विभिन्न स्थानबाट लागूऔषधसहित २४ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • १  पटक पढिएको
विभिन्न स्थानबाट लागूऔषधसहित २४ जना पक्राउ

काठमाडौँ, २६ असोज। अवैध लागू औषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ परेका छन् । दाङ, सङ्खुवासभा, मोरङ लगायतका जिल्लाबाट लागुऔषधसहित २४ जना पक्राउ परेका हुन् ।  

दाङको घोराही उपमहानगरपालिका–१२ हापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका– ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही

उपमहानगरपालिका–६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोस्ट हापुरबाट खटिएको प्रहरीले रा.७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका–९ घर भई सोही उपमहानगरपालिका–१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुमबहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात् घोराही उपमहानगरपालिका–१५ नवज्योती टोलबाट खुमबहादुरलाई ट्रामाडोल १ हजार ४० ट्याब्लेट र नगद ५ हजार ४ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

उता सङ्खुवासभाको मकालु गाउँपालिका–५ नुमबाट लागूऔषध खैरो हेरोइन करिब २८ ग्राम र डिजिटल तराजु १ थानसहित भोटखोला गाउँपालिका–४ बस्ने २८ वर्षीय सुरेश तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले खाँदबारीबाट भोटखोलातर्फ जाँदै गरेको को.१ ज ३१६९ नम्बरको बोलेरो जाँच गर्ने क्रममा चालकको सिट मुनि लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक सुरेशलाई पक्राउ गरेको हो ।

त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–१० त्रिवेणी चोक बस्ने एलिस भन्ने प्रेम खड्कालाई खैरो हेरोइनजस्तो देखिने पदार्थ ९० मिलिग्राम, ट्रामाडोल ३ सय ४९ ट्याब्लेट र डिकोलिक ५ सय ट्याब्लेटसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी सिराहाको गोलबजार नगरपालिका–६ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ पुरानो चोहर्वा बस्ने २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी बस्ने २४ वर्षीय बिष्णुदेव यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोलचक्ररबाट गुम्बा चोकतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै रौतहटको गुजरा नगरपालिका–२ कटानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३ मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१२ बौद्ध बस्ने २० वर्षीय कोमन गुरुङ र सिन्धुली मरिण गाउँपालिका–५ बस्ने २१ वर्षीय मनिष घलान रहेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उता उदयपुरको कटारी नगरपालिका–३ कान्छी बजारबाट लागूऔषध स्पास्मो १४ ट्याब्लेटसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–५ बस्ने २२ वर्षीय रत्नलाल गिरी, सोही नगरपालिका–३ बस्ने २७ वर्षीय विजय तामाङ र २० वर्षीय अर्जुन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

त्यस्तै झापाको दमक नगरपालिका–३ स्थित वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए ३, हट नम्बर ३५३ बस्ने साजन थापा समेत ८ जनालाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७ ग्राम ८ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले साजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी आठै जनालाई पक्राउ गरेको हो ।

उता दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित नारायण नगरपालिका–७ बस्ने १९ वर्षीय उदयबहादुर बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी चुप्राबाट खटिएको प्रहरीले सुर्खेतबाट दैलेख बजारतर्फ आउँदै गरेको बा. प्र. ०१–०३२ ज ७५८८ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–१० दाजुभाइ चोकबाट नियन्त्रित लागूऔषध डिकोलिक २ सय २० ट्याब्लेट र स्पास्मो ५० ट्याब्लेट सहित सोही नगरपालिका–९ बस्ने २२ वर्षीय निश्चल चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोस्ट खुनियाधार बकुलाचापबाट खटिएको प्रहरीले भोक्राहाबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ३८८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–२० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ७ सय ट्याब्लेट र डाइक्लोमाइन–२ हजार ५ सय १० ट्याब्लेटसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ गुम्बा लाइन बस्ने १९ वर्षीय नलन तामाङ र २१ वर्षीय प्रकाश लिम्बु रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को–२८ प २४१० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि  प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस