सडक ढलान योजनामा दुई करोडभन्दा बढी हिनामिना, ४ जनाविरुद्ध मुद्दा दायर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ३०, बिहिबार (४ महिना अघि)
  • ३ पटक पढिएको
सडक ढलान योजनामा दुई करोडभन्दा बढी हिनामिना, ४ जनाविरुद्ध मुद्दा दायर

सिरहा, ३० असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गाढा–चिकना सडक ढलान निर्माण योजनामा व्यापक अनियमितता र हिनामिना भएको प्रमाणित गर्दै उक्त प्रकरणमा संलग्न सरकारी कर्मचारी र ठेकेदार कम्पनीका ४ जना प्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार, प्रदेश सरकारको योजनाअन्तर्गत सडक डिभिजन, लहानले सञ्चालन गरेको उक्त सडक ढलान योजना (गाढा–चिकना सडक–कमलाको बाँधदेखि चिकनाको जमुवा कामतसम्म)मा ठेकेदार कम्पनीले गुणस्तरहीन सामाग्री प्रयोग गरी सरकारी रकम दुरुपयोग गरेको पाइएको हो ।

उक्त योजनाको लागत अनुमान ३ करोड ४९ लाख ६१ हजार ६३८ रुपैयाँ ९३ पैसा रहेको थियो । उक्त ठेक्का जय धनञ्जय र रब्बानी जेभी नामक निर्माण व्यवसायी कम्पनीले पाएको थियो, जसले ५ वर्ष अघि २०७७ असार २१ गते सम्झौता गरी मिति त्यसै वर्षको चैत ३० गते भित्र काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको थियो ।

आयोगको अनुसन्धानमा ठेकेदार कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न गरेको देखिए पनि निर्माण सामग्रीमा गुणस्तर नपुगेको, झूटा परीक्षण प्रतिवेदन तयार पारी भुक्तानी लिएको र नमूना परीक्षणमा हेरफेर गरिएको प्रमाण फेला परेको छ ।

आयोगका अनुसार, ठेकेदार कम्पनीका प्रतिनिधि र सम्बन्धित सरकारी इन्जिनियरबीच मिलेमतो गरी निर्माण सम्पन्न भएपछि प्रयोग नभएका नमूनालाई परीक्षणमा प्रयोग गर्ने, झूटा प्रयोगशाला प्रतिवेदन तयार पार्ने र त्यसकै आधारमा भुक्तानी लिने जस्ता कार्य भएका छन् ।

अनुसन्धानपछि आयोगले ठेकेदार कम्पनीका संचालक जफिर कवारी र सडक डिभिजन, लहानका इन्जिनियर, सब–इन्जिनियर तथा सम्बन्धित वडाका पदाधिकारीलाई सार्वजनिक पदको दुरुपयोग गरी सरकारी रकम हिनामिना गरेको ठहर गरेको छ । आयोगले उनीहरूले सम्झौताका शर्तविपरीत गुणस्तरहीन सामाग्री प्रयोग गरी २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ २२ पैसा बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको प्रमाण स्थापित गरेको जनाएको छ ।

आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) का ख, ग र ङ तथा दफा १९ (२) बमोजिमको कसुर भएको ठहर गर्दै संलग्न सबै प्रतिवादीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस