नहुने र कलेजोका लागि घातक मानिने ‘कुल अफ्लाटक्सिन’ को मात्रा प्रतिकिलो १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने कडा नियम बनाइएको छ ।
उपभोक्तालाई झुक्याउने गरी प्रयोग गरिने बाह्य कृत्रिम रङ, बाह्य सुगन्ध र दोस्रो श्रेणीका परिरक्षीहरूको प्रयोगलाई सोया बरीमा पूर्णरूपमा निषेध गरिएको छ । यस्ता प्रावधानहरूले सोया बरीलाई प्राकृतिक र स्वास्थ्यवर्द्धक बनाउन मद्दत पुग्ने देखिन्छ ।
सोया बरीमा हुने बाह्य अखाद्य वस्तुहरूको मिश्रणलाई पनि मन्त्रालयले स्पष्ट रूपमा परिभाषित गर्दै प्रतिबन्धित गरेको छ । जैविक बाह्य पदार्थ अन्तर्गत मानिस वा जनावरको कपाल र रौं, भुस, चोकर, परालका टुक्रा, अखाद्य दाना तथा जिउँदो वा मरेका कीरा र मुसाका अवशेषहरूलाई पूर्णरूपमा वर्जित गरिएको छ । त्यसैगरी, अजैविक बाह्य पदार्थहरू जस्तै ढुङ्गा, माटो, बालुवा, काँचका टुक्रा, सिसा र प्लास्टिकका टुक्राहरूलाई पनि निषेधित सूचीमा राखिएको छ । यस्ता पदार्थहरूको उपस्थिति पाइएमा सम्बन्धित उत्पादकलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ ।
यसका अतिरिक्त सोया बरीमा हुन सक्ने कीटनाशक विषादीको अवशेष, हेभी मेटल्स (भारी धातु) र अन्य हानिकारक सूक्ष्म जीवाणुहरूको मात्रा नेपाल सरकारले समय–समयमा तोकेको सीमाभित्रै रहनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
प्याकेजिङ र लेबलिङमा विशेष ध्यान
उत्पादनपछिको चरण अर्थात् प्याकेजिङ र लेबलिङमा पनि सरकारले विशेष ध्यान दिएको छ । सोया बरीलाई स्वच्छ र सुक्खा अवस्थामा राख्न अनिवार्य रूपमा ‘खाद्य ग्रेड’को प्याकेजिङ सामग्री प्रयोग गर्नुपर्नेछ र त्यसलाई पूर्णरूपमा सिलबन्द गरिनुपर्नेछ ।
प्याकेटको बाहिर राखिने लेबुलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेका सबै विवरणहरू (जस्तै- उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति, ब्याच नम्बर र पोषणसम्बन्धी जानकारी) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । उत्पादनदेखि भण्डारण र बजारसम्मको ढुवानी प्रक्रियामा उच्च स्तरको स्वच्छता कायम राख्न मन्त्रालयले उद्योगीहरूलाई निर्देश गरेको छ ।


