
काठमाडौं, १३ फाल्गुन। सरकारले आसन्न निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने,’ सरकारको निर्णय सुनाउँदै प्रवक्ता अर्यालले भने ।
साथै, सो अवधिमा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उनले बताए ।
‘सो अवधिमा निजहरूको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ ।

