सन्तपुर मेलामा खुल्लम खुल्ला जुवा : प्रहरीकै मिलोमतो ? सुरक्षा चुनौती थपिँदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक २६, मंगलबार (३ महिना अघि)
  • २ पटक पढिएको
सन्तपुर मेलामा खुल्लम खुल्ला जुवा : प्रहरीकै मिलोमतो ? सुरक्षा चुनौती थपिँदै

रौतहट,२५ कार्तिक। चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा लागिरहेको सात दिने सन्तपुर मेला जुवा जन्य गतिविधिको अखडाजस्तै बन्दै गएको छ । कार्तिक १९ गतेदेखि सुरु भएर २८ गतेसम्म चल्ने भनिएको मेलामा लंगुर-बुर्जा (डाईस) जस्ता जुवा खेलहरु खुलेआम सञ्चालन भइरहेको र प्रहरी प्रशासनले रोक्न नसकेको स्थानीयले आरोप लगाएका छन् ।

मेलामा जुवाको स्टलहरु रातभरी जस्तै देखिन्छन् । दर्जनौँ ठाउँमा लंगुर-बुर्जा खेल खेलाइएका छन् । जुवा खेल्न आउने टोलीहरुले रातभरी रकम लगानी, उठाउने, हारजितका गतिविधि चलाइरहेका छन् । मेला स्थलमै प्रहरीको उपस्थिति भएपनि उनीहरु जुवा नियन्त्रणमा गम्भीर नदेखिएको स्थानीयको आरोप छ ।

‘प्रहरी मुकदर्शक’ बन्ने गरेको स्थानीयको आरोप साथै, जुवा सञ्चालन हुने ठाउँमा प्रहरी गस्ती तथा चेकजाँच देखिँदै नदेखिने स्थिति भएको बताइन्छ ।
स्थानीय स्रोतका अनुसार मेलामा खटिएका प्रहरी स्वयंले कमिसन खाएर जुवा खेल सञ्चालन हुन दिएको आरोप समेत जोडिएको छ ।

“प्रहरीकै मिलोमतोमा जुवा चल्छ, पैसा उठ्छ, अनि खेल भएको ठाउँमा दिउँसो/रात पुलिस त्यसै हेरेर हिँड्छ”, स्थानीयले भनेका छन् ।
विशेष गरी रातको समयमा मेला स्थलमा जुवा खेल्ने भीड झन् बढी हुन्छ । यिनै खेलका कारण झगडा, चोरी, विवाद तथा अन्य जोखिम बढ्ने संकेत देखिएको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङले मेलामा जुवा रोक्ने प्रतिबद्धता जनाएका छन् । उनले “कुनै पनि जुवा गतिविधि सहन गरिँदैन, नियन्त्रण हुनेछ” भन्ने बताएका थिए । यद्यपि डीएसपीको भनाई जुवा जन्य खेलहरु रोक्ने भने पनि व्यवहारमा फरक पाइएको हो ।

स्थानीय प्रहरीले व्यवहारमा भने सो प्रतिबद्धता देखिएको छैन । मेला सुरु भएको तेस्रो दिन बितिसक्दा पनि जुवा रोकथामका कुनै ठोस कार्यान्वयन भएका छैनन् ।

प्रहरीको पातलो उपस्थितिले फितलो सुरक्षा व्यवस्थाप्रति आलोचना बढ्दै गएको छ । मेलामा रहेका बालबालिका, महिला र परिवारका लागि मनोरञ्जनको वातावरण कमजोर बन्दै गएको भनाई मेला हेर्न आएका चन्द्रनिगाहपुरका एक शिक्षकले बताए ।
जुवा कारण समूहमा भिड, नगद चलखेल, मादक सेवनजस्ता गतिविधि बढ्न थालेपछि स्थानीय अभिभावक र व्यवसायीसमेत चिन्तित छन् ।

सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने स्थानमा प्रहरी तैनाथ रहे पनि, फितलो व्यवस्थापन र जुवा रोकथामको असफलता प्रश्नचिह्न बनेको छ ।

सन्तपुरमा लागिरहेको यस मेलाका सुरक्षा खटाइ, प्रहरी-व्यवस्थापन र जुवा नियन्त्रणविहीन स्थितिप्रति अहिले चौतर्फी असन्तोष बढिरहेको छ ।
जुवाजस्ता अवैध गतिविधिले मेलाको वास्तविक सांस्कृतिक, सामाजिक महत्व छायामा परेको भन्दै तत्काल नियमन गर्नुपर्ने आवाज स्थानीयबाट तीव्र बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस