
सप्तरी, २३ असोज। सप्तरीको बलान बिहुल गाउँपालिका – २ ओद्राहामा एक युवतीको शंकास्पद मृत्यु भएको छ।
बुधबार २० वर्षीया केसिला कुमारी यादव आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। प्रहरीका अनुसार मृतकको खुट्टा ओछ्यानमा छोएको र शरीरमा निलडामका दागहरू देखिएको हुँदा घटनालाई शंकास्पद मानिएको छ।
यसपछि मृतककी बुबा राजकुमार यादवले आफ्नी छोरीको हत्या गरिएको दाबी गर्दै केसिलाका श्रीमान खगेन्द्र यादव र ससुरा मदन यादवविरुद्ध इलाका प्रहरी कार्यालय कडरोवनामा उजुरी दर्ता गराएका छन्।
इलाका प्रहरी कार्यालय कडरोवनका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको छ। अहिलेसम्म पोष्टमार्टम रिपोर्ट प्राप्त नभएकाले कानुनी प्रक्रिया अघि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर पुरीले जानकारी दिए।
पुरीका अनुसार पोष्टमार्टमको रिपोर्ट आएपछि आवश्यक कानुनी कारबाही अघि बढाइनेछ। मृतककी बुबा राजकुमार यादवका भनाइमा विवाहका बेला दस लाख नगद, आधा तोला सुन र फर्निचरलगायत गरी झण्डै १३ लाख रुपैयाँ बराबरको दाइजो दिएका थिए।
“दाइजो दिएर पनि छोरीको ज्यान लिइयो, हामी न्याय चाहन्छौं,” राजकुमारको भनाइ छ। स्थानीयका अनुसार बुधबार बिहान छिमेकीहरूले केसिलाको शव झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
