
काठमाडौं, १३ फाल्गुन। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा दुर्घटना गराएर भागेको ट्रक पर्साको वीरगन्जमा भेटिएको छ । बुधवार बिहान अज्ञात सवारीले ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ छन् ।
हेटौँडामा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने मालवाहक ट्रक रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । वीरगन्जमा दुर्घटना हुँदा ठोक्किएको भाग मर्मत गर्न भनेर पाटपुर्जा खोल्दै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको पर्साका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
वीरगन्ज महानगरपालिका–१३ स्थित प्रतिमाचोकमा रहेको ग्यारेजमा बनाउँदै गरेको अवस्थामा प्रहरीले ग.२ ख ८९८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । ट्रकका चालक फरार छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरिरहेको छ ।
चालकले सो मालवाहक ट्रक भोला बडी बिल्डर्स नामको ग्यारेजमा मर्मत गर्न छाडेर फरार भएको थाहा भएको छ ।

