माधवनारायणका तीन अधिकारी र एजेन्सी सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • २ पटक पढिएको
माधवनारायणका तीन अधिकारी र एजेन्सी सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट, २६ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिएको अभियोगमा तत्कालीन तीन जना अधिकारी र विज्ञापन एजेन्सीका सञ्चालकसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा माधवनारायण नगरपालिका–३ सखुअर्वास्थित देवी माध्यमिक विद्यालय भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का नं. MNM/Works/2/077/078 को बोलपत्र आह्वान सूचना र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सो नगरी अनियमितता गरिएको पाइएको हो।

अनुसन्धानका क्रममा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.का सञ्चालक अजित कुमार कर्णले आपसी मिलोमतो र योजनाबद्ध रूपमा सूचना लुकाएर झुट्टा बिलका आधारमा भुक्तानी गरेको प्रमाणित भएको आयोगले जनाएको छ।

बोलपत्र आह्वानको सूचना (मिति २०७७ माघ ८) र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (मिति २०७७ फागुन १३) सार्वजनिक वितरणका लागि प्रकाशित गर्नुपर्नेमा ती सूचनाहरू नगरपालिकाको प्रयोजनका लागि मात्र राखिने गरी सीमित प्रतिहरूमा मात्र मुद्रण गरिएको ‘सिटी पोष्ट राष्ट्रिय दैनिक’ नामक पत्रिका तयार पारिएको पाइएको थियो।

प्रेस काउन्सिल नेपालबाट सो मितिका पत्रपत्रिकामा उक्त सूचनाहरू प्रकाशित नभएको पुष्टि भएपछि, आयोगले ती सूचना झुट्टा प्रकाशनका आधारमा भुक्तानी गरिएको ठहर गरेको हो।

त्यसै झुट्टा विवरण र बिल भरपाईका कागजातका आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सीलाई रू. २,५७,९७० (दुई लाख सन्ताउन्न हजार नौ सय सत्तरी रुपैयाँ) भुक्तानी गरिएको पाइएको छ।

नगरपालिकाको ठेक्का प्रक्रियामा गैरकानूनी लाभ लिई नगरपालिकालाई आर्थिक हानि पुर्‍याउने उद्देश्यले काम गरेको पुष्टि भएपछि अख्तियारले तीनै प्रतिवादीविरुद्ध विशेष अदालतमा सजाय मागदाबी सहितको आरोपपत्र दायर गरेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस