फाल्गुन ०६ गते
भौगोलिक हिसाबले विश्वको नक्सामा सानै देखिने हाम्रो देश नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ भने कला, साहित्य र संस्कृतिमा झनै विशिष्ट छ । शान्तिको देश, बुद्घ जन्मेको देश, वीर गोर्खालीको देश आदि नामले विश्वमा परिचित यस देशको आफ्नै वीरगाथाहरु छन् । आफ्नै पहिचान अनि आफ्नै स्वाभिमान बोकेर विश्वमा छुट्टै पहिचान बनाउन सफल भएको हाम्रो देश नेपाल हो ।
१०४ वर्षको लामो जहानिनयाँ शासनको अन्त्यपछि र प्रजातन्त्रको आगमनले हामी नेपालीहरुमा एउटा नया सपना जागेर आयो र त्यो सपना हामी लाखौँ लाख नेपालीको साझा सपना बन्न पुग्यो । जसरी बर्षायाममा पानीका एक –एक थोपाले यस पृथ्वीलाई हराभरा बनाउनमा सहयोग पु¥याउँछ त्यसै गरी देशमा शान्ति, सार्वभौमसत्ता, स्वतन्त्रता ल्याउन नेपाली आमाका कयौं सपुतहरुले आफ्ना रगत र पसिना बगाएका छ । यसमा हरेक नेपालीको साथ, समर्थन, आत्मीयता र सद्भाव छ । सबैले गौरवबोध गरेका छन् । देशले सबैलाई समान मानेको छ । यहाँ ठुलो, सानो, धनी, गरिब, महिला, पुरुष भन्ने अमानवीय सोचले स्थान पाउन हँुदैन । देशमा शान्ति र अमनचयन कायम गर्न बलिदान दिनेका रगतले विना कुनै भेदभाव आफ्ना देशको रक्षाका निम्ति, आफ्ना भोलि आउने सन्ततिका लागि आफ्नो ज्यानको आहुति दिएर सिर्जेको यो फुलवारीको सम्मान अझ हरेक नेपालीले बढाउनु परेको छ । देशको सम्मानमा वृद्धि हुँदा हरेक नेपालीको सम्मानमा स्वतः वृद्धि हुने हुन्छ ।
प्रकृतिले सबैलाई समान रुपमा अवसर प्रदान गरेको तर यसको फाइदा उठाउनेले आफ्नो गलत सोच र गलत व्यवहारका कारण वातावरणलाई नकारात्मक प्रभाव पु¥याउने कामहरु बढदै गएको देखिन्छ । हामी कुरा गर्दैछाँै आज समाजमा बढ्दै गएको हत्या, हिंसा र बलात्कार जस्ता कुकर्मका बारेमा एकातिर समान सहभागिता, समान व्यवहारका कुरा गर्छौ भने अर्कोतिर महिला दिदी बहिनीहरुमाथि बढ्दै गएको अन्याय, अत्याचारले हाम्रो समाज कतातिर गइरहेको र के सन्देश दिन खोजेको हो भन्ने बुभm्न गाहृो भैसकेको छ । प्रत्येक दिन महिलामाथि हुने गरेको दुव्र्यवहार बढ्नुले हामी भित्रको मानवता मरिसकेको आभास गराउँछ । कहिले पूर्वमा कहिले पश्चिममा र कहिले उत्तर त कहिले दक्षिण, प्रत्येक दिन एक न एक नया बलात्कारका घटना, हत्या वा दुव्र्यवहारका घटना वा यससित सम्बन्धित खबरहरु आइरहेका हुन्छन् । यस्ता घटनाले आज हाम्रो समाजबाट मानवता नै हराइसकेको हो कि ? भन्ने प्रश्न उठ्न खोज्छ । सायद भ्रुण हत्या बढनुको अनेक कारण मध्येको यो पनि एक हुन सक्ला । नारीलाई लक्ष्मी, सरस्वती, दुर्गाको रुपमा मान्ने यो समाज आज अर्काका चेलीबेटीमाथि दुव्र्यवहार गर्न, बलात्कार वा दुष्कर्म तथा हत्या समेत गर्न पछि नपर्नुले एकातिर अपराध गर्नेहरु बढिरहेको र अर्कोतिर महिला अर्थात् छोरी चेलीले समाजका सदस्यहरुबाटै डराएर नजिककै मानिसमाथि समेत शंका गरी सतर्क रहनुपर्ने अवस्था सिर्जना भइरहेको छ ।
परापूर्वकालदेखि नै पुरुषप्रधान रहँदै आएको हाम्रो देशमा पाप गर्ने पुरुषलाई बचाउने पनि अर्को पुरुष पंञ्चहरु नै देखिएका छन् । कतैकतै त पैसा लेनदेन गराएर समेत यस्ता जघन्य अपराधहरु मिलाउने समेत गरिएको पनि पाइन्छ । कतै बिहान घाँस दाउरा गर्न हिडे्की चेलीको लास उखुबारीमा भेट्छ भने कतै जङ्गलको झाडीमा । कहिले निर्मला हत्याकाण्ड भएको छ त कहिले भागरथीहरु बलात्कृत हुने र मारिने घटना सार्वजनिक भएको छ ।
धर्मशास्त्रमा पनि हेर्ने हो भने सीता, द्रोपदी पनि पुरुषहरुबाट शोषित भएरै बाँच्नु परेको देख्न सकिन्छ । सीताले असह्य भएर नै धरती प्रवेश गरेकी थिइन् । द्रोपदीले पनि आफन्तहरुकै बिच अपमानित हुनु परेको थियो । सधँै कमजोर बनाएर राख्ने, कमजोर भएकै कारण समाजमा आफूभन्दा बलिया भनाउँदाहरुबाट शोसित भएर बाँच्नु परेको अवस्था पनि नदेखिएको होइन । अहिले पनि हाम्रो संविधानले महिलालाई उच्च सम्मान दिएको छ तर ती हक र अधिकारलाई समाजले बुझेर कहिलेदेखि व्यवहारमा लागू गर्ने होला ? समाज नै सचेत नहुने हो वा समाजले नै कतिपय अवस्थामा अपराधीलाई साथ दिने हो भने संविधानको मर्ममाथि प्रहार भइरहन्छ । संविधानले महिला र पुरुषमा विभेद गरेको छैन तर महिलामाथि हुने गरेको जघन्य अपराधलाई पनि समाजले मिलाउने गरेको पाइएको छ । जुन अपराधीलाई समाजले कानुनअनुसार सजाय दिलाउनु पर्ने हो, त्यस्तो अपराधीलाई समाजले कानुनी सजायबाट अलग्याएर समाजमै मिलाउन खोज्नु दुर्भाग्य हो ।
गरिबी, अशिक्षा र अज्ञानता तथा न्यायसम्म पुग्न सक्ने स्रोतहरुको कमीले गर्दा पनि पीडिताहरु न्यायको मार्गमा अगाडि बढ्न नसकेका होलान् । गरिबीको रेखामुनि रहेका तथा मध्यम वर्गका महिला तथा छोरी चेलीहरु मेलापात, घाँसदाउरा गर्न विवश छन् । घाँसदाउराका लागि खेतको फाँटमा, उखुमा, जंगलमा जानु स्वाभाविक हो । अझ कतिपय अवस्थामा एक्लै पनि पर्ने गर्दछन् । यस्तै एक्लै रहेका महिला तथा युवती वा किशोरीमाथि बढी अपराध हुने गरेको पाइन्छ । अपराध गरेर अपराधी उम्किन सफल हुन्छ । यस प्रकारको अपराधका अपराधी गाउँ वा समाजमा नै लुकेर बसेका छन् वा भागेका छन् वा वास्तविक अपराधी को हो भन्ने कुरा पत्ता लगाउन समाजले सहयोग गर्नुपर्ने हो तर कतिपय अवस्थामा समाजले अपराधीलाई लुकाउनमा नै सहयोग गरेको पनि देखिन्छ । कतिपय यस्ता घटना कानुनको दायराभन्दा बाहिरै मिलाइन्छ र कतिपय यस्ता घटनामा पीडित पक्षलाई मिल्न वा मिलाउनका लागि दबाब पनि दिइन्छ । यसरी गाउँ वा समाजमै बसेर महिलामाथि हुने गरेका हिंसालाई मिलाउन खोज्नु र कानुनको पहुँचमा जान नदिनु अर्को दृष्टिकोणले अपराधीलाई नै साथ दिनु सरह भएको मान्न सकिन्छ ।
विश्वमा नेपाली महिलाले संविधानअनुसार धेरै अधिकार पाएका छन् । धेरै क्षेत्रमा महिलाको पहुँचको विस्तार भएको छ । महिलाले समानताको बाटो समातेको मात्र होइन, सबै क्षेत्रमा सक्षमताको दृष्टान्त पनि प्रस्तुत गर्दै गएको अवस्था हो । सबैतिरबाट यही देखिएको छ कि महिलालाई समानताको अधिकार नदिइकन सभ्य र समृद्ध समाजको कल्पना गर्न सकिँदैन । महिलामाथि गरिने जघन्य प्रकृतिका अपराधले महिलाको मनोबल गिराउने मात्र होइन, अगाडि बढ्ने बाटामा अप्रत्यक्ष तगाराहरु सिर्जना गर्दछन् । कतिपय अभिभावकले आफ्ना छोरी, चेली र किशोरीलाई बढी सतर्क गराउन घरबाटै कम निक्लिन भन्न सक्छन् । यस्ता कुराले महिलामाथि प्रतिबन्ध बढ्न सक्ने सम्भावनालाई जन्माउँछ ।
महिलामाथि बढ्ने हिंसाले अन्ततः नेपाली मानिसकै प्रवृत्तिलाई विश्वमा उजागर गर्दछ । नेपालीहरु शान्तिप्रिय रहेको, यहाँ बुद्धको जन्म भएको र यहाँ सीताको जन्म भएको भनी हामी गर्व गर्दछौँ । हाम्रो देशको विश्वमा यसै कारण पनि अलग पहिचान स्थापित भएको छ । फेरि हामी वीर गोर्खाली भन्दछौँ । अनि प्रश्न पनि उब्जिन सक्छ – कतै वीरता चाहिँ महिला हिंसाको लागि केन्द्रित भएको हो कि ?
हाम्रो उद्देश्य समाजलाई सभ्य र समुन्नत बनाउनेतर्फ हुनु पर्दछ । हामी आफ्नो परिवारलाई सभ्य बनाऔँ । यदि हरेक परिवार र परिवारभित्रका हरेक सदस्य सभ्य हुन सक्छन् भने समाजको अन्य पक्षको उन्नति खोजेको जस्तो हुन्छ ।
यसै सन्दर्भमा समाजलाई सुन्दर बनाउनेतर्फ सबैले सकारात्मक दृष्टिकोण राख्नु जति महत्वपूर्ण छ, समाजलाई नराम्रो दिशातर्फ जानबाट रोक्नु पनि हामी सबैको त्यत्तिकै महत्वपूर्ण कर्तव्य हुनुपर्छ । त्यसैले हामी सम्पूर्णको यो जिम्मेबारी हुन आउँछ – आफ्नो र आफ्नो समाजलाई कसरी बचाऊँ ? कसरी राम्रो मार्गमा डो¥याऊँ ? यस्ता प्रश्नको जवाफ हामी सबै मिलेर खोज्ने बेला हो यो ।