टिकटक बनाउन खोलामा हाम फालेका युवकको शव ६ दिन पछि भेटियो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २४, शुक्रबार (४ महिना अघि)
  • २ पटक पढिएको
टिकटक बनाउन खोलामा हाम फालेका युवकको शव ६ दिन पछि भेटियो

वीरगञ्ज, २४ असोज। बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा खोलामा बेपत्ता भएका २१ वर्षीय बिक्की गोसाईंको शव ६ दिनपछि शुक्रवार बिहान फेला परेको छ ।

फेटा गाउँपालिका–१ त्रिवेणी खोलाको पुलबाट करिब १०० मिटर दक्षिण खोलाको बिच भागमा बालुवाले छोपिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गोसाईं असोज १९ गते टिकटक भिडियो बनाउने क्रममा दुधौरा खोलामा हाम फालेका थिए । सोही क्रममा २० वर्षीय अनुराग केसरवानीसँगै खोलामा हाम फालेका गोसाईं बेपत्ता भएका थिए । केसरवानी पौडेर बाहिर निस्किए पनि गोसाईं भने बेपत्ता भएपछि उनको खोजी कार्य जारी थियो ।

शुक्रवार बिहान ७ बजे बिक्कीका बुवा शम्भु गोसाईंले इलाका प्रहरी कार्यालय प्रसौनीलाई जानकारी गराएपछि प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

खोलाको बगरमा खुट्टा र कपडाको आधा भाग बालुवाले ढाकिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

बारा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान बिक्की गोसाईंको भएको पुष्टि भएको छ ।

अनुसन्धान तथा मुचुल्का प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया लगिएको प्रहरीले जनाएको छ । टिकटक भिडियो बनाउने क्रममा भएको दुखद घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस