विद्यालय सञ्चालनका चुनौती र तत्कालीन समाधान – जी.सी.हरि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ४, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
विद्यालय सञ्चालनका चुनौती र तत्कालीन समाधान – जी.सी.हरि

चुनौतीकै रुपमा हेर्दा शिक्षाजस्तो राष्ट्रको प्रमुख मेरुदण्डमा यसरी आघात परिरहदा विद्यार्थीको भविष्यको कुरा, राष्ट्रविकासको कुरा त छँदै छ त्यो भन्दा व्यावहारिक कुरा त विद्यार्थीहरू महिनौँ महिना घरभित्र थुनिएर बस्दा कस्तो मनस्थिति पैदा होला यो गम्भीर प्रश्न हो । उपलब्ध प्रविधिको सही सदुपयोग गर्न सके त फाइदा होला कतिपय अवस्थामा प्रविधिको नकारात्मक प्रयोगले गर्दा विभिन्न समस्या आइरहेको कुरा मिडियाले छर्लङ्ग पारेको अवस्था छ । लामो समयसम्म बालबालिका घरमै बसिरहने हुनाले अभिभावकलाई पनि थप तनाब बढिरहेको अवस्था छ । सबैले आ–आफ्नो गन्तब्य खोजिरहेको बेला निश्चित मार्गदर्शन गर्ने गराउने निकायको साँचो नै नियतिको पोल्टमा छ यति बेला । किनभने सम्वन्धित निकायले घोषणा गरेका नीति–निर्देशन र समय तालिका पनि त लागू नभएका उदाहरण हामीसमक्ष प्रष्टै छन् ।
यी माथि उल्लेख गरिएका विद्यालय सञ्चालन सम्बन्धी चुनौतीहरू प्रतिनिधि मात्र हुन् । अन्य तमाम समस्याहरू छाँयामा छन् । कतिपय समस्या त मान्छेले अनुभव मात्र गर्ने खालका छन् । कागजमा शब्द थुपार्नुको औचित्य छैन् । जे होस् सकारात्मक बन्नुको विकल्प पनि त छैन । आखिर सूर्यको प्रचण्ड तापले जति जलाए पनि अन्तमा वर्षाको तारतम्य मिलाउने जिम्मा पनि त उसैको हो । यो नियतिको सामना गर्न हामी सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन । मानवीयता कायम गर्नु पनि त हाम्रो कर्तव्य हो ।
अब कुरा रह्यो चुनौती समाधानको । समस्या आयो भन्दैमा तुरुन्तै हड्बडाएर त्यसैको पछि दौडिनुको पनि तुक छैन । यस विषम परिस्थितिमा हामीलगायत हाम्रा बालबालिका सुरक्षित राख्न सक्नु पनि त एउटा ठूलै उपलब्धि हो । जहाँसम्म प्रविधिको प्रयोग र सञ्चारको कुरा छ त्यो सबैको पहुँचमा छैन । यसको पहुँचमा रहनेले टि.भि., मोबाइल, रेडियो, एफ.एम.पत्रपत्रिकाबाट पनि मनग्य ज्ञान आर्जन गर्न सक्छन् । यो भन्दा बाहिर रहनेले पनि सिक्नु पर्ने कुरा धेरै छन् । जस्तै घरायसी कामकाजमा हाम्रा बालबालिकालाई सरिक गराउनु, कृषि तथा बगैँचामा प्रत्यक्षरुपमा संलग्न गराएर व्यावहारिक ज्ञान सिकाउन सकेमा पनि विद्यार्थीहरुले एउटा नौलो अनुभव बटुल्छन् । औपचारिक पाठ्यक्रम÷पाठ्यपुस्तकको एकोहोरो रटान पनि त अन्तिम विकल्प होइन । त्यसकारण शिक्षा, जीवन र व्यवहारलाई समायोजन गराउन सक्नु पनि एक खुड्किलो माथि चढ्नु हो । यस्तै समयमा हो पारिवारिक माया ममताका कुरा सिकाउने, सामाजिक चालचलन तथा संस्कारप्रति सभ्यता प्रदर्शन गर्ने, मानवीयता देखाउने, स्वयंसेवकीय क्षमता अभिवृद्धि गर्ने आदि । विद्यालय मात्र होइन सिक्ने ठाउँ र शिक्षक मात्र होइनन् गुरु भन्ने तथ्य पुष्टी गर्न घर–परिवार, आमा–बुवा र प्रकृति काफी छन् । यसका साथै सिर्जनात्मक क्रियाकलापमा जोड दिने, समस्यासँग जुध्न सक्ने सामथ्र्य विकास गर्ने जस्ता पक्ष पनि अपरिहार्य छन् ।
जे जस्तो विषम परिस्थितिमा हामी रुमलिए पनि धैर्य गर्नुको विकल्प छैन । हो हामीले थोरै भए पनि संसार देखिसकेका छौँ, भविष्य कल्पना गरिसकेका छौँ, काल्पनिक गन्तब्यको नक्सा तयार छ र त हाम्रो बाटोमा थोरै मात्र अवरोध देखा पर्दा पनि हामी चिन्तित हुन्छौँ । त्यसकारण चिन्ता भन्दा चिन्तन गरेर अगाडि बढ्ने समय हो यो । यसको मतलव चुप लागेर बस्ने भनेको होइन । पल–पलमा विकल्पको खोजी गर्न सकिएन भने पनि एकदिन प्रायश्चित गर्नुको विकल्प रहदैन । आशा गरौँ अबको समय पककै पनि सहज बन्दै जानेछ । हामीले व्यहोरेको घाटाको प्रतिफल बिस्तारै पूर्ति गर्दै जानु पर्छ ।

     

                                                                                                                 सन २०१९ को अन्ततिर चीनको वुहान सहरबाट सुरु भएको यस विश्वव्यापी महामारी कोभिड १९ ले पहिलो चरणमा विश्वका विभिन्न मुलुकको जीवनस्तर तहसनहस पारेको अनुभव हामीसँग ताजै छ । पहिलो चरणमा नेपाल सरकारले २०७६ चैत १० गतेबाट लकडाउन सुरु गरेको थियो । त्यस चरणमा यो रोगबाट विश्व नै आक्रान्त भएका कारण हामी सबै पनि स्वभावैले अछुतो रहन सकेनौँ । विस्तारै–विस्तारै खुकुलो हँुदै आएको लकडाउन पुनः२०७८ बैशाखबाट दोश्रो चरणकोरुपमा दक्षिण एसियाका विभिन्न मुलुक हुँदै नेपाल प्रवेश गरेको सोही महामारीले गर्दा आजका दिनसम्म हाम्रो जीवनस्तर एकदमै शारीरिक, मानसिक तथा आर्थिकरुपबाट पीडादायी बन्दै आएको छ । देशको अर्थव्यवस्था चुर्लुम्मै डुबेको अवस्थामा के नै बाँकी रह्यो र । एउटा बिचार गर्ने पक्ष के हो भने पहिलो चरणमा भएको लकडाउन र निषेधाज्ञामा त्रासको वातावरण उच्च थियो भने मृत्युदर कम थियो । दोश्रो चरणको निषेधाज्ञामा मृत्युदर पहिलेको तुलनामा उच्च भएता पनि आम नागरिकमा भने पहिलेको जस्तो त्यति डर र त्रासको वातावरण देखिएन भलै नागरिकमा आएको सचेतनाले पनि हुन सक्ला । 
यस विषम परिस्थितिमा विभिन्न समस्याका बावजूद सरकारले गरेका विभिन्न क्रियाकलाप तथा गैर–सरकारी संघ–संस्थाले गरेका पहल र तिनीहरुका पछाडि उठेका सकारात्मक तथा नकारात्मक टीका टिप्पणी आदि इत्यादिलाई छाडेर अगाडि बढ्दै जाँदा हालसालै नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा टेकेर विभिन्न स्थानीय निकायहरुले जेठ मसान्तभित्र आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरी असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने भनिएकोले सिङ्गो शिक्षा क्षेत्रभित्र समेटिने शिक्षक, विद्यार्थी र अभिभावकमा अन्यौलपूर्ण वातावरण सिर्जना गराएको छ । विद्यालय सञ्चालन त गर्ने तर कसरी गर्ने भन्ने प्रश्न सबैका अगाडि छ । सिकाइ सहजीकरण कार्यविधि र निर्देशिका अनुसार भौतिकरुपमा पठन–पाठन सुरु गर्नको लागि सबै पक्षले सुरक्षित अवतरण गर्न सक्नु प–यो । उदाहरणका लागि आकाशमा उडेको हवाइजहाजमा एकदमै क्रिटिकल समस्या देखापरिरहेको छ । न त त्यो समस्या तुरुन्तै समाधान हुनेवाला छ न त आकस्मिक सुरक्षित अवतरण गराउने गन्तब्य नै आएको छ । ठिक त्यही अवस्थामा अहिलेको शिक्षा प्रणाली छ । 
एउटा कर्मचारी भनौँ कि राष्ट्रसेवक भनौँ वा जागिरे भनौँ त्यही शिक्षक जसको अस्तित्व नै संकटमा परेको बेला विद्यालय सञ्चालन गर्दा सर्वप्रथम ऊ आफू कति सुरक्षित छ भन्ने कुरा प्राथमिकतामा पर्छ । दोश्रो पक्ष विद्यार्थी र तेश्रो पक्ष अभिभावक हुन् । विद्यालयले सानो समाजको प्रतिनिधित्व गर्ने भएकोले त्यहाँ उपस्थित हुने विद्यार्थी र शिक्षक सुरक्षित हुने आधार के त ? खोपको कुरा निकै उठिरहेको छ । कुनै पनि राष्ट्रले प्रदान गराउने सीमित डोजले लाखौँ विद्यार्थी, शिक्षक र अभिभावकलाई समेट्ला कि नसमेट्ला ? यो निकै गहन चासो र अध्ययनको विषय छ । यो वितरणको पक्षतर्फ नजाऔँ । हालसम्म कति डोज आयो र कतिले लगाए वा कहाँ गयो कुनै तथ्याङ्क छ ? अर्को पक्ष हो वैकल्पिक माध्यमबाट अध्यापन गराउने । नेपाल जस्तो भौगोलिक असमानताले भरिपूर्ण, गरिब र प्रविधिमा निकै पछाडि रहेको मुलुकमा कति प्रतिशतले यसमा पहुँच राख्लान् त भन्ने कुरा पनि एउटा छुट्टै चनौती नै छ । बितेको शैेक्षिक सत्रलाई आधार मानेर हेर्दा सहरी क्षेत्रमा यो अलि प्रभावकारी देखियो त्यो पनि सामुदायिक भन्दा निजीमा । र यो शैक्षिक सत्रमा पनि निजी क्षेत्रले आफ्नो पहुँच पुगेसम्म अनलाइन अध्यापन सुरु गरिसकेका छन् यद्यपि सबैलाई समेट्ने प्रयास भने जारी छ । सामुदायिकतर्फ भने नतिजा प्रकाशन पश्चात भर्ना अभियान सुरु गरेको पाइन्छ । भर्ना अभियान पछिको अवस्था कस्तो हुने भन्नेमा न त स्थानीय निकाय नै स्पष्ट छ न त विद्यालय नै । संक्रमणदर र मृत्युदर क्रमश घट्दै गएको देखाइए पनि अवस्था सामान्य हुन कति समय लाग्ने हो । कस्तो अवस्थालाई सामान्य भन्ने ? तेश्रो लहरले पनि छोइसक्यो भन्दै गर्दा कहाँ छ आशा गर्ने ठाउँ ? भविष्य कस्तो हुने भन्ने कुरा कल्पना मात्र गर्ने हो प्रयोग अनिश्चित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस