सुनसरीमा लागूऔषधसहित दुई युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • २ पटक पढिएको
सुनसरीमा लागूऔषधसहित दुई युवक पक्राउ

सुनसरी, २३ असोज। सुनसरीको कोशी गाउँपालिका–२ स्थित उत्तर–दक्षिण भित्री सडक खण्डमा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१० प्रकासपुरका २६ वर्षीय सरोज विश्वकर्मा र सोही स्थानका २१ वर्षीय सनम माझी रहेका छन्। 

मंगलबार राति करिब ११:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले  शंका लागेर चेकजाँच गर्दा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध फेला परेको थियो। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार माझीले रातो रंगको झोलामा लुकाएर राखेको अवस्थामा लागूऔषधका ट्याबलेट फेला परेका हुन्। उनीहरूको  झोलाभित्र २ हजार ४ सय थान ट्रामोल नामक ट्याबलेट, र  एकसय थान निटजासेन नामक ट्याबलेट गरी जम्मा २५ सय थान लागू औषधका ट्याबलेट र ‘लेबोरेट’ लेखिएको एक बोतल झोल समेत बरामद गरिएको डीएसपी खतिवडाले बताए।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ।  डीएसपी खतिवडाले पक्राउ परेका माथि लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस