
ओम प्रकाश यादव
रौतहट, १४ माघ। निर्माण कार्य अन्तिम चरणमा पुगेको रौतहटको माधवनारायण नगरपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको आज नगर प्रमुख बैजनाथ प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले संयुक्त रूपमा अनुगमन निरीक्षण गरेका छन्।
अनुगमनका क्रममा नगर प्रमुख यादवले निर्माण कार्य निर्धारित मापदण्डअनुसार तीव्र गतिमा अघि बढिरहेको जनाउँदै आगामी फागुन मसान्तभित्र भवनको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार फागुनदेखि नै माधवनारायण नगरपालिकाले आफ्नै भवनबाट सम्पूर्ण सेवा प्रवाह सुरु गर्नेछ।
जिल्लामै पहिलो पटक लिफ्ट सुविधा, पर्याप्त पार्किङ क्षेत्र र हरियाली गार्डेनसहित अत्याधुनिक डिजाइनमा निर्माण गरिएको यस सुविधा सम्पन्न प्रशासनिक भवनले नगरवासीलाई सहज, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। भवन निर्माणपछि नगरपालिकाका प्रशासनिक सेवा एकै स्थानबाट सञ्चालन हुने भएकाले सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
विशेष रूपमा उल्लेखनीय पक्ष भनेको नगर प्रमुख बैजनाथ प्रसाद यादवले आफ्नै निजी जग्गा दान गरी माधवनारायण नगरपालिकाको विशाल तथा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका हुन्। नगरको दीर्घकालीन हितलाई मध्यनजर गर्दै गरिएको यस निर्णयलाई स्थानीयवासीले साहसिक, उदाहरणीय तथा प्रशंसनीय कदमका रूपमा लिएका छन्।
स्थानीय बासिन्दाहरूले नगर प्रमुख यादवको यो योगदानले नगरको पहिचान र प्रशासनिक क्षमता दुवै सुदृढ हुने विश्वास व्यक्त गर्दै प्रशंसा गरेका छन्। नवनिर्मित प्रशासनिक भवनले माधवनारायण नगरपालिकाको समग्र विकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ।

