रौतहट,०६ मंसिर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि शनिबार प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि कुनै दाबी पेस नभएपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीमा नियुक्त यादवले अब ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
यादव यसअघि मधेस प्रदेश सभाका सभामुखसमेत भइसकेका छन्। उनी दोस्रो कार्यकालका लागि मधेस प्रदेशको मुख्यमन्त्री बनेका हुन्।

