सडक दुर्घटनामा ज्यान गुमाएका चौधरीको परिवारका आर्थिक संकटमा, सहयोग गर्न अपिल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • १  पटक पढिएको
सडक दुर्घटनामा ज्यान गुमाएका चौधरीको परिवारका    आर्थिक संकटमा, सहयोग गर्न अपिल

वीरगञ्ज, २६ असोज। पर्साको सखुवापर्सौनी गाउँपालिका–१ सिद्धपुर टोलका बासिन्दा स्वर्गीय भुनेश्वर चौधरी थारुका छोरा समीर चौधरीको सडक दुर्घटनामा मृत्यु भएपछि उनको परिवार गम्भीर आर्थिक सङ्कटमा परेको छ ।

गत असोज १८ गते वीरगञ्जबाट जीतपुर हुँदै घर फर्कने क्रममा समीर सवार मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पोलमा ठोक्किँदा समिट गम्भीर घाइते भएका थिए । वीरगञ्जको एलेस न्युरो अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएका समीरको उपचारकै क्रममा मृत्यु भएको उनकी आमा बिस्मतिया देवी चौधरीले बताइन् ।

उपचारमा करिब ४ लाख रुपैयाँ खर्च भएको र आफन्त तथा छिमेकीबाट ऋण लिएर खर्च व्यवस्थापन गरेको परिवारले जनाएको छ । तर, अहिले ऋण तिर्न नसक्ने अवस्थाले परिवार थप सङ्कटमा परेको छ ।

परिवारमा समीरकी आमा बिस्मतिया देवी, जेठा छोरा नन्द किशोर चौधरी र एक बुहारी मात्र छन् । बिस्मतिया र नन्द किशोर दुवै शारीरिक रूपमा अस्वस्थ छन्, र परिवारमा आम्दानीको कुनै निश्चित स्रोत छैन ।

“हामी गाउँकै खेतबारीमा मजदुरी गरेर जसोतसो गुजारा चलाउँथ्यौँ । छोरा बितेपछि ऋण र खर्चले थिचिएका छौँ, काजक्रिया गर्न पनि पैसा छैन,” बिस्मतिया देवीले दुखेसो पोखिन् । स्थानीय बासिन्दा र आफन्तहरूले चौधरी परिवारको कठिन परिस्थितिमा सहयोगका लागि समाजका दयालु व्यक्ति, संघ–संस्था र स्थानीय निकायहरूसँग अपिल गरेका छन् ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले पीडित परिवारसँग प्रत्यक्ष सम्पर्क गरी सानो सहयोगबाट पनि ठूलो राहत पुर्‍याउन सक्ने स्थानीयले बताएका छन् ।

दुखद घटनाले समीरको परिवारमाथि परेको आर्थिक र भावनात्मक बोझलाई कम गर्न सबैको सहयोग आवश्यक छ । सहयोगका लागि स्थानीय निकाय वा सखुवापर्सौनी गाउँपालिका–१, सिद्धपुर टोलमा सम्पर्क गर्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस