
काठमाडौं, १३ फाल्गुन। पर्सा क्षेत्र नम्बर १ मा यतिबेला चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। आगामी निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।
यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटालाई आफ्नो पुरानो विरासत फर्काउने अवसर सिर्जना भएको विश्लेषण हुन थालेको छ। विगतका दुई निर्वाचनमा विजयी भएका प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेपछि स्थानीय मतदाताले उनीलाई पनि बलियो उमेदवारको रुपमा देखिरहेका छन। मधेस आन्दोलन र पहिचानका मुद्दासँग जोडिएका विषयमा एमालेसँगको उनको सहकार्यलाई लिएर केही मतदाताहरुले फरक फरक प्रतिक्रिया ब्यक्त गरिरहेका छन्।
चुनावी मैदानमा नेकपा (कम्युनिस्ट पार्टी) का अजय चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धि प्रसाद पन्त (हरि पन्त), उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह र जनता समाजवादी पार्टी, नेपालका रामनरेश यादवलगायत करिब ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यद्यपि मुख्य प्रतिस्पर्धा भने रुंगटा र यादवबीच केन्द्रित देखिएको छ।
राजनीतिक परिवेशमा आएको परिवर्तन र मतदाताको मनोभावका कारण यसपटकको निर्वाचन रोचक र प्रतिस्पर्धात्मक बन्ने आँकलन गरिएको छ। मधेसको स्वाभिमान, विकास र स्थायित्वका मुद्दा यस निर्वाचनका प्रमुख एजेन्डा बनेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–१ को परिणामले मधेसको समग्र राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने सम्भावना रहेको छ।

