
काठमाडौं, २८ असोज। मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
यद्यपि, उनी स्वयंले पनि बहुमत नपाउने अवस्था प्रष्ट भइसकेको स्वीकार गरेका छन्। सिंह २५ जेठ २०८२ मा जनमत पार्टीका तर्फबाट नेकपा एमाले, माओवादी केन्द्र लगायत ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर पछि केन्द्रमा कांग्रेस एमालेको नयाँ गठबन्धन बनेसँगै राजनीतिक समीकरण फेरिएको थियो।
माओवादी सरकारबाट बाहिरिएपछि २०८२ असार १२ गते सिंहले नेपाली कांग्रेसको समर्थनमा पुनः विश्वासको मत पाएका थिए। तर, जेनजी आन्दोलनको चर्को वातावरणबीच गत भदौ २४ गते जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्देशनमा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए।
तर परिस्थिति शान्त हुँदै गएपछि उनले राजीनामा नदिने निर्णय गरे। त्यसपछि जनमत पार्टीले उनलाई पार्टी निर्णय पालना गर्न दबाब दिँदै आएको थियो। पार्टीको निर्देशन विपरीत सिंहले आज विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मतका लागि मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम तय गरिएको छ।
सिंहले भनेका छन्, “मलाई थाहा छ, आज जनमतकै सांसदहरूले पनि मलाई समर्थन गर्ने छैनन्। तर, पार्टीले नै मेरो इमान र प्रतिष्ठामाथि प्रहार गरेपछि म आफ्नो पक्ष सदनमा राख्न विश्वासको मत लिँदैछु।” जनमत पार्टीसँगको मतभेदबीच सिंहले आजकै बैठकमा आफ्नो आगामी राजनीतिक बाटोबारे पनि स्पष्ट अभिव्यक्ति दिने तयारी गरेका छन्।
