राष्ट्रपतिको रनिङ्ग शिल्ड प्रतियोगिताः दोस्रो स्थानमा बृन्दावन नगरपालिका, चन्द्रपुर नगरपालिका पहिलो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २१, मंगलबार (९ महिना अघि)
  • २ पटक पढिएको
राष्ट्रपतिको रनिङ्ग शिल्ड प्रतियोगिताः दोस्रो स्थानमा बृन्दावन नगरपालिका, चन्द्रपुर नगरपालिका पहिलो

रमेश कुमार यादब
जेष्ठ १९, रौतहट

जिल्ला खेलकुद विकास समिति रौतहटद्वारा आयोजित राष्ट्रपतिको रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत बृन्दावन नगरपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नं. ८ स्थित बेतौना खेलमैदानमा दुई दिनसम्म चलेको यस प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल सोमबार सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाभरका १८ वटा स्थानीय तहका टिमहरुले सहभागिता जनाएका थिए ।फाइनल खेलमा चन्द्रपुर नगरपालिका उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भयो भने, बृन्दावन नगरपालिकाले उल्लेखनीय प्रदर्शन गर्दै दोस्रो स्थानमा आफ्नो उपस्थिति दर्ता गरायो ।

जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख सचिव बिरेन्द्र ढुंगानाले दिएको जानकारी अनुसार, प्रत्येक पालिकाबाट छनोट गरिएका खेलाडीहरुलाई समेटेर यो प्रतियोगिता आयोजना गरिएको हो । उहाँले भने, “स्थानीय तहबाट छानिएका खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन्, र यसले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ ।”बृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीले दोस्रो स्थान प्राप्त गरेपछि खुशी व्यक्त गर्दै भने,“यो उपाधि केवल एक जनाको हैन, सिङ्गो नगरपालिकाको गौरवको विषय हो । हामी आगामी दिनमा खेल र खेलाडीप्रति अझ प्रतिबद्ध भएर अघि बढ्नेछौं ।

“साथै हामीले जिल्लाका अन्य पालिकाहरुलाई कडा प्रतिस्पर्धा दियौं, र दोस्रो स्थानमा रहन सफल भयौं, जुन हाम्रो नगरपालिकाको आन, बान, र शानका लागि गौरवको कुरा हो ।” नगर प्रमुख कुर्मीले खेलाडीहरुको उत्साह अभिवृद्धि गर्नका लागि आगामी दिनमा बजेट छुट्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै उहाँले प्रदेशस्तरीय प्रतियोगिताका लागि बृन्दावन नगरपालिकाबाट १७ जना खेलाडी छनोट भएको जानकारी पनि दिनुभयो । उहाँका अनुसार यी खेलाडीहरुले स्थानिय तहमा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशस्तरसम्मको यात्रा तय गरेका हुन् ।यस प्रतियोगिताले जिल्लाको युवा प्रतिभा पहिचान गर्न मात्र होइन, उनीहरुमा आत्मविश्वास जगाउने कामसमेत गरेको छ ।

प्रतियोगिताले स्थानीय तहमा खेलकुदको विकास र युवाहरुको सहभागिता अभिवृद्धि गर्न सघाउ पु¥याएको सचिव ढुंगानाले बताए ।
समापन समारोहमा प्रमुख अतिथिका रुपमा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरु, शिक्षक, अभिभावक, र खेलप्रेमीको उल्लेखनीय सहभागिता रहेको थियो। विजयी टिमहरुलाई ट्रफी, प्रमाणपत्र, तथा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।राष्ट्रपतिको रनिङ्ग शिल्ड प्रतियोगिता अब प्रदेश स्तर हुँदै राष्टिूय स्तरसम्म पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका माध्यमबाट स्थानिय तहका खेलाडीहरु राष्टिूय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चम्किने विश्वास आयोजक समितिले लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस