
सिराहा, २३ असोज। सिराहामा यात्रुवाहक बसबाट खसेर एक सहचालकको मृत्यु भएको छ।
बिहीबार बिहान धनगढीमाई नगरपालिका – ९ जिरोमाइल नजिकै पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको यात्रुवाहक ना.७ ख २६५ नम्बरको बसबाट खसेका सहचालकको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार लहान नगरपालिका – १ निवासी २१ वर्षीय पवनकुमार यादव बसबाट खसेपछि पछाडिको चक्काले किचिँदा गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै स्थानीयवासीको सहयोगमा प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो।
तर, बिहान ११ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बस चालक ४० वर्षीय लक्ष्मी महतोलाई प्रहरी नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
