
वर्तमानकाल दैनिक
साउन १६, रौतहट
लायन्स क्लब अफ रौतहट चन्द्रपुरको नयाँ अध्यक्षमा निरञ्जन जैसवाल सर्वसम्मत रूपमा चयन भएका छन्। शुक्रबार आयोजित एक विशेष कार्यक्रमबाट आगामी कार्यकालका लागि उनलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो। कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवनियुक्त अध्यक्ष जैसवालले वर्तमानकाल दैनिकसँग कुराकानी गर्दै आफूले लायन्स क्लबको विधान, नियम–कानुन तथा संस्थाको उद्देश्यअनुसार इमानदारीपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लायन्स क्लबलाई सामाजिक सेवामा अझ प्रभावकारी, उत्तरदायी र जनमुखी संस्था बनाउने लक्ष्यका साथ अघि बढ्ने बताए।
उनले भने, “लायन्स क्लब सामाजिक सेवाको साझा अभियान हो। हामी सबै सदस्यको सहकार्य र जनसमुदायको विश्वासलाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा अझ सक्रिय हुनेछौं।”
विगतका सेवा कार्यको विस्तृत प्रतिवेदन सार्वजनिक
कार्यक्रममा क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जैसवालले लायन्स क्लब अफ रौतहट चन्द्रपुरसहित रौतहटका विभिन्न लायन्स क्लबहरूले सम्पन्न गरेका सेवा कार्यहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए।
प्रतिवेदन अनुसार लायन्स क्लब अफ रौतहट चन्द्रपुर, लायन्स क्लब अफ रौतहट चन्द्रनिगाहपुर, लायन्स क्लब अफ रौतहट भिजन नेपाल, लायन्स क्लब अफ रौतहट समनपुर, लायन्स क्लब अफ चन्द्रपुर ग्रिन सिटी, लायन्स क्लब अफ चन्द्रपुर मेडिकोज, लायन्स क्लब अफ चन्द्रपुर प्राइड, लायन्स क्लब अफ चन्द्रनिगाहपुर ग्रेटर तथा लायन्स क्लब अफ रौतहट चन्द्रपुर फेमिनाले संयुक्त रूपमा विभिन्न सामाजिक सेवा कार्यक्रम सञ्चालन गरेका छन्।
अध्यक्ष जैसवालका अनुसार क्लबमा हाल १७ जना सक्रिय सदस्य रहेका छन् भने क्लबका सबै देय रकम (ड्युज) समयमै भुक्तानी गरिएको छ।
संयुक्त रूपमा सम्पन्न भएका प्रमुख सेवा कार्यक्रम
प्रतिवेदन अनुसार रौतहटका ९ वटा लायन्स क्लबले संयुक्त रूपमा विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेका छन्।
गुजरा नगरपालिका–६ पल्ढुवा तथा फतुवा विजयपुर नगरपालिका–११ विजयपुरका अति विपन्न तथा अशक्त परिवारलाई एक–एक थान ह्वीलचेयर प्रदान गरिएको।
चन्द्रपुर नगरपालिका–७ वनबहुअरीस्थित मानव सेवा आश्रममा आश्रित करिब ५० जना ज्येष्ठ नागरिकलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरिएको।
चन्द्रनिगाहपुर बजार क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गरिएको।
चन्द्रपुर नगरपालिका–४ चिडियादहस्थित ग्रामीण विकास केन्द्र (RDC Nepal), चन्द्रपुर नगरपालिका तथा विभिन्न लायन्स क्लबको संयुक्त आयोजनामा अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न, कम्बल, शिरक, ढसना, चामल, दाल, चिनी, साबुन, खानेतेल लगायतका सामग्री तथा काठको बेड वितरण गरिएको।
चन्द्रपुर नगरपालिका–४ तथा गढीमाई नगरपालिका–३ गम्हरिया गाउँका विपन्न परिवारलाई ह्वीलचेयर उपलब्ध गराइएको।
अध्यक्ष जैसवालले यी सबै कार्यक्रम लायन्स क्लबको “We Serve” भन्ने मूल मन्त्रअनुसार सञ्चालन गरिएको बताए।
आगामी कार्ययोजना सार्वजनिक कार्यक्रममा अध्यक्ष जैसवालले आगामी एक वर्षका लागि क्लबले सञ्चालन गर्ने विभिन्न महत्वाकांक्षी कार्यक्रमसमेत सार्वजनिक गरेका छन्।
उनका अनुसार आगामी दिनमा रौतहटका विभिन्न स्थानमा निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। साथै वातावरण संरक्षणका लागि वृहत वृक्षारोपण अभियान सञ्चालन गरिनेछ।
त्यसैगरी लामो समयदेखि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टरलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय गरिने उनले बताए। ट्रमा सेन्टर हस्तान्तरण भएको करिब डेढ वर्ष बितिसक्दा पनि स्थानीयले अपेक्षित सेवा पाउन नसकेको भन्दै अब अप्रेसनसहितका स्वास्थ्य सेवा सञ्चालन गराउन पहल गरिने उनको भनाइ थियो।
यसका अतिरिक्त नयाँ लायन्स क्लब स्थापना गर्न प्रेरणामूलक ओरियन्टेशन कार्यक्रम सञ्चालन गर्ने, जिल्ला तथा अन्तर्राष्ट्रिय ड्युज समयमै बुझाउने, प्रत्येक महिनामा नियमित क्लब बैठक आयोजना गर्ने, विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्ने, जाडो याममा कम्बल वितरण कार्यक्रम सञ्चालन गर्ने तथा क्लबका प्रत्येक सदस्यबाट मासिक दुई हजार रुपैयाँ बचत संकलन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
सेवा नै लायन्सको पहिचान : अध्यक्ष जैसवाल
अध्यक्ष जैसवालले समाजमा रहेका गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विपन्न समुदायको जीवनस्तर उकास्न लायन्स क्लब निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरे। उनले सबै सदस्यलाई एकताबद्ध भएर सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउन आग्रह समेत गरे।
कार्यक्रमको अन्त्यमा क्लबको प्रतिवेदन प्रस्तुत गर्न अवसर दिएकोमा जोन चेयरपर्सन लायन वसिम अख्तर तथा जोन चेयरपर्सन लायन राजन श्रेष्ठप्रति धन्यवाद ज्ञापन गरिएको थियो। साथै आगामी कार्यकालमा लायन्स क्लब अफ रौतहट चन्द्रपुरले सामाजिक सेवा, मानवीय सहयोग, स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
