
काठमाडौं, १६ भदौ। कैलाश मानसरोवर यात्रा गर्न नेपाल आएका चार मलेसियन नागरिक सम्पर्कविहीन छन् । १० भदौमा आएको बाढीपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन ।
कैलाश यात्राका लागि नेपाल आएका र बाढीपछि सम्पर्कविहीन भएपछि उनीहरूका छोराछोरी खोज्दै नेपाल आइपुगेका छन् । तर, सम्पर्क हुने सम्भावना नभएपछि आश मार्दै छोराछोरी मलेसिया फर्किन लागेका छन् ।
‘हामीलाई उहाँहरू कहाँ हुनुहुन्छ भन्ने मात्रै थाहा पाउनुपरेको थियो, जीवित हुनुहुन्छ कि हुनुहुन्न, त्यो पनि थाहा भएन,’ मलेसियाबाट नेपाल आएका छोरा मितरुनले भने ।
मलेसियाबाट आमाबुबा खोज्दै नेपाल आएका र उनीहरूसँग समन्वय गरिरहेका नेपाली नागरिक प्रेम विकका अनुसार सम्पर्क हुने सम्भावना नभएपछि उनीहरू मलेसिया फर्किन लागेका हुन् ।
त्यसरी सम्पर्कविहीन हुनेमा ५९ वर्षीय रमन सुप्रमनियम, ५४ वर्षीया निलाभनी मारिमुथु, ५८ वर्षीया पद्मावथी ए गोविन्दास्वामी र ६० वर्षीय मुरुकान सुप्रमनियम छन् । उनीहरूका छोराछोरी खोजीका लागि नेपाल आएका हुन् ।

मलेसियाबाट नेपाल आइपुगेका मितरुनको आवाजमा आफ्ना आमाबुबाको खोजीको छटपटी मात्रै थिएन, अब उनीहरूलाई भेट्ने आश बिस्तारै मर्दै गएको पीडा पनि मिसिएको थियो ।
अगस्ट २६ अर्थात् १० भदौ बिहान ८:१५ बजे उनीहरूसँग अन्तिम पटक सम्पर्क भएको थियो । त्यसपछि उनीहरूको मोबाइलमा फोन लागेन । परिवारसँग कुनै खबर आएन । अन्तिम सम्पर्क टिमुरे क्षेत्रमा भएको थियो । उक्त स्थान नेपाल–चीन सीमाबाट करिब डेढ किलोमिटर दुरीमा पर्छ ।

आमाबुबा सम्पर्कविहीन भएपछि उनीहरूका छोराछोरी मलेसियाबाट नेपाल आए । नेपाल आएर उनीहरूले सरकारी निकाय, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग भेटेर आफ्ना आमाबुबाको खोजी गरिदिन आग्रह गरे । उनीहरूको एउटै आग्रह थियो, ‘हामीलाई उहाँहरूको अवस्था बताइदिनुस् !’
तर, बाढी आएको ७ दिनसम्म पनि आफ्ना आमाबुबाको कुनै अत्तोपत्तो नलागेपछि उनीहरूको आशा निराशामा बदलिन थाल्यो ।
‘हामी कैलाश यात्राका लागि नेपाल आएका चार मलेसियाली नागरिकका छोराछोरी हौं, उहाँहरू अगस्ट २६ देखि बेपत्ता हुनुहुन्छ,’ रमनकी छोरी लोगादर्सनीले भनिन्, ‘नेपालको समय अनुसार बिहान ८:१५ बजे उहाँहरूसँग अन्तिम सम्पर्क भएको थियो, त्यसपछि हामीले कुनै जानकारी पाउन सकेका छैनौं ।’
परिवारले नेपाल र मलेसिया सरकारसँग खोजी तथा उद्धार अभियान तीव्र बनाउन आग्रह गरेका थिए । खोजी क्षेत्र विस्तार गर्न र आवश्यक परे अन्य देशका उद्धार तथा सैन्य टोलीको समेत सहयोग लिन उनीहरूको माग थियो ।
‘हामी वास्तवमै उहाँहरूको ठेगाना र अवस्थाबारे जवाफ चाहन्छौं, हामी धेरै आशावादी थियौं कि उहाँहरूलाई सुरक्षित फेला पार्न सकिन्छ,’ उनले भनिन्, ‘तर, उद्धार कार्य छिटो गर्न आवश्यक छ, ताकि हामीले उहाँहरूको अवस्थाबारे छिट्टै जानकारी पाउन सकौं ।’

अर्का परिवारका सदस्य मितरुनले पनि नेपाल र मलेसिया सरकारसँग खोजी अभियान तीव्र बनाउन अपिल गरेका थिए ।
‘म मितरन हुँ, निलाभनी मारिमुथुको छोरा, उहाँहरूसँग अन्तिम सम्पर्क २६ अगस्टमा बिहान ८:१५ बजे नेपाली समयमा टिमुरे क्षेत्रमा भएको थियो,’ उनले भने, ‘उहाँहरूको ठेगाना र जीवनको अवस्था थाहा नहुँदा यो निकै दु:खदायी छ ।’
उनले नेपाल सरकारसँग उद्धार तथा खोजी क्षेत्र विस्तार गर्न आग्रह गरेका थिए । साथै, नेपालमा उद्धारका लागि सहयोग गर्न चाहने अन्य देशका सैन्य तथा उद्धार टोलीको सहयोग लिनसमेत उनले आग्रह गरे ।
तर, उनीहरू नेपाल आएर आफ्ना आमाबुबाको खोजीमा दौडधुप गरिरहेकै बेला अवस्था झन् निराशाजनक बन्दै गयो ।
सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल जीवितै उद्धार गर्न सकिने सम्भावना नरहेको जानकारी परिवारलाई दिएको छ । त्यसपछि उनीहरूका लागि नेपाल बसिरहनुको अर्थ पनि बिस्तारै सकिँदै गयो ।
आमाबुबालाई भेट्ने आश बोकेर मलेसियाबाट नेपाल आएका छोराछोरी अब रित्तो हात फर्किंदैछन् । उनीहरूले नेपालमा रहँदा विभिन्न निकायसँग भेटेर आफ्ना परिवारका सदस्यको खोजीका लागि आग्रह गरे । तर, उनीहरूबारे कुनै निश्चित सूचना प्राप्त हुन सकेन ।

आफ्ना आमाबुबाको खोजीका लागि मलेसियाबाट नेपाल आएका उनीहरू अन्तत: आमाबुबाको अवस्थाबारे निश्चित जानकारी समेत नपाई फर्किन बाध्य भएका छन् ।
नेपाल आउँदा उनीहरूको मनमा एउटा आश थियो– बाढीले सम्पर्क टुटेको मात्रै होस्, आमाबुबा कतै सुरक्षित अवस्थामा भेटिउन् ।
तर, त्यो आश अब कमजोर बनेको छ । फर्किने तयारीमा रहेका छोराछोरीको मनमा भने एउटै प्रश्न बाँकी छ, ‘हाम्रा आमाबुबा कहाँ छन् ?’
जवाफ अझै अनिश्चित छ । सरकारी निकायबाट सम्पर्क हुने सम्भावना नभएको दाबी गरेपछि उनीहरू निराश हुँदै फर्किन लागेका हुन् ।
