९२ लाखको लागतमा आठ कोठे तिन तल्ले प्रशासकीय भवनको शिलान्यास, नगर प्रमुख जैसवालको पहलमा गुणस्तरीय शिक्षातर्फ ठुलो कदम

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १७, शुक्रबार (९ महिना अघि)
  • ३ पटक पढिएको
९२ लाखको लागतमा आठ कोठे तिन तल्ले प्रशासकीय भवनको शिलान्यास, नगर प्रमुख जैसवालको पहलमा गुणस्तरीय शिक्षातर्फ ठुलो कदम

रमेश कुमार यादब
जेष्ठ १५, रौतहट

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल आफ्नो नगरको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील रहेका छन् । स्वास्थ्य, शुद्ध खानेपानी र गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै जनहितका योजनाहरूमार्फत समाज रुपान्तरणमा अग्रसर भइरहेका प्रमुख जैसवालले फेरी एकपटक शिक्षा क्षेत्रमा ठुलो योगदान दिने योजनाको थालनी गरेका छन् । यही सिलसिलामा बुधवार गरुडा नगरपालिका–४ स्थित श्री नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा एक भव्य कार्यक्रमका बीच प्रशासकीय भवनको शिलान्यास गरियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जैसवाल रहनु भएको थियो भने अध्यक्षता दिलीप कुमार साहले गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष, विद्यालयका शिक्षक(शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शिक्षामा लगानी, उज्यालो भविष्यको आधार

शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख जैसवालले शिक्षा क्षेत्रको मजबुती नै समृद्ध समाज निर्माणको आधार भएको बताउनु भयो । उहाँले भन्नुभयो, “विद्यालय शिक्षाको मन्दिर मात्र होइन, समृद्ध भविष्यको जग पनि हो । शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै गुणस्तरीय, सुरक्षित र सुव्यवस्थित शैक्षिक वातावरणको निर्माणका लागि हामी प्रतिवद्ध छौं ।

”जैसवालले स्पष्ट पार्नुभयो कि यो प्रशासकीय भवनको निर्माणसँगै विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्य अझ व्यवस्थित, प्रभावकारी र पारदर्शी हुने विश्वास लिएको बताउनु भयो । उहाँले नगरवासीहरूको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझै धेरै शैक्षिक पूर्वाधारको विकास गरिने योजना रहेको जानकारी दिनु भयो ।

९२ लाखको लागतमा निर्माण हुँदै भवन

नव निर्मित भवनको निर्माण कार्य नेपाल सरकारको संघीय अनुदान तथा गरुडा नगरपालिका अन्तर्गत सञ्चालन गरिएको नमुना विद्यालय विकास कार्यक्रममार्फत हुँदैछ । परियोजना बहुवर्षीय कार्यक्रमअन्तर्गत पर्दछ । यस आर्थिक वर्षका लागि सरकारले ८२ लाख रुपैयाँको अनुदान प्रदान गरेको छ भने स्थानीय समुदायबाट १० प्रतिशत बराबरको श्रमदान गरिने छ, जसअनुसार कुल लागत ९२ लाख रुपैयाँ पुग्नेछ ।

नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रभु पटेलले जानकारी दिनुभयो कि भवन तीन तल्लाको हुनेछ र त्यसमा आठ वटा कोठाहरू रहने छन् । भवन निर्माणपछि विद्यालयको प्रशासनिक कामकाजमा उल्लेखनीय सहजता आउने विश्वास लिएको उहाँले बताउनु भयो । साथै, विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक–शिक्षिकाहरूलाई समेत थप प्रेरणा र उत्साह मिल्ने अपेक्षा गरिएको छ ।

स्थानीय बासिन्दाको उत्साहजनक सहभागिताशिलान्यास कार्यक्रममा स्थानीय बासिन्दाहरूको उपस्थिति तथा सहभागिता अत्यन्त उत्साहजनक रहेको थियो । उनीहरूले नगर प्रमुख जैसवालद्वारा गरिँदै आएको विकास योजनाको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, अध्यक्ष र अन्य अतिथिहरूद्वारा संयुक्त रूपमा शिलान्यास ढुंगामा पूजाआर्चना गरी औपचारिक रूपमा भवन निर्माणको थालनी गरियो ।

शिलान्यास कार्यक्रमपछि नगर प्रमुख जैसवालले विद्यालयको कक्षा कक्ष, पुस्तकालय र प्रयोगशाला कक्षको समेत अवलोकन गरे। साथै, आगामी दिनमा विद्यालयमा थप शैक्षिक सुधार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । गरुडा नगरपालिकामा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा भइरहेको विकास अभियानप्रति स्थानीयको विश्वास र साथ दिनानुदिन बढ्दो देखिन्छ ।

नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको नेतृत्वमा शिक्षा क्षेत्रमा गरिएको यो पहलले नगरलाई दीर्घकालीन रूपमा शिक्षित, सक्षम र आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउनेछ भन्ने विश्वास गरिएको छ। स्थानीयबासीहरुले नगर प्रमुख जैसवालको यो कार्यको खुलेर प्रशंसा गर्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस