
रौतहट, २६ असोज। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले आर्थिक अभावका कारण अस्पतालमा बन्धक बनेका एक बिरामीलाई उद्धार गरेका छन्।
गरुडा ६ का शम्भु माझी करिब तीन महिनादेखि उपचाररत रहेको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा ३ लाख ५० हजारभन्दा बढीको बिल तिर्न नसकेर बन्धक बनेका थिए।
बिरामीको परिवारले सहयोगका लागि वडा अध्यक्ष रामबाबु चौधरीमार्फत मेयर जैसवाललाई अनुरोध गरेपछि मेयर जैसवालले आज अस्पतालको सम्पूर्ण बिल भुक्तानी गरी शम्भु माझीको उद्धार गरेका हुन्। अस्पतालबाट छुटेपछि शम्भु माझीलाई गरुडा नगरपालिकाको एम्बुलेन्समार्फत सुरक्षित रूपमा घर ल्याइएको वडा अध्यक्ष चौधरीले बताए।
वडा अध्यक्ष चौधरीले भने, “शम्भुको परिवार निकै विपन्न अवस्थाको हो। मेयर जैसवालले देखाएको मानवीय संवेदनशीलता साँच्चिकै प्रशंसनीय छ।”
उद्धारपछि नगरप्रमुख जैसवालले भने, “जनताको दुःख–सुखमा सधैँ साथ दिनु नै जनप्रतिनिधिको कर्तव्य हो। कुनै नागरिक आर्थिक अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनु हुँदैन।”
माझीको शरीरको विभिन्न भागको हड्डी भाँच्चिएर गम्भीर अवस्थामा एल एस न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
