
बाँके,१८ जेठ। भारतको रुपैडिया नाका हुँदै बाँकेको नेपालगञ्ज प्रवेश गर्दै गर्दा एक कारबाट पाँच लाख भारतीय रुपैयाँसहित दुई जना नियन्त्रणमा लिइएका छन् ।
लखनउ निवासी नीरज चौरसियाले चलाएको भारतीय नम्बर प्लेटको कार शङ्कास्पद देखिएपछि जाँच गर्दा भारतीय ५ दरका ६ सय थान र २ सय दरका १ हजार थान नोट फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
बरामद गरिएको भारु ५ लाख नगद, कार र कारमा सवार दाङकी २६ वर्षीय साईना नेपालीलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार चेकजाँचको क्रममा नगद फेला परेको हो । प्रारम्भिक अनुसन्धानपछि मात्र उक्त रकमको स्रोत र प्रयोजनबारे थप खुलासा हुने बताइएको छ ।
